विराटनगरसहित मोरङका १७ ओटै पालिकामा तालमेलको खाका कोर्न गठबन्धनलाई सकस

दलहरू आफ्नो दाबीबाट पछि सर्ने वातावरण नबनेपछि तालमेलको सम्भावना खुम्चिँदै गएको छ।

विराटनगरसहित मोरङका १७ ओटै पालिकामा तालमेलको खाका कोर्न गठबन्धनलाई सकस

विराटनगर। आसन्न स्थानीय तहको निर्वाचनमा तालमेलको खाका कोर्न सत्तारुढ गठबन्धनलाई सकस भएको छ।

प्रदेश नं. १ को मोरङमा तालमेल गरेरै जाने निष्कर्षसहित गठबन्धनका दलहरूले तालमेलका लागि प्रक्रिया अघि बढाए पनि सहमति जुट्न नसक्दा अवस्था असहज बनेको हो। दलहरू आ-आफ्नो दाबीबाट पछि सर्ने वातावरण नबनेपछि तालमेलको सम्भावना खुम्चिँदै गएको गठन्बन्धनका नेताहरूले बताएका छन्।

मोरङका स्थानीय निर्वाचनमा तालमेलबारे छलफलका लागि शुक्रबार बसेको दलको बैठक पनि आ-आफ्नो दाबी गर्दै सकिएको छ। बैठकमा कांग्रेसले ११ पालिकामा दाबी गरेको छ भने माओवादीले ६, नेकपा (एकीकृत समाजवादी) ले ४ र जनता समाजवादी पार्टीले ३ ‌ओटा पालिकामा दाबी गरेको छ। तर, आउँदो निर्वाचनमा वर्तमान पाँच दलीय गठबन्धनलाई नै निरन्तरता प्रदान गर्ने तयारी भएपनि सहमति जुटाउन नसक्दा अन्यौल कायमै छ।

दलहरूको गत बुधबार बसेको बैठकमा कांग्रेसले गठबन्धन गर्ने विषयमा सहमति जनाएको थियो। सोही बैठकले पालिकामा दलहरूको अवस्था अध्ययन र कसलाई नेतृत्व दिँदा ठीक हुन्छ भन्ने विषयमा सुझाव पेश गर्न कार्यदल गठन गरेको थियो। कार्यदलमा नेकपा माओवादी केन्द्रका मोरङ जिल्ला संयोजक विजय कुमार विश्वास, कांग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, एकीकृत समाजवादीबाट डाक्टर उद्धव पोखरेल र जसपाबाट जिल्ला अध्यक्ष राजकुमार यादव सहभागी थिए।

कार्यदलले दुई दिनभित्र जिल्लाका १७ ओटै पालिकाको अवस्थाबारे रिपोर्ट तयार पार्ने र त्यस आधारमा पालिका विभाजनको सुझाव दिने कार्यादेश पाएको थियो। कार्यादेश अनुसार कार्यदलले शुक्रबार आवश्यक सुझावसहितको आफ्नो अध्ययन प्रतिवेदन पेश गरेको थियो। कार्यदलद्वारा प्रस्तुत प्रतिवेदन उपर भएको छलफलमा कांग्रेसले मोरङको हकमा ११ ‌ओटा पालिका कुनै पनि अवस्थामा नछोड्ने र आफूले पाउने पालिकामा पनि ४ ‌ओटा मात्रै उप(प्रमुख दिने बताएको थियो। तर, त्यसमा अन्य दलहरूले असहमति जनाएपछि शुक्रबार र शनिबारको बैठक पनि निष्कर्षविहिन टुङ्गिएको थियो। गठबन्धनको अर्को बैठक आज बस्दैछ।

सम्भवत: आज बस्ने बैठकबाट ठोस निष्कर्ष आउने नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले बताए। उनले सम्मानजनक गठबन्धनका निम्त्ति प्रयास भईरहेको जानकारी दिए। उनले भने, ‘‘कार्यदलबाट प्राप्त निष्कर्ष र आवश्यक सुझावकोे आधारमा मोरङ जिल्लाको हकमा आउँदो निर्वाचनको रुपरेखा तयार हुन्छ। हामी त्यहीअनुसार आ–आफ्नो रणनीति बनाएर अघि बढछौं।’’

कार्यदलबाट प्राप्त रिपोर्टबारे दलहरूबिच पुनः एकपटक छलफल भएपछि माथिल्लो समितिमा सिफारिश गर्ने तयारी रहेको नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति लिम्बुले बताए। तालमेल हुन नसके प्रदेश नं. १ को राजधानी विराटनगरको हकमा भने कांग्रेस एक्लैले पनि चुनाव जित्नसक्ने अवस्था रहेको उनले जानकारी दिए। ‘‘गठबन्धनलाई निरन्तरता दिने प्रयासमा हामी छौँ। ५ दलीय मात्र नभई ७ दलीय गठबन्धन निर्माण हुने अवस्था छ भनेपनि हामी पछि हट्दैनौँ। त्यसका लागि ढोका खुल्ला छ,’’ उनले भने, ‘‘तर, कुनै कारणवश भोलिका दिनमा तालमेल गरेर जानसक्ने अवस्था रहेन भनेपनि विराटनगरमा हामी सजिलै जित्छौं। हाम्रो पकड राम्रो छ।’’

नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरका लागि हाल दीपक चापागाईं, भीम पराजुली, नागेश कोइराला, अमृत अर्याल र डिला संग्रौला लगायतका नेताहरूको नाम चर्चामा छ। नेकपा माओवादीबाट भोगेन्द्र यादव र नमिता न्यौपाने तथा जसपाबाट अमरेन्द्र यादव, जयराम यादव, उमेश यादव, भुराज राई, भरत दाहाल र तेजलाल कर्ण मेयरको दौडमा छन्। यता नेकपा एमालेबाट रामलाल साह, बावुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम अघिल्लो हप्ता सिफारिश नै भईसकेको छ। मेयरको टिकटको अन्तिम टुङ्गो भने केन्द्रिय कमिटीले लगाउने बताईएको छ।

महानगर प्रमुखको टिकट जसले पाएपनि मुलभुत रुपमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग हुने एमाले मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताए। आउँदो स्थानीय तहको निर्वाचनमा माओवादी र एकीकृत समाजवादी बाहेकका दलहरूसँग चुनावी तालमेलको सम्भावना रहेको भन्दै अध्यक्ष पोखरेलले एमालेको कार्ययोजना र दृष्टिकोण नै जित्ने प्रमुख आधार रहेको जानकारी दिए। ‘‘विराटनगर एमालेको गढ हो। पछिल्ला परिस्थितिहरूमा कतिपय अवस्थाहरूमा हामीबीच एकता भएन, पार्टीमा अन्तरविरोध सिर्जना भए। हाम्रो त्यही विवादले कांग्रेसले जितेको हो,’’ उनले भने, ‘‘हामी एक हुने बित्तिकै हामी चुनाव जित्छौँ। यसपटक त हामीलाई झन सजिलो छ। हाम्रा विरोधीहरू सबै एकातिर छन्।’’

प्रदेश नं. १ को एकमात्र महानगरपालिकाको चुनाव जित्न जति कठिन एमालेलाई छ, त्यति नै कठिन चुनावी तालमेल मिलाउन गठबन्धनका अन्य दलहरूलाई पनि छ। विराटनगरको मेयरमा जसपाको दाबी, जसपाको प्रभाव र २०७४ सालको मतपरिणामका कारण गठबन्धनमा जसपालाई बायकट गरेर जानसक्ने अवस्था छैन। जसपा पनि मेयरको दाबीबाट पछि हट्ने अवस्थामा छैन। गठबन्धनबिच तालमेलको वातावरण सिर्जना हुन नसके जसपा एक्लै चुनाव लड्न तयार रहेको जसपाका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले बताए। ‘‘हामी सकेसम्म गठबन्धन गरेर सर्वसम्मतिमै अघि बढ्ने रणनीतिमा छौं। तर, त्यो अवस्था बन्न सकेन भने हामी कसैलाई पर्खिदैनौं। हामी एक्लै लड्छौं,’’ उनले भने, ‘‘विगतमा पनि हामीलाई राम्रै भोट आएको हो। २०७४ सालको निर्वाचनमा ११ वडामा हाम्रो उम्मेदवारी हुँदा हामीले ६ वडा जितेका थियौं। अहिले त अवस्था पनि फेरिएको छ। हाम्रो प्रभाव र पकड पनि बलियो भएको छ। यसपटक १९ ओटै वडामा हाम्रो उम्मेदवारी रहन्छ। यसपटक मेयरको उम्मेदवारीबाट भने पछि हट्दैनौँ।’’

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले ७ ‌ओटा वडा जित्दा जसपाले ६ वडा जितेको थियो। कांग्रेसले जितेका अधिकांश वडामा प्रमुख प्रतिस्पर्धी जसपा नै थियो। प्राविधिक कारणले धेरै मत बदर भएपछि त्यसबेला जसपाले पराजय व्यहोर्नुपरेको थियो। यसपटक जसपाले विरगञ्ज र विराटनगरको मेयरमा दाबी गरेको छ। त्यस अर्थमा यसपटक जसपाको दरिलो प्रतिस्पर्धा भने कांंग्रेससँग हुने देखिन्छ। यसबाहेक गठबन्धनबाट माओवादी केन्द्रको दाबी उप–मेयर मात्र भएको र कांग्रेस मेयर र उपमेयर दुवै छाड्न तयार नरहेको अवस्थामा माओवादी र कांंग्रेसबिच सहमति नभए जसपा र माओवादी केन्द्रबिच तालमेलको सम्भावना पनि बलियो रहेको दलका नेताहरू बताउँछन्। २०७४ सालको निर्वाचनमा पनि माओवादी र फोरमले मेयर र उप–मेयरमा तालमेल गरेको थियो।

यस्तो थियो २०७४ सालको अंकगणित

२०७४ सालको निर्वाचनमा विराटनगरको मेयर र उपमेयरमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो। कांग्रेसका भीम पराजुली २३ हजार ३१ मतसहित विजयी हुँदा दोस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए। तेस्रो भएका तत्कालिन संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए।

विराटनगर महानगरपालिकामा ०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको आधारमा कांग्रेसको मत १६ हजार ७ सय ६६ थियो। यस्तै, एमालेको १६ हजार २ सय १८ र संघीय समाजवादी फोरमको मत लगभग ११ हजार थियो। विराटनगर महानगरपालिकामा अघिल्लो निर्वाचनको तुलनामा हाल १९ हजार ३ सय ८१ जना मतदाता थपिएका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार मतदाताको संख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेको छ। २०७४ सालको निर्वाचनमा भने विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved