यस्तो हुनेछ भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका

भूमि पूजन कार्यक्रमपश्चात् भारतीय प्रधानमन्त्री भैरहवास्थित पवन अन्तर्राष्ट्रिय होटल पुग्नेछन्। सोही होटलमा मोदीले केही समय विश्राम गर्ने कार्यक्रम रहेको छ भने दुई देशका प्रधानमन्त्रीबीच सोही होटलमा भेटवार्ता हुनेछ। पवन होटलमा नै दुई देशका सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

यस्तो हुनेछ भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका
फाईल फोटो

काठमाडौं। २ जेठमा पर्ने २५६६ औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारी तीव्र हुँदैछ। भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी आउन बाँकी रहे पनि दुवै देशले उनको भ्रमणको तयारीमा तीव्रता दिएको हो।

बुद्ध धर्मलाई विश्वमाझ नै प्रचार गर्नुपर्ने बताउँदै आएका भारतीय प्रधानमन्त्री मोदी बुद्धले देह त्याग गरेको स्थल कुशीनगरबाट हेलिकप्टरमा लुम्बिनी आउने तयारीमा रहेका छन्। मोदीको हेलिकप्टर २ जेठदेखि औपचारिक रुपमा सञ्चालनमा आउने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गर्ने सम्भावना भने कम रहेको छ। विमानस्थल प्रमुख गोविन्द प्रसाद दाहालका अनुसरा सोही दिन औपचारिक रुपमा उद्घाटन हुने विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीको हेलिकप्टर अवतरण गर्ने जानकारी आफूलाई नभएको बताए।

“भारतीय प्रधानमन्त्री मोदी आउने हेलिकप्टर यहाँ अवतरण गर्ने जानकारी हामीलाई प्राप्त छैन,” दाहालले भने, “सुरक्षा लगायतका विभन्न कारणले गर्दा भारतीय प्रधानमन्त्री मोदीको हेलिकप्टर विमानस्थलमा अवतरण नगर्ने जानकारी प्राप्त भएको छ।”

मोदी सवार हेलिकप्टर अवतरणका लागि हेलिप्याडको व्यवस्था गरिएको छ। लुम्बिनी अवतरण गरेपछि भारतीय प्रधानमन्त्री सिधै लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुग्नेछन्। मन्दिर परिसरको भ्रमण पश्चात लुम्बिनीमा नेपालस्थित भारतीय दूतावासले निर्माण गर्ने तयारी भएको गुम्बाको भूमि पूजन गर्ने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले जानकारी दियो।

भूमि पूजन कार्यक्रमपश्चात् भारतीय प्रधानमन्त्री भैरहवास्थित पवन अन्तर्राष्ट्रिय होटल पुग्नेछन्। सोही होटलमा मोदीले केही समय विश्राम गर्ने कार्यक्रम रहेको छ भने दुई देशका प्रधानमन्त्रीबीच सोही होटलमा भेटवार्ता हुनेछ। पवन होटलमा नै दुई देशका सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका अवसरमा पश्चिम सेती जलविद्युत आयोजना निर्माणसम्बन्धी सम्झौता हुने अपेक्षा गरिएको छ।

डडेल्धुरामा २७ वैशाखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका अवसरमा पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतलाई आग्रह गर्ने बताएका थिए। प्रधानमन्त्री देउवाले पहल गर्ने बताएका कारण पनि उक्त जल विद्युत आयोजनाका सन्दर्भमा मोदीको नेपाल भ्रमणका क्रममा सम्झौता हुने अपेक्षा गरिएको हो।

लुम्बिनी भ्रमणका क्रममा बौद्ध सर्किटसम्बन्धी सम्झौता हुने अपेक्षा गरिएको छ। २८ वैशाख २०७५ मा जनकपुर भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा रामायण सर्किट उद्घाटन भएको थियो।

दुई देशबीचका प्रधानमन्त्रीको भेटपछि मोदी लुम्बिनीस्थित बौद्ध सभाहल पुग्नेछन्। प्रधानमन्त्री देउवा र मोदीले सभाहलबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र स्रोत बताउँछ।

यस्तै, भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी विश्वविद्यालयको भ्रमण गर्ने कार्यक्रम छ। लुम्बिनी विश्वविद्यालयले भारतीय प्रधानमन्त्री मोदीलाई दक्षिण एशियाको सांस्कृति क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनको सम्मानमा दिने मनार्थ महा–विद्यावारिधी प्रदान गर्नेछ। विश्व विद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित बौद्ध धर्म गुरुको सहभागितामा भारतीय प्रधानमन्त्री मोदीलाई सो सम्मान गरिने छ।

सोही दिन भारतीय प्रधानमन्त्री मोदी कुशीनगर फर्किने छन्।

मोदीको सुरक्षाका खटिने व्यक्ति भैरहवास्थित पवन अन्तर्राष्ट्रिय होटलमा

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणका लागि आउँदा प्रयोग हुने चार गाडी लुम्बिनी आइपुगेका छन्। भारतीय सेनाको विशेष विमानले २८ वैशाखमा मोदीको लुम्बिनी भ्रमणका क्रममा आवश्यक पर्ने सामग्री ल्याएको थियो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानमा चार गाडीसहित ३० देखि ४०  व्यक्ति आएका विमानस्थल स्रोतले जानकारी दियो। भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको तयारीका लागि नेपाल आएका व्यक्तिहरु पवन अन्तर्राष्ट्रिय होटलमा बसेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved