बागमतीमा प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले प्रदेशभित्र रहेका विद्यालयहरूमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम शुरु गरेपछि विद्यालयहरूमा अहिले विद्यार्थीहरूको पढ्दा पढ्दै बीचमा नै घर जानुपर्ने बाध्यता हटेको छ।

बागमतीमा प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

हेटौंडा। बागमती गाउँपालिकामा रहेको जनता माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अनिला मगरको कक्षा अचेल पहिला जस्तो छुट्दैन।

दुई वर्ष अघिसम्म महिनावारी हुँदा, सामान्य टाउको दुख्दासमेत कि घर कि मेडिकल जानुपर्ने बाध्यता विद्यालयमा नर्स आएपछि हटेको छ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले प्रदेशभित्र रहेका विद्यालयहरूमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम शुरु गरेपछि विद्यालयहरूमा अहिले विद्यार्थीहरूको पढ्दा पढ्दै बीचमा नै घर जानुपर्ने बाध्यता हटेको छ।

अनिलाको जस्तै लक्ष्मी धुनुकीको पनि अहिले महिनावारी हुने बितिकै घर जानु पर्ने बाध्यता छैन। विद्यालयमा नर्स देखि सेनेटरी प्याड तथा औषधिहरूको पनि व्यवस्था भएपछि सहज भएको छ।

विद्यालयमा महिनावारी भए पनि अहिले छात्राहरूलाई समस्या छैन। किनकि उनीहरूलाई सेनेटरी प्याड तथा पेट दुख्दा खाने औषधिको व्यवस्था बिद्यालयमा नै छ।

“पहिले पहिले त हामी महिनावारी हुने बितिकै घर जानु पर्थ्यो। स्कुलमा प्याडको व्यवस्था थिएन,पेट असाध्यै दुख्छ पहिला मेडिकल जानु पथ्र्यो। अहिले हामी नर्सको कोठामा जान्छौ,” धुनुकीले भनिन्,“नर्स आउनु भएपछि हामीलाई धेरै सहज भएको छ।” सामान्य प्राथमिक उपचार मात्र नभएर आफूहरूलाई कहिलेकाही केही समस्या पर्‍यो भने पनि नर्सले सल्लाह दिने गरेको उनको भनाइ छ।

एक विद्यालय एक नर्स कार्यक्रम शुरु भएपछि विद्यालयमा धेरै कुरा सहज भएको जनता माध्यामिक विद्यालयका प्रधानध्यापक बसन्त राई बताउँछन्।

दिनमा तीनदेखि ५ जना विद्यार्थीहरूले सेवा लिने गरेका उनको भनाइ छ। छात्राहरूले अभिभावक तथा शिक्षक शिक्षिकाहरूसँग पनि भन्न नसकेका कुराहरू नर्ससँग सजिलै भन्छन्। “विद्यालयमा नर्स आएपछि धेरै राम्रो भएको छ। विद्यार्थिहरूले कक्षा छोड्नुपर्ने बाध्यता हटेको छ,” उनले भने, “यो कार्यक्रम हाम्रो विद्यालयमा धेरै प्रभावकारी भएको छ।”

यो विद्यालयमा २०७७ सालबाट कार्यक्रम लागू भएको थियो।

यस्तै बागमती गाउँपालकामा नै रहेको देवकी माध्यामिक विद्यालयमा पनि यो कार्यक्रम निकै प्रभावकारी भएको प्रधानध्यापक चन्द्र बहादुर थापा बताउँछन्।

नर्स आइसकेपछि पढाईको स्तर समेत बढेको उनको बुझाइ छ। “विद्यालयमा नर्स आएपछि विद्यार्थीहरूको स्वास्थ्य समस्या मात्रै होइन विद्यालय कै धेरै क्षेत्रमा सुधार भएको छ।

विद्यालय सरसफाइदेखि खानेपानी र खाजाको विषयमा पनि परिवर्तन भएको छ,” उनले भने, “विद्यार्थीहरूमा देखिने शारीरिक समस्यासँगै मानसिक समस्या पनि सम्बोधन भइरहेको छ। विद्यार्थीहरूले आफूलाई परेको समस्या खुलेर नर्सहरूसँग राख्छन्। आवश्यक समन्वय हामी गर्छाैं। विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा पनि काम भएको छ।”

जनप्रिय माध्यामिक विद्यालय हेटौडा-१६ मा पनि यो कार्यक्रम दुई वर्षदेखि चलिरहेको छ। करीब १८सय जना विद्यार्थी अध्ययनरत यो विद्यालयमा पनि कार्यक्रम प्रभावकारी भएको विद्यालयमा शिक्षक सुनिल गौतमको भनाइ छ। अहिले दिनमा ५ देखि ७ जना विद्यार्थीले नर्ससँग सेवा लिन्छन्।

औषधिको अभाव

जनप्रिय माध्यामीक विद्यालय हेटौंडा १७ को कक्षा ८ मा अध्ययनरत छात्रा एन्जल थापा मगर केही समयअघि करीब आधा घण्टासम्म अर्धचेत भइन्। विद्यालयमा नर्स पनि थिए तर पनि औषधि अभावमा त्यहाँ उनको उपचारमा निकै कठिनाइ आयो।

नर्स भएर पनि औषधि नहुँदा त्यहा काम गर्ने वातावरण थिएन। एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी हुँदाँहुदै पनि प्रदेश सरकारले मागअनुसार औषधि दिन नसक्दा केही समस्या भएको विद्यालयका शिक्षक सुनिल गौतमको भनाइ छ।

यो कार्यक्रमअन्तर्ग सामान्य किसिमका मात्र औषधिहरू रहेकाले अझै यसको दायरा बढाउनुपर्ने उनको तर्क छ। विद्यालयमा कक्षा ११ र १२ को पढाइ बिहानमा हुने हुँदा उनीहरू यो सेवाबाट बञ्चित भएका उनको भनाइ छ।

“सरकारले औषधिहरूको दायरा बढाउने हो भने यो कायृक्रम अझै प्रवाभकारी हुन्छ,” उनले भने, “विद्यालयमा कोही बिरामी भयो भने रिफर गर्नुको विकल्प छैन। औषधि बढेदेखि विद्यालयमा नै उपचार सम्भव हुन्थ्यो।”

यस्तै जनता माविका प्रधानध्यापक राई पनि औषधि बढाउनुपर्ने बताउनुहुन्छ।

तर धमाधम विद्यालय छोड्दै नर्सहरू

एक विद्यालय एक नर्स कार्यक्रम निकै प्रभावकारी भएको विद्यार्थी तथा शिक्षकले बताउँदै गर्दा विद्यालय छोड्ने नर्सहरूको संख्या पनि निकै बढेको छ।

कार्यक्रम शुरु भएको तीन वर्षमा करिब एक सय जनाले विद्यालय छोडिसकेका छन्। बागमती प्रदेश सरकारले २०७५ सालबाट यो कार्यक्रम २० वटा विद्यालयमार्फत शुरु गरेको थियो।

यसको प्रभावकारिता बढेसँगै अहिले प्रदेशभरिका ४५९ वटा विद्यालयमा यो कार्यक्रम लागू भएको छ। वर्षमा एक पटक परीक्षा लिगेर नर्सहरू नियुक्त हुने गरेका छन्।

तर नर्सहरूले बीचमा काम छोड्ने समस्या नै अहिले यो कार्यक्रमका लागि चुनौती भएको छ। देवकी माविमा गत भदौदेखि नै नर्स छैनन्। नर्सले भदौमा राजीनामा दिएर गएपछि प्रधानध्यापक चन्द्र बहादुर थापाले पटक पटक नर्स पठाइदिन भने पनि अहिलेसम्म नर्स विद्यालयमा नआएका बताउँछन्।

अहिले विद्यालयमा औषधि छ, नर्सको कार्यकक्ष छ। तर नर्स छैनन्। जसका कारण औषधि भएर पनि विद्यार्थीले उपभोग गर्न पाएका छैनन्।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले नर्सहरूलाई करारमा नियुक्त गरेको छ।

एक जना नर्सले महीनामा तीस हजार एक सय रुपैयाँ पारिश्रमिक पाउँछन्। पारिश्रमिक राम्रै भए पनि करारमा भएका कारण यसमा भविष्य नदेखेर नर्सहरूले विद्यालय छोड्ने गरेका सामाजिक विकास मन्त्रालयअन्तर्गत विद्यालय नर्स कार्यक्रम संयोजक बिनु कक्षपति बताउँछिन्।

कोभिड महामारी केहि हटेसँगै अहिले नर्सहरू पनि विदेश जान थालेका छन्। जसका कारण बागमती प्रदेशको एक विद्यालय एक नर्स कार्यक्रम नै प्रभावित भइरहेको छ।

विशेष गरी पढाइको सिलसिलामा विदेश जानुपर्ने, सरुवाको व्यवस्था नहुँदा विकटमा पर्नेहरू काममा जान नमान्ने जस्ता कारणले नर्सहरूले विद्यालय छोड्ने गरेका उनले बताइन्।

अहिले पनि प्रदेशभरिका २५ भन्दा बढी विद्यालयमा नर्सहरूले राजीनामा दिएसँगै यो कार्यक्रम रोकिएको छ। स्थानीय तहको निर्वाचन नजिकिएकाले अब निर्वाचन पछि मात्र नर्सहरूको नियुत्ति हुने कक्षपतिले बताइन्।

मन्त्रालयलाई माग धान्नै मुस्किल

एक विद्यालय एक नर्स कार्यक्रम अहिले ४५९ वटा विद्यालयमा लागू भएको छ। हरेक वर्ष प्रदेश सरकारले संख्या बढाइरहेको छ। यसको प्रभावकारिता बढेसँगै मन्त्रालयमा यो कार्यक्रम लागू गर्न धेरै विद्यालयबाट दबाब आउन थालेको छ।

“अहिले हामीलाई हरेक दिनजसो हाम्रो विद्यालयमा पनि यो कार्यक्रम लागु गर्न पर्‍यो भनेर फोन आउने गरेको छ,” कक्षपतिले भनिन्, “अर्को आर्थिक वर्षदेखि फेरि केही विद्यालय थप हुन सक्छन्।”

अहिले हेटौंडा उपमहानरपालिकाका मात्र जनप्रिय माध्यामिक विद्यालय, सिद्धार्थ माध्यामिक विद्यालय, बालज्योति माध्यामिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यामिक विद्यालय र निर्मल माध्यामिक विद्यालयमा यो कार्यक्रम लागु भएको छ।

मन्त्रालयले विद्यालय छनोटको काम स्थानीय तहलाई नै दिएको छ भने कार्यक्रमका लागि वार्षिक बजेटसमेत स्थानीय तहमार्फत नै निकासा गरिरहेकको छ।

मन्त्रालयले एक वर्षमा एक विद्यालय बराबर ५ लाख रुपैयाँ बजेट निकासा गर्ने गरेको छ। धेरैजसो स्थानीय तहले यो कार्यक्रमलाई महत्वका साथ हेरेका र केही स्थानीय तहलाई यो कार्यक्रमबारे अझै धेरै बुझाउन जरुरी रहेको कक्षपतिले बताइन्।

एक विद्यालय एक नर्स कार्यक्रम विशेष गरी नसर्ने रोगहरूको नियन्त्रणका लागि शुरु गरिएको कार्यक्रम हो। छात्रछात्राहरूमा किशोरअवस्थामा आउने समस्याहरूको व्यवस्थापनको लागि कार्यक्रम निकै प्रभावकारी भएको मन्त्रालयको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved