बैतडीमा १२ उम्मेदवारविरुद्ध उजुरी

बैतडीमा १२ उम्मेदवारविरुद्ध उजुरी

बैतडी। आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका बैतडीका विभिन्न पालिकाका १२ उम्मेदवारविरुद्ध उजुरी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख र गाउँपालिकाका उपाध्यक्षका उम्मेदवारसहित १२ उम्मेदवारका विरुद्ध उजुरी परेको हो। जिल्लाको पाटन नगरपालिकामा सबैभन्दा बढी सात उम्मेदवारका विरुद्ध उजुरी परेको छ। एमालेबाट नगरप्रमुख पदका उम्मेदवार नारायणसिंह भण्डारीविरुद्ध दुईजनाले उजुरी दिएको हो।

भण्डारी लेखापरीक्षकको रूपमा कार्यरत रहेको भन्दै उजुरी परेको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले जानकारी दिए। यसका साथै वडासदस्यका उम्मेदवार हीरासिंह कठायत, प्रेमसिंह भाट, नवराज पाण्डेय, मानबहादुर विष्ट र नवराज भट्टका विरुद्ध उजुरी परेको छ।

यस्तै शिवनाथ गाउँपालिकामा एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार सकुन्तला साउँद, नेकपा (माओवादी केन्द्र)का तर्फबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्र साउँद र वडाध्यक्षका उम्मेदवार भरतराम पार्कीविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पञ्चेश्वर गाउँपालिकामा वडा नं ६ का वडाध्यक्षका उम्मेदवार रामसिंह पुजारा र बलबहादुर भण्डारीविरुद्ध उजुरी परेको छ। पुजाराविरुद्ध पेश्की फछ्र्योट नगरेको भनेर उजुरी परेको र भण्डारीविरुद्ध फौजदारी अभियोगमा सजाय भोगेको भनेर उजुरी परेको हो।

उम्मेदवारविरुद्ध परेका उजुरीका विषयमा भोलिसम्म छानबिन भइसक्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए। स्थानीय निर्वाचनका लागि बैतडीमा ४४० पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर एक हजार ४४२ को उम्मेदवारी दर्ता भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved