जगन्नाथको स्वतन्त्र उम्मेदवारी, रेनु र विजय दुवैका लागि भारी

कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी एमाले उम्मेदवार विजय सुवेदी र गठबन्धन उम्मेदवार रेनु दाहाल दुवैका लागि भारी भइरहेको छ।

जगन्नाथको स्वतन्त्र उम्मेदवारी, रेनु र विजय दुवैका लागि भारी

काठमाडौं। निर्वाचन त देशैभरका स्थानीय तहको हो। चर्चा र प्रचार हेर्दा भने लाग्छ, केवल भरतपुर महानगरपालिकाको हो। सत्ताधारी पाँच दलीय गठबन्धनले नेकपा (माओवादी केन्द्र)की नेतृ एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेनु दाहाललाई पुनः मेयर उम्मेदवार बनाउने चर्चा चलेसँगै शुरु भएको वाद, विवाद र प्रतिवाद अन्ततः त्रीपक्षीय प्रतिस्पर्धामा पुगेको छ।

मेयर उम्मेदवार रेनु दाहालका निम्ति नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदी मात्र होइन गठबन्धनकै एक पार्टी नेपाली काँग्रेसका स्थानीय नेता जगन्नाथ पौडेलले दिएको स्वतन्त्र उम्मेदवारी पनि चुनौती बनेको छ। पौडेलको उम्मेदवारी एमाले उम्मेदवार सुवेदीका लागि पनि उत्तिकै चुनौती बन्न पुगेको छ।

त्यसैले पौडेललाई आफ्नो पक्षमा ल्याउन भरतपुरका एमाले र सत्ता गठबन्धन उम्मेदवार दुवै लागिपरेका छन्।

गठबन्धनले त पौडेललाई उम्मेदवारी फिर्ता लिएर साझा उम्मेदवार रेनु दाहाललाई सहयोग गर्न आग्रह नै गरेको थियो। उनी भने आफू आबद्ध पार्टी नेपाली काँग्रेसबाट कारबाही भोग्न तयार भए तर उम्मेदवारी फिर्ता लिएनन्। गठबन्धन भने अझै पनि निर्वाचनको दिनसम्म पौडेलले आफ्नो निर्णय पुनः विचार गर्ने विश्वासमा छ।

“निर्वाचनको दिनसम्म जगन्नाथ पौडेलले पनि गठबन्धनका साझा उम्मेदवार रेनु दाहाललाई समर्थन गर्ने हामीले विश्वास छ,” रेनु दाहालका प्रमुख प्रचारक बद्री तिमल्सिना भन्छन्।

उता एमाले पनि आवश्यकता अनुसार पौडेलसँग सहकार्य गर्ने दाउमा छ। “उहाँहरू आफ्नो ढङ्गले अगाडि बढ्दा र हामी आफ्नो हिसाबले अगाडि बढ्दा हाम्रो एउटै लक्ष्य हो। लक्ष्य एउटै भएपछि मिल्न सक्ने ठाउँ रहन्छ,” एमालेका प्रमुख प्रचारक देवी ज्ञवाली भन्छन्।

भरतपुरमा पौडेललाई सहयोग गर्दै आएका चितवनका कांग्रेस नेताहरू भने उनी मेयर पदमा विजयी हुनेमा विश्वस्त छन्। तथापि निर्वाचनको अन्तिमसम्म पुग्दा पौडेल र एमालेबीच सहकार्य हुनसक्नेमा उनको निर्वाचन अभियानमा सहयोग गर्दै आएका तरुण दल चितवनका पूर्व सभापति शम्भुराम अर्याल सहमत छन्।

पौडेल भन्छन्, “हाम्रो उम्मेदवार र एमालेका उम्मेदवारबीच तालमेल हुने अवस्था आयो भने एमालेले हाम्रो उम्मेदवारलाई मतदान गर्छ।”

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जवाफ दिनकै लागि पनि एमालेले पौडेललाई मतदान गर्ने अर्यालको विश्वास छ।

“कांग्रेसलाई व्यक्तिगत रुपमा माओवादी केन्द्रका अध्यक्षसँग कुनै समस्या छैन,” अर्याल भन्छन्, “एकीकृत पार्टी विभाजन हुँदै आफ्नै पार्टीको सरकारलाई बर्खास्त गर्न पुष्पकमल दाहालले भूमिका खेलको आरोप लगाउने एमालेका साथीहरूले उनकी पुत्री रेनुलाई पराजित गर्नका लागि पौडेललाई समर्थन गर्ने सम्भावना रहन्छ।”

भरतपुरका राजनीतिक विश्लेषक डीआर पोखरेल पनि पौडेलको स्वतन्त्र उम्मेदवारीले रेनु दाहाललाई असर पर्ने विश्लेषण गर्छन्। उनका अनुसार भरतपुरमा कांग्रेसले पाउने मत तीन भागमा विभाजन हुनेछ। कांग्रेस मतदाताको निश्चित प्रतिशत पौडेललाई जानेछ भने केही मत रेनु दाहाल र विजय सुवेदीले पाउनेछन्।

“निर्वाचनमा सबै हथकण्डा प्रयोग हुने भएका कारण यही उम्मेदवार विजयी हुन्छ भनेर किटान गर्न सकिने अवस्था छैन,” पोखरेल भन्छन्, “भरतपुरका पुराना मान्छे र बौद्धिक मान्छेहरूले पौडेललाई समर्थन गर्ने सम्भावना बढी देखिएको छ।”

सहानुभूतिको मत प्राप्त गरे पनि पौडेलले निर्वाचन जित्ने सम्भावना भने कम रहेको उनको बुझाई छ। बरू पौडेलका कारण गठबन्धनका उम्मेदवार रेनु दाहालले निर्वाचन हार्ने सम्भावना बढी रहेको उनी बताउँछन्।

अर्का स्थानीय विश्लेषक प्रेम रिमालको बुझाई भने पोखरेलको भन्दा फरक छ। पौडेलका कारण रिमाललाई भन्दा विजय सुवेदी अप्ठ्यारोमा पर्ने उनको ठम्याई छ। भरतपुरको मेयरमा आफ्नो उम्मेदवार उठाउन नपाएपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताकाे मत सुवेदीले पाउने सम्भावना थियो। त्यसैले नै कांग्रेस कार्यकर्ताको सहानुभूती पाउन सुवेदीले उम्मेदवारी दर्ताको दिन ‘बीपी कोइराला क्यान्सर अस्पताल’मा रहेको बीपीको सालिकमा माल्यार्पण गरेका थिए।

“स्वतन्त्र रुपमा कांग्रेसकै उम्मेदवार मेयर पदमा प्रतिस्पर्धा गर्दा असन्तुष्ट कांग्रेसको मत उनैले प्राप्त गर्नेछन्,” रिमाल भन्छन्, “अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसका कार्यकर्ताले देवी ज्ञवालीलाई मतदान गरेका थिए। यो पटक त्यो नहुँदा पौडेलका कारण एमाले उम्मेदवार सुवेदीलाई अप्ठेरो पर्नेछ।”

दाहालको ‘बाध्यता’

भरतपुरको मेयर पद रेनुका लागि मात्र नभई माओवादी अध्यक्षका लागि प्रतिष्ठाको विषय बन्न पुगेको छ। कारण हो, त्यो उनको निर्वाचन क्षेत्र हो।

०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भए पनि दोस्रोमा काठमाडौंबाट पराजित भए। झिनो मतान्तरले सिराहा–५ बाट विजयी भएका उनी ०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने आफ्नो गृहजिल्ला चितवन–३ बाट निर्वाचित भए।

राष्ट्रिय नेता भए पनि उनलाई संसद् सदस्य बन्न चितवनबाटै विजय सुनिश्चित गर्नुपर्ने बाध्यता छ। अन्यत्र उनको विजय सम्भावना कमजोर देखिन्छ। त्यसैले पनि रेनुको कार्यकालभरी उनले चितवनलाई केन्द्रमा राखे। उनैलाई उम्मेदवार बनाउन जोडबल गरे। रेकर्ड राख्ने गरी चितवन पुगिरहे।

“चितवनमा आफ्नो प्रभाव घटेको छैन भन्ने प्रमाणित गर्न पनि दाहाल भरतपुरको मेयर आफ्नो पक्षमा पार्न चाहन्छन्”, ‘चितवनमा कम्युनिष्ट पार्टीको इतिहास’का लेखक डा. राजेन्द्र रेग्मीको विश्लेषण छ।

यस्तो थियो अघिल्लो निर्वाचनको आँकडा

अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाका कुल २९ वडामा १३ वडामा कांग्रेस विजयी हुँदा १३ ओटा वडामा एमालेले विजय हासिल गरेको थियो। मेयर पद जितेको माओवादी केन्द्र भने तीन ओटा वडामा सिमित थियो।

रेनु दाहालले ४३ हजार एक सय २७ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिस्पर्धी देवी ज्ञवालीले ४२ हजार नौ सय २४ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा मेयर पदमा कुनै उम्मेदवार नरहे पनि कांग्रेसले सात हजार मत प्राप्त गरेको थियो।

यो पटकको निर्वाचनमा भने जगन्नाथ पौडेलले कांग्रेसको प्रतिनिधित्व गर्दै भरतपुरको मेयर पदमा प्रतिस्पर्धा गर्दा त्यसको असर रेनु दाहाललाई त पर्ने देखिन्छ नै एमालेका प्रतिस्पर्धी विजय सुवेदी पनि त्यो प्रभावबाट अछुतो नरहने अवस्था आउन सक्छ।

यसअघिको स्थानीय तहको निर्वाचनमा भरतपुरमा कांग्रेस, एमाले र माओवादी केन्द्रले विभिन्न वडामा प्राप्त गरेको मत यस्तो थियोः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved