देउवाले कारबाही गरेका डडेल्धुराका मल्लले त्यागे प्रदेशसभा सदस्य पद

मल्लले देउवा निरंकुश र तानाशाह बनेको आरोप लगाउँदै दम्भले गर्दा डडेल्धुरामा कांग्रेसको अवस्था २०७४ को भन्दा कमजोर हुने दाबी गरे।

देउवाले कारबाही गरेका डडेल्धुराका मल्लले त्यागे प्रदेशसभा सदस्य पद

धनगढी। सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद परित्याग गरेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गरेर मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा आफूमाथि अन्याय गर्दै गएको बताउँदै उनले नेपाली कांग्रेसबाट समेत कारबाही गरिएकाले नैतिकताका आधारमा प्रदेशसभा सदस्यबाट राजीनामा गरेको बताए।

मल्ल डडेलधुरा जिल्लाको प्रदेश क्षेत्र (ख) मा नेपाली कांग्रेसबाट प्रदेश सदस्यमा निर्वाचित सांसद हुन्।

केही दिनअघिमात्र कांग्रेसले पार्टीको साधारण सदस्यसमेत नरहने गरेर उनलाई कारबाही गरेको थियो। ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि उनले आफू निकट नेता कार्यकर्तालाई नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दर्ता गर्न लगाएका थिए।

पार्टीको आन्तरिक विवाद चुलिँदै गएपछि र केन्द्रीय सभापतिबाट नै एक्ल्याउने प्रयास गरिएपछि आफू निकट नेताहरुलाई बीपी कांग्रेसबाट आसन्न निर्वाचनमा उम्मेदवार बनाएको मल्लले प्रष्ट पारे।

मल्लले देउवा निरंकुश र तानाशाह बनेको आरोप लगाउँदै दम्भले गर्दा डडेल्धुरामा कांग्रेसको अवस्था २०७४ को भन्दा कमजोर हुने दाबी गरे।

इमान्दार कार्यकर्तालाई लत्याएर अवसरवादी र चाप्लुसी गर्ने निकट राखेर गरिएको राजनीति देउवाकै लागि घातक हुने मल्लको भनाइ छ। पार्टी विधि र विधानविपरीत आफूमाथि गरिएको कारबाही औचित्यहीन रहेको मल्लले बताए।

स्थानीय तहको निर्वाचनका लागि मल्ल समूह नेकपा एमालेसँग गठबन्धन गरेर चुनावी तालमेलमा जुटेको छ। उनीसँगै कांग्रेसको एक समूहले पार्टी परित्यागको घोषणा गर्ने तयारी गरिरहेको कांग्रेसका पूर्व जिल्ला समिति सचिव लोकराज भट्टले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved