स्थानीय निर्वाचन २०७९

‘कन्ट्रोभर्सी किङ’को अग्निपरीक्षा बन्दैछ निर्वाचन  

कुनै समय स्थापित भएका केशव स्थापितको राजनीतिक जीवन वक्र रेखामा घुमेको छ। अवनति पथमा रहेको राजनीतिक यात्रालाई पुरानो साख ब्युँताएर प्रगतिपथमा डोर्‍याउने उनको सपना आफैँले सिर्जना गरेका कन्ट्रोभर्सीका कारण ‘अग्निपरीक्षा’मा छ।

नेपालभ्युज

‘कन्ट्रोभर्सी किङ’को अग्निपरीक्षा बन्दैछ निर्वाचन  

काठमाडौं। केशव स्थापित आफैंलाई लाग्छ, ‘कन्ट्रोभर्सी’ उनको जीवनको अभिन्न पक्ष हो। काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकै दिन १२ वैशाखमा उनले ठट्यौली पारामा भने, “विवादमा नआउने पनि केशव स्थापित हुन्छ? आइरहनु पर्‍यो क्या? म जत्तिको व्यक्तित्व उपर विवाद नआएर हुन्छ?”

आफूमाथि लागेको ‘मिटु’ (यौन दुर्व्यवहार) आरोपबारे सोधिएको प्रश्नमा हलुका जवाफ दिएर उम्कन खोजेका स्थापित चुनावी प्रचारको प्रारम्भमै गम्भीर विवादमा फसे। उनी यौन दुर्व्यवहारको आरोपले लखेटिँदै आएका पात्र हुन्। दुई महिलाले यस्तो आरोप लगाएपछि विवादास्पद बनेका उनी मेयरको उम्मेदवार भएसँगै फेरि मुछिएका छन्।

१५ बैशाखमा नेशनल कलेजको कार्यक्रममा सहभागी एक छात्राले उनीमाथिको पुरानो आरोप झिक्दै प्रश्न सोधिन्, “तपाईं मेयरमा निर्वाचित हुनुभयो भने तपाईको अफिसमा म जस्ता महिला सुरक्षित हुन्छौं? तपाईकै उप–मेयर सुनिताजी सुरक्षित हुनुहुन्छ?”

जवाफमा स्थापितले संयमता गुमाए र उत्तेजित हुदै हिंस्रक शैलीमा उत्रिए। मर्यादा गुमाउँदै प्रश्नकर्तामाथि जाइ लागेपछि उनी फेरि विवादमै तानिएका छन्। नेकपा (एमाले)का अध्यक्ष केपी ओली र पार्टी पंक्तिले बचाउ गर्न खोजे पनि उनको चौतर्फी आलोचना भएको छ। प्रतिस्पर्धी उम्मेदवारलाई दोब्बर मतले हराउने उद्घोष गरेका उनी नेशनल कलेजको कार्यक्रममा जसरी प्रस्तुत भए, उनको नैतिकता, शैली र आचरणमा गम्भीर प्रश्न उठेको छ। जो उनका लागि महंगो सावित हुनसक्छ।

चारित्रिक दागको ब्यागेज बोकेर निर्वाचनमा होमिएका ‘कन्ट्रोभर्सी किङ’ स्थापितले २०५४ को स्थानीय निर्वाचनमा झैं विजयी भएर इतिहास दोहोर्‍याउलान् अथवा दण्डित होलान्? यतिबेला काठमाडौं महानगरपालिकाको निर्वाचनका सन्दर्भमा उठेको मुख्य प्रश्न यही हो।

यतिबेला राजनीतिक दल र उम्मेदवारका मुद्दा भन्दा बढी कसले जित्ला वा हार्ला भनेर अड्कल र विश्लेषण गर्न थालिएको छ। यो विश्लेषण पनि स्थापितका अनुकूलता र प्रतिकूलताका विषयमा केन्द्रित रहनेछ।

मूल विषयमा प्रवेश गर्नु अघि स्थापितकै चर्चा गरौं। उनलाई चिनौं।

केशव स्थापितको नाम ‘स्थापित’ भएको काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि हो। २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको नगर प्रमुख जित्दाको बखत उनी आफ्नो राजनीतिक ‘करिअर’को शिखरमा थिए। ०४९ को स्थानीय निर्वाचनमा उनी उप–मेयर पदका प्रतिस्पर्धी थिए। त्यतिबेला उनी नेपाली कांग्रेसका नविन्द्रराज जोसीसँग पराजित भएका थिए। २०५४ को चुनावमा उनले मेयरमै प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले उनले राजनीतिक फड्को मारे।

त्यो बखत नेकपा (एमाले) एउटा भरभराउँदो राजनीतिक शक्तिका रुपमा उदाउँदै गरेको थियो। २०४६ सालको जनआन्दोलनपछि खुला परिवेशमा आएको एमालेले युवा पंक्तिलाई लक्षित गर्दै प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ) गठन गर्‍यो जसका अध्यक्ष अहिलेका एमाले अध्यक्ष केपी शर्मा ओली थिए। स्थापित प्ररायुसंघका महासचिव थिए। युवाहरु परिचालन गर्न सक्ने जुझारु युवा नेताको छवि थियो उनको। त्यसमाथि भाषण कला पनि युवाहरुलाई आकर्षण गर्ने खालकै थियो। युवामाझ सँगठन विस्तार गर्ने अभिप्राय राखेर स्थापितलाई ०५१ मा बनेको एमालेको नौ महिने शासनकालमा राष्ट्रिय खेलकूद परिषद्को सदस्य–सचिव बनायो। प्ररायुसंघको अध्यक्ष पनि बनायो।

एमालेको बढ्दो प्रभावसँगै युवा पंक्तिमा स्थापित हुँदै गएका उनी ०५४ को स्थानीय निर्वाचनमा मेयर जितेपछि राजनीतिमै पनि स्थापित हुन थालेका थिए। मेयर हुँदा उनले केही यस्ता काम गरे जसबाट उनले वाहवाही पनि बटुले। पशुपति क्षेत्र, माइतीघर, तीनकुने आदि ठाउँमा निर्माण भएका अव्यवस्थित घर-टहरा भत्काउने देखि कुलेश्वर–कालीमाटी, कलंकी–कालीमाटी खण्डको सडक विस्तार कार्य पनि उनैको अगुवाईमा भयो। काठमाडौंका साँघुरा सडकखण्ड विस्तार गर्ने उनको अभियानले जनस्तरमा सकारात्मक छवि बन्यो।

तर काठमाडौंको नगर प्रमुख हुँदा बनेको त्यो छवि उनले जोगाउन सकेनन्। राजनीतिक रुपमा शक्तिशाली हुँदै गएको एमाले आन्तरिक कलहमा फस्दै गयो। उर्जाशील र आश गरिएका नेताहरु सत्ता–स्वार्थमा डुब्न थाले। पार्टी विभाजन भयो। नेताहरुको अपारदर्शी चरित्र र अनियमतताका प्रकरणहरु बाहिर आउन थाले। त्यसैक्रममा स्थापितमाथि पनि ‘भ्रष्ट’ को आरोप लाग्यो। आफ्नै पार्टी एमालेले उनलाई भ्रष्टाचारीको सूचिमा राख्दै नाम सार्वजनिक गर्‍यो।

राजनीतिक उचाईमा पुगेका स्थापितको झर्ने क्रम त्यही विन्दुबाट प्रारम्भ भइसकेको थियो। त्यसपछिका दिनमा उनी राजनीतिक रुपमा यति अस्थिर देखिदै गए, उनीप्रतिको विश्वास र बचेखुचेको साख ओर्लदै गयो। ०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता लिएपछि उनलाई काठमाडौंको मेयर पदमा मनोनयन गरे। ०५४ मा फराकिलो जित हात पारेर मेयर भएका स्थापित प्रतिगमनकालको ‘टिके मेयर’ भए। त्यसपछिका दिनमा पनि उनको अस्थिरता पटक पटक देखापर्‍यो। कहिले प्रजा परिषद् पुनर्गठन गरेर राजनीतिमा सक्रिय हुन खोजे, कहिले माओवादीसँग लहसिए त कहिले संघीय समाजवादी फोरमको फेर समात्न पुगे। डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनलाई २०६९ सालमा काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्त बनाए र तर त्यहाँ पनि उनले काम गर्न सकेनन्। विवाद मात्रै बढए र पदमुक्त हुनुपर्‍यो।

०७० पछि उनी एमालेमै फर्के। कुनै बेला बामदेव गौतमसँग नजिक भएका र एमाले विभाजनका बेला गौतमलाई साथ दिएका स्थापित २०७० पछि ओलीको ‘शरण’मा पुगेका थिए। ०७४ को स्थानीय तह निर्वाचनमै उनी मेयरको उम्मेदवार बन्न चाहन्थे तर पार्टीभित्र चर्को विरोध भएपछि उनले त्यो अवसर पाएनन्। उनीसँग विकल्प बाँकी रह्यो, ओलीलाई मनाएर बागमती प्रदेशको मुख्यमन्त्री हुने। उनी त्यसमै लागे र प्रदेशस्तरीय चुनाव लडे । सांसद जिते। मुख्यमन्त्री बन्ने उनको सपना चाँहि पुरा भएन। एमालेले डोरमणी पौडेललाई मुख्यमन्त्री बनायो र उनी भौतिक पूर्वाधार मन्त्री भए। मुख्यमन्त्री बन्ने ‘लबिङ’ गरेका उनी पौडेलको मन्त्रिपरिषद्का एक सदस्यमा सीमित भएका थिए। यो पृष्ठभूमिमा पौडेलसँग चिसो र तिक्त सम्बन्ध भएका स्थापितको मन्त्रिपरिषद् बैठकमै भनाभन भयो। मन्त्रिपरिषद् बैठकमा उनको कार्यक्षमतामाथि प्रश्न उठेपछि उनी पौडेलविरुद्ध खनिएका थिए। मुख्यमन्त्रीलाई अभद्र व्यावहार गरेको आरोपमा उनी बर्खास्त गरिए।

यसरी कुनै बेला उर्जाशील, जुझारुको उपमा पाएका स्थापित अस्थिर र विवादास्पद छवि भएका नेतामा दरिएका छन्। तिनै स्थापितलाई एमालेले पुनः एकपटक परिक्षामा उतारेको छ।

यहाँनेर उही केन्द्रीय प्रश्न दोहोरिन्छ, स्थापित यो निर्वाचनबाट पुनः स्थापित हुन्छन् कि विस्थापित?

उनका अनुकूलता र प्रतिकूलता के के छन्, त्यो हेरौं।

अनुकूलता

स्थापितसँग निकै थोरै अनुकुलता छ, यसपटक।

पहिलो, उनी सबैभन्दा ठूलो पार्टी एमालेका उम्मेदवार हुन्। उनको सबैभन्दा मुख्य अनुकूलता यही हो।

दोस्रो, ०५४ सालमा ठूलो मतान्तरले जितेको र पूर्वाधार विकासमा केही काम गरेको उनको पृष्ठभूमि छ। एमालेले सत्तारुढ गठबन्धनविरुद्ध सायद उनलाई त्यही पृष्ठभूमि सम्झेर ‘च्याखे’ थापेको हुनुपर्छ। अन्यथा एमालेसँग विद्यासुन्दरलाई दोहोर्‍याउने अथवा रामवीर मानन्धरलाई अघि सार्ने विकल्प थियो।

तेस्रो, गठबन्धनको उम्मेदवारका रुपमा नेपाली कांग्रेसले सिर्जना सिंहलाई सार्नुलाई पनि एमालेले आफ्नो अनुकूलता ठानेको छ। कारण, सिंहको विगत राजनीतिक कार्यकर्ताको भए पनि उनी लामो समययता राजनीतिक परिवारकी सदस्यका रुपमा मात्रै रहेकी छन्।

प्रतिकूलता

स्थापित सामु अनुकुलताको तुलनामा प्रतिकूलता धेरै देखिन्छन्।

पहिलो, चुनाव प्रचारको शुरुबाट नै उनीविरुद्ध लागेको यौन दुर्व्यवहारको आरोप ब्युँतिएको छ। ‘पव्लिक स्फेयर’मा आएर उनी यो विजयमा जसरी आक्रामक ढंगले प्रस्तुत भएका छन्, त्यो उनका लागि प्रत्यूत्पादक नै हुने देखिन्छ।

दोस्रो, महानगरको विकास र परिवर्तनमा उनले प्रस्तुत गरेका योजना र मुद्दाहरु ‘उडन्ते’ लाग्छन्। उनको हाउभाउ हँसाउने खालको छ, सेन्स अफ ह्यूमर देखाउन खोज्छन् तर २५ वर्ष अघिको उर्जाशील छवि अब उडन्ते र अस्थिर हुँदै गएको देखिन्छ। यो उनका लागि अर्को प्रतिकूलता हुनेछ।

तेस्रो, एकपछि अर्को विवादित घटनाका शृंखलाले उनीप्रतिको विश्वास कमजोर गराएको देखिन्छ।

अनेक अनुकुलता र प्रतिकूलताका बीच स्थापित ०५४ को आफ्नो साख फर्काउन लागिपरेका छन्। जनमतबाट उनी पुरस्कृत हुने हुन् कि दण्डित? अन्तिम अग्निपरिक्षामा होमिएका स्थापितको आगामी राजनीतिक यात्रा हेर्न ३० वैशाख कुर्नैपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved