वैशाख दोस्रो सातासम्म मेलम्चीको पानी सुन्दरीजल ल्याइने

वैशाख दोस्रो सातासम्म मेलम्चीको पानी सुन्दरीजल ल्याइने

काठमाडौँ । उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ।

मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरण गरिएको छ।

गत वर्ष पानी पथान्तरण गरिएको १२ दिनमा पानी आइपुगेको र यो वर्ष पनि दुई साताको हाराहारीमा आइपुग्ने अनुमान गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। शुरुङभित्र ग्यालथुम र सिन्धु र सुन्दरीजलमा शुरुङ सफा गरेर मात्रै पानी सुन्दरीजलमा झारिने उनले बताए। भने, “एकएक दिन त्यहाँ सफा गरेर पनि दुई सातामा पानी सुन्दरीजल आइपुग्न सक्छ।”

ग्यालथुम, सिन्धु र सुन्दरीजलमा शुरुङ सफा गरेर उतैको खोलामा झारिने र सुन्दरीजलमा सफा गरेर पानी बाग्मतीमा झारिने सूचना अधिकारी पन्तले बताए। उनका अनुसार गत वर्षजस्तै नदीहरुमा पानी झार्दा पानीको बहाव केही बढ्न सक्छ। उनले भने, “हामीले सूचना प्रकाशित गरेर स्थानीयवासीलाई सर्तक बनाउनेछौँ।” शुरुङभित्र रहेका विभिन्न अडिटहरुबाट शुरुङको सफाइ बर्सेनि गर्नुपर्ने उनले बताए। गत वर्ष नै सञ्चालनमा आइसकेका सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा समस्या छैन।

सरकारले गत वर्ष फानुनमा नै मेलम्चीको पानी काठमाडौँमा ल्याएर वितरण शुरु गरेको थियो। १० फागुन २०७७ मा मेलम्चीबाट पानी पथान्तरण गरिएकोमा २२ मा सुन्दरीजलमा पानी आइपुगेको थियो। शुरुमा दैनिक १७ करोड लिटरबाट शुरु गरेर दैनिक ५१ करोड लिटर पानी वितरण भइरहेको थियो। १ असारमा मेलम्चीमा आएको बाढीका कारण आयोजनामा पुगेको क्षतिका कारण झण्डै नौ महीनादेखि पानी काठमाडौँ ल्याउन सकिएको थिएन।

आयोजनाले पहुँच सडक निर्माण भएसँगै शुरुङमा गेट नं १, ९ र ३८ मा मर्मत गरेको थियो। वैकल्पिक प्रणालीमा नदीको पानी गेट नं १ बाट भित्र पठाइएको छ र ३८ ले नियन्त्रण गरेको छ। गेट नं ९ बाट पुनः खोलामा पठाइन्छ। गत महिनामा यी तीन गेटमा मर्मत र गेट नं १ देखि ९ सम्म २१० मिटर लम्बाइको शुरुङ सफाइ गरिएको थियो।

मुख्य शुरुङसँग जोडिएको सहायक शुरुङका रुपमा रहेको अम्बाथान अडिटमा सफाइ गरिएको थियो। मेलम्ची नदीबाट शुरु भएको २९८ मिटर लामो सो अडिटबाट भित्र गएर मुख्य शुरुङमा जोडिन्छ। यो शुरुङमा बाढीका कारणले गिट्टी बालुवा र ढुंगा थुप्रिएकोमा यो सफा गरिएको हो।

आयोजना निर्माणकै क्रममा कतिपय संरचनामा अहिले क्षति पुगेकाले अस्थायीरुपमा चलाउने योजना बनाइएको छ। गेट नं १ र ९ मा पहिले विद्युतीय प्रविधिबाट चल्ने उपकरण राखिएको थियो। पहिले गेट तल माथि गर्ने र बन्द तथा खोल्ने काम विद्युतीय प्रविधिमा हुने गरी संरचना बनाइएकामा अहिले अस्थायी रूपमा मानिसले नै गर्नुपर्छ।

आयोजना मर्मतअघि बढाइएसँगै स्थानीयवासीले खोला छेउमा रहेका बस्तीको सुरक्षामा पहिले ध्यान दिनुपर्ने माग गरेका छन्। बाढीका कारण गत वर्ष खोला छेउमा थुप्रिएको गेग्र्यान हटाउनुपर्छ भन्ने स्थानीयले माग गरेका छन्। नदी नजिकै रहेका बस्तीका बासिन्दाले गेग्र्यानका कारण पुनः गत वर्षको नियति दोहोरिन सक्ने आशंका गरेका छन्।

सडक र संरचना मर्मतको काम अहिले अस्थायी रूपमा मर्मत गरेपछि नै आयोजनाको सफाइको काम गरिएको हो। खानेपानी मन्त्रालय र एशियाली विकास बैंकले आयोजनामा पुगेको क्षति अध्ययन गरिरहेको छ। अरू कतिपय निकायले त्यहाँको वातावरण र भौगर्भिक अवस्थाबारे अध्ययन गरिरहेको छ। पहिले अध्ययन प्रतिवेदन आएपछि नै स्थायी संरचना निर्माणमा जान सकिन्छ। यो आवको अत्यसम्ममा अध्ययन प्रतिवेदन आउनसक्ने उनको भनाइ थियो।

दुई दशक पहिले शुरु भएको आयोजना निर्माण अन्तिम काम पुग्दा गत वर्ष १ असारमा आएको बाढीले क्षति पुर्‍याएको थियो। त्यसपछि वर्षाले आयोजनामा थप क्षति पुर्‍याएको थियो। आयोजनास्थलसम्म पुग्ने सडक नै भासिएकाले प्राविधिकसमेत आयोजनास्थल पुग्न सकेका थिएनन्। अस्थायी रूपमा सडक खुलाएपछि पुरिएको अवस्थामा रहेको संरचना खुलाएर पानी पथान्तरण गरिएको हो।

आयोजनाअन्तर्गत समितिले आयोजनास्थलमा रहेका संरचना निर्माण र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको छ। आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलबाट उपभोक्ताको घरघरसम्म पानी पुर्‍याउने संरचनको निर्माण गरिसकेका छन्।

मुख्य पाइप, वितरण पाइप र उपत्यकाका १० ठाउँमा ठूला ट्यांकी निर्माण भएका छन्। निर्देशनालयले बनाएका संरचनाको प्रयोग गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले घरघरमा पानी पुर्‍याउने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved