‘कार्यकर्ता पत्रकार’ चुनावी मैदानमा : कुन–कुन दलबाट को–को भिड्दै

महानगर, उपमहानगरदेखि गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाहरू प्रतिस्पर्धामा छन्।  नेकपा एमालेबाट धेरैले उम्मेदवारी दिएको देखिन्छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि `कार्यकर्ता पत्रकार´ उम्मेदवार बनेका  छन्।

नेपालभ्युज

‘कार्यकर्ता पत्रकार’ चुनावी मैदानमा : कुन–कुन दलबाट को–को भिड्दै

काठमाडौं। स्थानीय तहको निर्वाचनमा पत्रकारहरू पनि प्रतिस्पर्धामा छन्। देशैभरका ७५३ वटै स्थानीय तहमध्ये धेरै महानगर, उपमहानगरदेखि गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाहरू प्रतिस्पर्धामा छन्।  नेकपा एमालेबाट धेरैले उम्मेदवारी दिएको देखिन्छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि `कार्यकर्ता पत्रकार´ उम्मेदवार बनेका  छन्।

काठमाडौंको चन्द्रागिरि नगरपालिका ७ मा वडाध्यक्षमा अध्यक्ष श्रीहरि थापा उम्मेदवार छन्। बलिया उम्मेदवार मानिएका उनी प्रेस चौतारी नेपालका एशोसिएट प्रदेश अध्यक्ष हुन्। काभ्रे जिल्लामा पत्रकार कञ्चन अधिकारी पाँचखाल नगरपालिकाको प्रमुखमा उठेका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा समेत पत्रकार प्रतिस्पर्धामा छन्। प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईँ एमालेबाट उम्मेदवार हुन्। यस्तै पत्रकार वीरबहादुर गिरीले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनी पनि एमालेका उम्मेदवार हुन्।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्ता आङबुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। केन्द्रीय सदस्यबाट राजीनामा दिएर चुनावमा होमिएकी हुन्। उनी एमालेकी उम्मेदवार हुन्।

यस्तै एमालेले बेनीमा पनि पत्रकारलाई उम्मेदवार बनाएको छ। म्याग्दीमा पत्रकार सुरत केसी बेनी नगरपालिकाको प्रमुखमा उठेका छन्। बाजुरामा पत्रकार अमर खड्का बढीमालिका नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन्। उनी पनि एमालेबाट नै हुन्।

त्यसैगरी बाजुराकी पत्रकार नन्दा थापा एमालेबाट उपप्रमुखमा उम्मेदवार छिन्। मोरङका पत्रकार भक्त राई सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवार छन्। उनी पनि एमालेबाट उम्मेदवार भएका हुन्। यस्तै पत्रकार गायत्री आचार्य दोलखाको मेलुङ गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार छिन्। उनी एमालेकी उम्मेदवार हुन्। बाँकेका पत्रकार सकिल खाँ डुडुवा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। उनी पनि एमालेबाट हुन्।

सुदूरपश्चिमबाट कैलालीको जानकी गाउँपालिकाको उपाध्यक्षमा गीता चौधरीले उम्मेदवारी दिएकी छन्।

एमालेले पत्रकारलाई टिकट दिएर सन्तुष्ट बनाएको मात्रै छैन कतिपय ठाउँमा असन्तुष्ट पनि बनाएको छ। असन्तुष्टहरूले बागी उम्मेदवारी समेत दिएका छन्। नुवाकोटको ताकेश्वर गाउँपालिकामा पत्रकार विष्णु तारुके एमालेविरुद्ध बागी उम्मेदवार छन्। प्रेस चौतारी नेपालको सचिव रहेका उनी टिकट नपाएपछि बागी उठेका हुन्।

मिडियामा काम गर्दैआएकालाई मात्रै एमालेले उम्मेदवार बनाएको छैन, मिडियाका मालिकलाई मालिकलाई पनि टिकट दिएको छ। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा आङकाजी शेर्पा एमालेबाट उम्मेदवार छन्।

वीरगन्ज र चन्द्रागिरिमा राप्रपा र जनमोर्चाका पत्रकार उम्मेदवारहरू

पत्रकार गिरीश गिरी वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनी उम्मेदवार छन्। लामो समययता पत्रकारिता पेसामा लागेका उनी वीरगन्ज बदल्ने भन्दै राजनीतिमा लागेका हुन्।

मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी मनोनयन गरेका छन्। उनले सत्तागठबनधनको सहमति अनुसार राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका हुन्। तर, कांग्रेसले पछि सहमति उल्लङ्घन गर्दै आफ्नै दलको तर्फबाट उपमेयर उठाएको छ। कांग्रेसले उम्मेदवारी फिर्ता लिएर गठबन्धन कायमै राखेमा दानी बलिया उम्मेदवार हुनेछन्। कांग्रेसले फिर्ता नलिए उनी मुख्य प्रतिस्पर्धीबाट बाहिरिने चर्चा छ। दानी अघिल्लो चुनावमा पनि उपमेयरमा उम्मेदवार थिए।

नुवाकोट, कैलाली र डोटीमा कांग्रेसबाट पत्रकार उम्मेदवार

रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा लामो समययता कार्यरत पत्रकार सुनिता रावलले डोटीको शिखर नगरपालिकाकाको उपप्रमुख पदमा उम्मेदवार छिन्। उनी कांग्रेसका तर्फबाट उम्मेदवार हुन्।

कांग्रेसको तर्फबाट पत्रकार शिव अधिकारी नुवाकोटमा पालिका अध्यक्ष पदमा उम्मेदवार छन्। उनी तारकेश्वर गाउँपालिकामा उठेका हुन्। यता नमोबुद्ध नगरपालिकाको मेयरका आकांक्षी रोशन पाण्डेले भने हातमै आएको टिकट पाएनन्। प्रेस युनियनमा आबद्ध उनलाई टिकटको माग गर्न जाँदा आफ्नै दलका नेताहरूले कुटेर फर्काइदिए।

यस्ता छन् जसपा र नेकपा एसका पत्रकार उम्मेदवारहरू

सप्तरी जिल्लाका चारजना पत्रकार पनि स्थानीय तहको निर्वाचनमा होमिएका छन्। पत्रकार महासङ्घ मधेस प्रदेशका सचिव भोला पासवान जनता समाजवादी पार्टी नेपालका तर्फबाट सप्तरी जिल्लाको कञ्चनपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार छन्।

तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीका तर्फबाट पत्रकार हेमशङ्कर सिंह, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजविराज–८ को वडाध्यक्षमा उम्मेदवार छन्।

सप्तरीमा माओवादीका उम्मेदवार

पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादव पनि नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार छन्। माओवादी केन्द्रकै तर्फबाट कमलेश मण्डल महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार छन्।

कपिलवस्तु र अर्घाखाँचीमा स्वतन्त्र उम्मेदवारी

यस्तै पत्रकार चन्द्रकान्त न्यौपाने कपिलवस्तुको बाणगंगा ४ बाट स्वतन्त्रतर्फबाट उम्मेदवार छन्। अर्घाखाँचीका सूर्योदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगङ्गा–१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved