कर्णाली : तीन कविता

नेपालभ्युज

कर्णाली : तीन कविता

कर्णालीको झिँगा

अमर शाह

अनुवाद नहुने रहेछ इतिहास रोटीमा
न संस्कृति बन्दो रहेछ इज्जत ढाक्ने खास्टो
के निभ्थ्यो भोकको ज्वाला
उत्खनन हुन बाँकी सम्पत्तिको हिसाब गरेर
नजन्मँदै मरिरहेछन् वा
हार्दै भोक र रोगको मोर्चा
मरिरहेछन् जवानीमै बुढ्यौली भोगेर जनता
विकास सूचकांकको पचहत्तरौं स्थानमा छ मुगु
र, पुछारतिरै छ सिंगो कर्णाली ।

जसरी जान्छन् सहरका बच्चा रमाउँदै
जंगली पशुपंक्षी हेर्न चिडियाखाना
वा, जसरी पस्छ वर्तमान पुस्ता
पुरानो समाज र पुर्खाको इतिहास बुझ्न संग्रहालय
पसिरहेछन् त्यसरी नै हुलका हुल
कथित अनुसन्धानकर्ता र विकासे कार्यकर्ता
गरिबी र पछौटेपन हेर्न कर्णालीमा
रमाइरहेछन् उनीहरू र साटिरहेछन्
डलर, पाउन्ड र येनसँग
सिँगान निलिरहेका सुकेनासग्रस्त बच्चा
र, मयल टल्कने, फाटेको चोलो र सुरुवालको चित्र ।

जताततै छन् झिँगा कर्णालीमा
फैलाइरहेका रोग र मृत्यु
तर पालिरहेछन् यी झिँगाले नै
धेरै सुखी र सम्पन्न परिवार
कर्णालीबाहिर नेपालमै
र, नेपालबाहिर युरोप, अमेरिकामा ।

घेरिएको छु झिँगाहरूले
र सोचिरहेको छु म
को बढी खतरनाक छन्
कर्णालीका यी झिँगा वा
कर्णालीका यी देशी–विदेशी ऐँजेरुहरू ।

कर्नालीको वासलातमा

चन्द्र घिमिरे

कर्नालीको वासलातमा
घाटाको लामो हाराकिरी
साबुत
थोपै नचुहिएको हरियो ।

मान्छे खाँदा हुन्
अनिकाले पहाडहरू
उँभो मान्छे फल्दैनन् रे
हिउँ खाँदा हुन् घुच्चुका लेकहरू ।

उँधौरो लागेका
जोवनका आङ खसेका
तिला नदीहरू
अक्करिएर
भीरको पनि सातो लाने भीरहरू ।

बाबजूद यी
राराका खडकुँडा
जहाँ धैर्यको ढिंढो बसा’छन्
र, वरपर
सातुविहीन कर्नालीका सिलाबरे जिजीविषाहरू ।

वर्षौंदेखि
बतासले यहाँ भित्र्याउँछन्
कि धूलो
कि आपत्को कुलो
कि छिनेका तुइनमा आमा–छोरी बग्या कथाहरू ।

घर हुन् या भीरका खोपा
छन् त्यहाँ
छोराछोरी कालापहार छिरेकाले
नतिनातिना रुगौटा आमैहरू
रुन्चे आशा मुसारेर
सर्कारी चामल कुर्दा आँखाका थैलाहरू ।

भीरैभीरै
कर्नालीको तीरैतीर
शताब्दी छुँदै बहँदा छन्
छाउपडीका गुम्फनहरू ।

देउडा हाल्दा छन्
श्रोताविहीन रुखहरू
छन् रुलाउने गीतहरू
के आशले पो बग्दा छन् र ?
…वर्षौंदेखि मुगु कर्नालीहरू ।

कालापहारबाट खसम फिर्दा
खसम पिरती र एड्स ‘सँगै’ सल्किएर
भक्कानिएका चँखेलीका लेकहरू ।

उम्दा यिनका विपन्नता
पर्यटक र एलिट शहरको प्लेटमा
ननभेज कफी–गफका लागि ।

वर्षेनी दोजिया
मुर्मा गाउँकी होइजाली रोकायहरू
र लफडाको म्याराथुनमा
जुम्लाका धावक हरिबहादुर रोकायहरू ।

कर्णालीको कथा

लालगोपाल सुवेदी

हाँसेकी छे जहाँ रारा, जहाँ लालीगुराँस छ
त्यहीं धेरै अँध्यारो छ त्यहीं छाती उराठ छ
दुवै बाहु बजारी जो अरूलाई खुवाउँछन्
स्वयम् ती गीतमा रुन्छन् गीतैले ती रुवाउँछन्

जोजो हुन् बलियाबाङ्गा छिरेका छन् प्रवासमा
भएको छ त्यहाँ सूर्य निभेजस्तै प्रभातमा
रित्ता थाल उफारेर नानी रुन्छन् सधैँ त्यहाँ
जान्छन् जहाँ बूढी आमा लास बोकेर घाटमा

सयौं मान्छे मलामीझैं सयौं आवाजहीन छन्
सञ्जीवनी सडेका छन् रोगले ती विदीर्ण छन्
जहाँ नारी हलो जोत्छन् खरैले घर छाउँछन्
तुइनैमा नदी तर्छन् काललाई गिज्याउँछन्

जंगली युगमा जस्तै बलियाकै छ शोषण
बँधुवा पशुको जस्तै हलियाको छ जीवन
मानौं खानु महाप्राप्ति बाँच्नु मात्रै छ जिन्दगी
आधासरो लगाएरै घस्रिएको छ जिन्दगी

त्यहीँ सम्भावना–खानी मान्छे निराश छन् त्यहीँ
हीराको हारझैँ पानी मान्छे छन् प्यासमा त्यहीँ
युगै उल्टो हिँडेजस्तो सयौं उल्टो परिस्थिति
ए ! त्यहाँ कहिले होला यो राज्यको उपस्थिति ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved