अमृता मृत्यु प्रकरण : आफन्तले बुझेनन् शव, डीएसपीको भूमिकामाथि प्रश्न

मृतकका दाजुले मुद्दा दर्ता नै नगरी २ दिनसम्म डीएसपी ठगबहादुर केसीले मुद्दा दर्ता भइसकेको भनेर शंकास्पद क्रियाकलाप गरेको आरोप लगाएका छन्। यता उक्त आरोपको खण्डन गर्दै डीएसपी केसीले पीडितहरूको मुद्दा तुरुन्त दर्ता गरी अनुसन्धान शुरु गरिएको दाबी गरेका छन्।

अमृता मृत्यु प्रकरण : आफन्तले बुझेनन् शव, डीएसपीको भूमिकामाथि प्रश्न

बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी २९ वर्षीया अमृता क्षेत्री टण्डनको मृत्यु प्रकरणबारे प्रशासनले पीडित परिवारसँग लिखित सहमति गरेपछि शवको पोष्टमार्टम भएको छ। गएको बुधबार तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको रहस्यमयी मृत्यु भएको थियो।

अमृता बुधबार साँझ ८ बजेसम्म माइतमा थिइन्। त्यसपछि उनका श्रीमानले फोन गरेर घर नआए छोरालाई जे पनि हुनसक्छ भनी धम्काएपछि उनी घर फर्किएकी थिइन्। सोही राति उनको मृत्यु भएको थियो। त्यसयता माइती पक्षले घटनाबारे छानबिन गर्नुपर्ने मागसहित आन्दोलन जारी राखेको छ।

जिल्ला प्रशासन कार्यालयमा शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले घटनाको अनुसन्धान गर्ने, पोष्टमार्टमको फोरेन्सी ल्याब विज्ञको रोहबरमा पीडित पक्षले चाहेको हस्पिटलमा गराउने सहमति भएपछि आज शवको पोष्टमार्टम भएको हो। तर पोष्टमार्टम भए पनि माइती पक्षले शव लिन अस्वीकार गरेको छ।

यो पनि

युवतीको मृत्युपछि तिलोत्तमा अशान्त, बचाउन आग्रहसहित दाजुलाई गरेकी थिइन् मेसेज

माइती पक्षले हाँसीखुसी ८ः३० बजे माइतबाट घर जानु, घर पुगेको १ घण्टामा बाँच्न चाहेको भन्दै गुहार मागेर दाइलाई मेसेज पठाउनु, घटनास्थलमा दुर्लभ मानिने प्रकारको विषादीको बट्टा फेला पर्नु, विष सेवन गरेको भनिएको कोठाको ढोका खुल्लै रहनु तथा सो कोठामा विष सेवन गरेपछि हुन सक्ने कुनै गतिविधि भएको नदेखिनु आदि कारणले अमृताको हत्या भएको बताउँदै आएका छन्।

अमृताको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

घटनाका सम्बन्धमा आज माइती पक्षले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर निष्पक्ष अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै मृतक अमृताका दाजु पुष्प खत्रीले मुद्दा दर्ता नै नगरी २ दिनसम्म बुटवलका नायव प्रहरी उपरीक्षक (डीएसपी) केसीले मुद्दा दर्ता भइसकेको भनेर शंकास्पद क्रियाकलाप गरेको आरोप लगाएका छन्। उनले कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गर्न डीएसपीले आनाकानी गर्नु र न्याय माग्न प्रहरी कार्यालय पुगेका आफन्त र शुभचिन्तकहरूलाई डीएसपीकै आदेश र संलग्नतामा अमानविय ढंगबाट दमन गरिनुले डीएसपीबाट निष्पक्ष अनुसन्धान हुनेमा शंका व्यक्त गरे।

२ वैशाखमा ईलाका प्रहरी कार्यालय बुटवल पुगेका मृतकका माइती र आफन्तहरूलाई प्रहरीले निर्ममतापूर्वक कुटपिट गरेको अमृताका माइती पक्षले बताउँदै आएका छन्। घटनाबारे रिपोर्टिङ गर्न पुगेका ५ जना पत्रकारहरूमाथि पनि प्रहरीले दुर्व्यवहार गरेको थियो।

यता माइती पक्षको आरोपको खण्डन गर्दै बुटवल प्रहरी प्रमुख डीएसपी केसीले भने पीडितहरूको मुद्दा तुरुन्त दर्ता गरी अनुसन्धान शुरु गरिएको बताएका छन्। केसीले अनुसन्धानमा कुनै कसर बाँकी नराखिने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved