विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

नेपालभ्युज

विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

विराटनगर। विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले) ले अग्रता कायम राखेका छन्।

१७ हजार ३९४ मतगणना हुँदा कांग्रेसबाट मेयर पदका उम्मेदवार नागेश कोईरालाले एक हजार ५५८ र एमालेबाट उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीले एक हजार ३८६ मतसहित अग्रता कायम राखेका हुन्। कोईरालाले ५५३२ र उपमेयरमा कार्कीले ४५६३ मत प्राप्त गरेका छन्।

मेयर पदका उम्मेदवार कोईरालालाई उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापाले ३९७४ मत सहित पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेदवार उमेश यादव र राप्रपाका उम्मेदवार प्रह्लाद साह पनि मेयर हुने दौडमा छन्। यादवले १७५६ मत प्राप्त गर्दा साहले १०१४ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयर पदमा पनि नेकपा (एमाले) बाट उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्की निकटतम प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादवको तुलनामा १३८६ मतले अगाडि छिन्। कार्कीले ४५६३ मत प्राप्त गर्दा यादवले ३१७७ मत प्राप्त गरेका छन्। विराटनगरको उपमेयरको दौडमा अन्य उम्मेदवारहरु पनि छन्। राप्रपाबाट उपमेयर पदकी उम्मेदवार बिन्दा कुमारी लुँईटेल आचार्यले १२२२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले हालसम्म ९५८ मत प्राप्त गरेकी छन्।

स्थानीय तह निर्वाचन अन्तर्गत ३० बैशाखको मतदान पश्चात शनिबारदेखि विराटनगर–७ स्थित आर्दश स्कुलमा पहिलो चरणको मतगणना सुरु भएको थियो। प्रारम्भिक चरणमा वडा नं। १, २, १६, १७, १८ र १९ गरि ६ वडाको मतगणना थालिएको थियो।

विराटनगरमा हालसम्म वडा नं २, १६, १७ र १९ को मतगणना सम्पन्न भइसकेको छ। वडा नंं २ को अध्यक्षमा नेकपा (एमाले) का कुमार पोखरेल, १६ मा नेपाली कांग्रेसका उद्वव कुमार भुजेल, १७ मा जनता समाजवादी पार्टीका समिम कमर र १९ मा नेकपा (एमाले) का श्याम घिमिरे निर्वाचित भएका छन्।

वडा नं २ मा पोखरेलले ९२४ मत ल्याउँदा १६ मा भुजेलले ७५२, १७ मा कमरले १४५० र १९ मा घिमिरेले ९८७ मत ल्याएका छन्। विराटनगरमा हाल वडा नं १ र १८ को मतगणना जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved