विराटनगर महानगरपालिका

मेयरमा पछि परे पनि वडामा एमाले अगाडि, कांग्रेसलाई जित फर्काउन छैन सजिलो

३१ हजार मतगणना हुँदा, मेयर र उपमेयरमा गरी २० हजार बढी मत बदर

३१ हजार ४०५ मतगणना भइसक्दा विराटनगरमा हालसम्म कुल २० हजार ८५४ मत बदर भइसकेको छ।

नेपालभ्युज

मेयरमा पछि परे पनि वडामा एमाले अगाडि, कांग्रेसलाई जित फर्काउन छैन सजिलो

विराटनगर। २०७४ सालको स्थानीय तह निर्वाचनमा ८ ओटा वडा जितेको नेपाली कांग्रेस विराटनगरको यसपटक पछि पर्ने संकेत देखा परेको छ।

प्राप्त ताजा मत परिणामलाई विश्लेषण गर्दा यसपटक कांग्रेसलाई विगतको जित दोहोर्‍याउन हम्मेहम्मे पर्ने देखिएको हो। बहुरंगी गठबन्धन र अन्योलपूर्ण मतपत्रका कारण कांग्रेसले पाउनुपर्ने अत्यधिक मत प्रयोगविहीन तथा बदर भएपछि यसपटक कांग्रेसलाई आफ्नो साख जोगाउन समस्या हुने भएको हो।

३१ हजार ४०५ मतगणना भइसक्दा विराटनगरमा हालसम्म कुल २० हजार ८५४ मत बदर भइसकेको छ। जसमा मेयर पदमा ८ हजार ४३२ र उपमेयर पदमा १२ हजार ४२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हालसम्म बदर भएको मत खसेको कुल मतको २३.२२ प्रतिशत हो।

१ लाख ३३ हजार १४२ कुल मतदाता रहेको विराटनगरमा खसेको कुल मत संख्या ८९ हजार ७८९ हो।

छोटो समयमा निर्वाचन घोषणा गरेर मतदाता शिक्षा दिन नसक्दा त्यसको प्रत्यक्ष प्रभाव चुनावमा देखिएको एमालेबाट उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्की बताउँछिन्। भन्छिन्, “हामीले पनि चुनावको मुखमा भए पनि सकेसम्म मतदातालाई मतदाता शिक्षा दियौं। तर, आयोगबाट त्यो पहल भएन। त्यसको परिणाम हामी सबै हेर्दैछौं।”

विराटनगर महानगरमा हालसम्म १९ मध्ये ६ वडाले आफ्नो जित निकालिसकेको छ। जसमा सबैभन्दा बढी नेकपा (एमाले) ले वडा नं १, २ र १९ गरी कुल ३ वटा वडामा आफ्नो वर्चश्व कायम गरेको छ। वडा नं १ मा १९०० मत सहित एमालेका काजी बहादुर बस्नेत, २ मा १३१२ मतसहित कुमार पोखरेल र १९ मा ९८७ मतसहित श्याम घिमिरे निर्वाचित भइसकेका छन्। यसअघि वडा नं १ र १९ मा कांग्रेसका वडाध्यक्ष निर्वाचित थिए।

ताजा मत परिणाम अनुसार महानगरमा कांग्रेसले अहिलेसम्म एउटा वडा मात्र जितेको छ। वडा नं १६ मा नेपाली कांग्रेसका उद्वव कुमार भुजेल ७५२ मतसहित निर्वाचित भएका छन्। बाँकी २ वडामा क्रमशः जनता समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्।

वडा नं १७ मा जसपाका समीम कमर मियाँ १४५० मत सहित दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साहले जित हासिल गरेका छन्। साह ७१६ मत प्राप्त गरी वडा नं १८ को वडाध्यक्ष निर्वाचित भएका विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार यसअघि १७ र १८ नम्बर वडामा जसपाका वडाध्यक्ष थिए। अहिले क्रमशः वडा नं ३, ४, ५, ६, ७, १२, १३, १४ र १५ गरी कुल ९ वडाको मतगणना जारी छ।

हालसम्मको मतपरिणाम अनुसार विराटनगरको मेयरमा अझै पनि नेपाली कांग्रेसका नागेश कोइराला २ हजार २५२ मतान्तरसहित अग्रस्थानमा छन् कोइरालाले ९ हजार ८८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ७ हजार ६३० मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार उमेश यादव र राप्रपाका उम्मेदवार प्रह्लाद साह पनि क्रमशः ३ हजार २३७ र २ हजार ०९४ मतसहित मेयरको रेसमा छन्।

यस्तै, उपमेयरमा एमालेको अग्रता कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताएका छन्।

बुढाथोकीका अनुसार एमाले उम्मेदवार शिल्पा निराला कार्की ३ हजार २८४ मतान्तरसहित अग्रतामा छिन्। कार्कीले ८ हजार ६९० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फबाट जसपाका अमरेन्द्र यादवले ५ हजार ४०६ मत प्राप्त गरेका छन्। उपमेयरको दौडमा रहेका राप्रपाबाट उपमेयर उम्मेदवार बिन्दा कुमारी लुइँटेल आचार्यले २ हजार ५२७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले हालसम्म १ हजार ८९१ मत प्राप्त गरेकी छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भने महानगरमा कांग्रेसले १९ वडामध्ये ८ वडामा जित निकालेको थियो।

बाँकीमध्ये ६ वडामा जसपा, ३ मा एमाले र १ मा माओवादीले जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved