मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै, मधेशमा सार्वजनिक बिदा

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरूको कथन रहेको छ। वर्षभरि खेतीपाती राम्रो हुन सकोस् भन्ने कामनासाथ सन्तुलित वर्षा होस् र हिलोमा धसिएर मुख्य फसल धान रोपाइँ गर्न पाइयोस् भन्ने सन्देश को लागि आज हिलो खेल्ने चलन पनि छ।

मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै, मधेशमा सार्वजनिक बिदा

जनकपुरधाम। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा कक्षा ८ मा अध्ययनरत मुकेश झा आज (शुक्रवार) बिहान सुतिरहेकै बेला हजुरआमाले शीरमा पानी छोपिदिँदा उनको निद्रा खुल्यो ।

लगतै उनलाई घरका आफूभन्दा माथिका र छिमेकका अग्रजले पनि शीरमा पानी हालेर आशिष् दिए। परम्पराको बारेमा सामान्य बुझ्न थालेका १४ वर्षीय किशोर मुकेशलाई अनौठो लागिरहेको थियो । तर, परम्परा भन्दै उनले रमाइलो माने ।

लगत्तै उनी बुबा मनोज झाको साथमा बगैँचातर्फ लम्के । बुबाको हातमा पानीले भरिएको बाल्टी थियो । उनले पनि ग्यालेन बोके । बगैँचामा पुगेर बुबासँगै बोटबिरुवामा पानी हाले ।

समृद्ध संस्कृतिको रूपमा चिनिने मिथिला संस्कृतिका चाडपर्वको पनि आफ्नै महत्त्वहरू छ। मिथिलामा मनाइने पर्वहरूको पनि वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको पाइन्छ। यस्तै पर्वहरू मध्ये आज जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा मनाइरहेको पर्व जुडशितल रहेको छ।

मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशितल पर्व मनाइँदै छ। वैशाख सङ्क्रान्तिको भोलिपल्ट मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलो पानी लगाउने गर्छन्। यसअघि मान्यजनबाट बिहान हुने बित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ।

वैशाख १ गते अर्थात् नयाँ वर्षको प्रारम्भसँगै दुई दिन मनाइने यो पर्वमा आज श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शीरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशीर्वाद दिएर मनाइने चलन भए अनुसार आज बिहानै बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किँदै आशीर्वाद दिएर जुडशितल पर्व मनाईँदैछ।

नयाँ वर्षमा मनाइने ‘जुडशितल’ पर्वको पहिलो दिन हिजो ‘सतुवाइन’ सम्पन्न गरिएको थियो। पहिलो दिन अर्थात् ‘सतुवाइन’ मनाइँदा अत्यन्त गुणकारी मानिने जौँ र चनाको सातु तथा सर्बत खाने, ख्वाउने मैथिल परम्परा छ। यस दिन सातु र सर्बत दान गर्ने पनि मैथिल चलन छ।

पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शीरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन्।

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरूको कथन रहेको छ। वर्षभरि खेतीपाती राम्रो हुन सकोस् भन्ने कामनासाथ सन्तुलित वर्षा होस् र हिलोमा धसिएर मुख्य फसल धान रोपाइँ गर्न पाइयोस् भन्ने सन्देश को लागि आज हिलो खेल्ने चलन पनि छ।

होली पर्वमा रङ्ग अबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलो पानी दल्ने परम्परा रहेको छ।

क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर मैथिल ब्राह्मण लालबाबु झाले गर्मी मौसमको यस पर्वमा चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा रहेको बताउँछन्।

प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका सिनियर अहेव अशोक साहले यस पर्व खाइने शाकाहारी र सुपाच्य भोजन तथा दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउन मद्दत हुने बताए।

त्यस्तै जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ। जुडशितलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्न निस्कन्छन्। यसरी यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved