३६ पालिकाको नतिजा आउँदा एमालेले कहाँ–कहाँ जित्यो ?

नेपालभ्युज

३६ पालिकाको नतिजा आउँदा एमालेले कहाँ–कहाँ जित्यो ?

काठमाडौं। स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। जारी मतगणनामा अहिलेसम्म ३६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। मत परिणाम सार्वजनिक भएका ठाउँमध्ये एमालेले १५ ठाउँमा जितेको छ।

जितेका स्थानीय तहमध्ये कांग्रेसबाट एमालेले पाँच वटा खोसेको छ। अघिल्लोपटक कांग्रेसले जितेका मुस्ताङको लोमान्थाङ र थासाङ, बझाङको साइपाल, नवलपुरको बौदीकाली र म्याग्दीको मालिका गाउँपालिकामा एमालेले जितेको छ भने दुई वटा गाउँपालिका कांग्रेससँग, एउटा माओवादी केन्द्र र एउटा एकीकृत समाजवादीसँग गुमाएको छ।

अघिल्लो पटक जितेको मुस्ताङको घरपोझङ गाउँपालिका, गुल्मीको रेसुङ्गा नगरपालिकामा, डोल्पाको काइके गाउँपालिका र दार्चुलाको अपीहिमाल गाउँपालिका याे पटक एमालेले गुमाएको छ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा कांग्रेसका छिरिङ ओङमा गुरुलाई हराउँदै नेकपा एमालेका कान्छा घले अध्यक्ष पदमा विजयी भएका छन्। मनाङको चामे गाउँपालिका अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले, मुस्ताङकाे लो घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।

मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजिन नामगेल गुरूङ विजयी भएका छन् भने त्यहाँकाे लोमान्थाङ गाउँपालिका अध्यक्षमा टसी न्वर्वु गुरूङ र थासाङ गाउँपालिकामा अध्यक्षमा एमालेका प्रदीप गौचन विजयी भएका छन्।

डोल्पाको से फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका धावा सम्डुङ गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी, सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षमा एमालेका मिङ्मा छिरी शेर्पा विजयी भएका छन् भने बझाङको साइपाल गाउँपालिकामा एमालेकै मानवीर बोहोरा, बझाङकै थलारा गाउँपालिकामा एमालेका प्रकाशबहादुर रोकाय विजयी भएका छन्।

नवलपुरको बौदीकाली गाउँपालिकामा पनि एमालेले जितेकाे छ। कांग्रेसका खडकबहादुर रानालाई हराउँदै नेकपा एमालेका प्रकाश ओझा विजयी भएका हुन्। म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका बेगप्रसाद गर्बुजा विजयी भएका छन् भने तेह्रथुमको मेन्छ्याम गाउँपालिकामामा नेकपा एमालेका यादवबहादुर खापुङले जितेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved