अमेरिकी उपविदेशमन्त्री जिया नेपालमा, तिब्बती शरणार्थीको विषय प्राथमिक

नेपाल भ्रमणका क्रममा जियाले नेपालमा रहेका तिब्बती शरणार्थीका विषयमा नेपाल सरकारसँग छलफल गर्ने बताइएको छ।

नेपालभ्युज

अमेरिकी उपविदेशमन्त्री जिया नेपालमा, तिब्बती शरणार्थीको विषय प्राथमिक

काठमाडौं। अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपाल आएकी छन्। भारत र नेपालको भ्रमणमा रहेकी जिया भारतको भ्रमण सकेर नेपाल आएकी हुन्।

परराष्ट्र मन्त्रालयले अमेरिकी उपविदेशमन्त्री जियाको नेपाल भ्रमण नेपाल–अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षको अवसरमा नेपाल भ्रमणमा आउन लागेको बताएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्र प्रवक्ता सेवा लम्सालले अमेरिकी उपविदेशमन्त्री जियाले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेट गर्ने बताइन्।

अमेरिकाको तिब्बती मामिला हेर्ने संयोजनक समेत रहेकी जिया नेपाल भ्रमणमा आउनुअघि भारतमा निर्वासन जिवन बिताइरेका तिब्बती धर्म गुरु दलाई लामालाई भेट्न धर्मशाला पुगेकी थिइन्। नेपाल भ्रमणका क्रममा जियाले नेपालमा रहेका तिब्बती शरणार्थीका विषयमा नेपाल सरकारसँग छलफल गर्ने बताइएको छ।

तर, परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले भने त्यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताइन्। “छलफलका क्रममा दुई पक्षीय विषयमा मात्रै कुराकानी हुँदैन, अन्य विषयमा पनि हुन्छ। तर उपविदेशमन्त्री जियाले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीका विषयमा छलफल गर्ने विषयमा हामीलाई कुनै जानकारी छैन।”

परराष्ट्र प्रवक्ताले यस्तो बताइ रहँदा गृहमन्त्रालयका एक अधिकारी भने अमेरिकी उपविदेशमन्त्री जियाको नेपाल भ्रमणका क्रममा नेपालमा रहेका तिब्बती शरणार्थी र उनीहरुलाई शरणार्थी कार्ड प्रदान गर्ने विषयमा छलफल हुने बताउँछन्। नेपालस्थित अमेरिकी दूतावासले मन्त्रालयसँग यस विषयमा पूर्व छलफल गरेको बताउँदै उनले सोही आधारमा उपविदेशमन्त्री जियाले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीका विषय उठाउने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved