प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा गाभिएको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित

झण्डै ६ करोड रकम सामाजिक विकास मन्त्रालयका प्रमुख व्यक्तिले कुम्ल्याएको आरोप स्वास्थ्यकर्मीको छ।

प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा गाभिएको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित

जनकपुरधाम। जनकपुरधामस्थित प्रादेशिक अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णयविरुद्ध स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

अस्पताललाई प्रतिष्ठानमा गाभेर सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ्ग कलेजका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रतिष्ठानबाट अस्पताललाई अलग्गै राख्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थीहरू प्रदेश सरकारबिरुद्ध प्रदर्शन गर्दै प्रदेशसभा पुगेका छन्।

जनकपुरधाममा नगरमा प्रदेश सरकारबिरुद्ध नारावाजी गर्दै प्रदेशसभा पुगेका थिए। अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिएसम्म आन्दोलन अझ सशक्त बनाउँदै लग्ने स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन्।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय अस्पताल परिसरमा नै राखिएको छ। मुजेलियामा प्रतिष्ठानले करोडौँको लागतमा विशिष्टिकृत अस्पताल बनाएको दाबी गरेको छ। त्यसमा विशिष्ट किसिमको उपचार हुने बताइएको छ, तर हालसम्म कोभिड–१९का केही सामान्य बिरामीलाई गतवर्ष भर्ना गरिएको बाहेक केही काम भएको छैन।

मधेश प्रदेशमा स्वास्थ्य सम्बन्धी उपकरण, औषधि लगायत सामग्रीहरू आपूर्ति गर्न एकलौटी कब्जा जमाएको विशाल ग्रुपले म्याद गुज्रेका औषधि, म्याद गुज्रिन सीमित समय बाँकी रहेका औषधि, टुटफुट भएका र पुराना उपकरणहरू समेत आपूर्ति गर्दै आएको छ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य आपूर्ति र प्रादेशिक प्रयोगशालामा उक्त ग्रुपले आपूर्ति गरेको सामानमा करोडौको अनियमितता भएको आरोप लागेको छ। प्रतिष्ठानका उपकुलपति डा. रामकेबल साह लगायत समूहले कमसल सामान भित्र्याएर मोटो रकम कमिसन लिने गरेको आरोप आन्दोलनकारीहरूले लगाएका छन्। उनीहरूले दाबी गरेअनुसार प्रतिष्ठानको काम नदेखिएपछि अस्पतालमा समेत कब्जा जमाएका छन्।

प्रतिष्ठानमा तत्काल आवश्यक नरहेका अनेकौ टुटफुट भएका, पुरानालाई रंगरोगन गरिएको उपकरणहरू राखेर नयाँको भुक्तानी गरिएकोले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारिएको छ।

एउटा समूहको नाममा अस्पतालबाट भुक्तानी भएको झण्डै ६ करोड रकम सामाजिक विकास मन्त्रालयका प्रमुख व्यक्तिले कुमल्याएको आरोप स्वास्थ्यकर्मीको छ । प्रतिष्ठानमा रहँदा अस्पताल र जनकपुर नर्सिङ क्याम्पसको अस्तित्व नै समाप्त हुने चिन्ता व्यक्त गर्दै कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरूले आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले तत्काल नै प्रतिष्ठानको मातहतबाट अस्पताललाई मुक्त गर्न नागरिक समाजलाई समेत गुहारेका छन्।

बागमती प्रदेशको मकवानपुरमा रहेको प्रादेशिक अस्पताललाई मदन भण्डारी प्रतिष्ठानबाट हटाउने निर्णय प्रदेश सरकारले गरिसकेको अवस्था रहेको छ। त्यहाँ पनि प्रतिष्ठानमा प्रादेशिक अस्पताललाई गाभिएको थियो। विहिवार देखि प्रादेशिक अस्पताल जनकपुरधाम तथा जनकपुर नर्सिङ क्याम्पस, बचाउ अभियान संयुक्त संघर्ष समितिको ब्यानरमा भएको बिरोध प्रदर्शनमा व्यापक सहभागिता रहेको छ।

अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिएसम्म आन्दोलन अझ सशक्त बनाउँदै लग्ने उनीहरूले जनाएका छन्। अस्पतालको प्रमुख प्रतिष्ठानका निर्देशक(डाइरेक्टर)हुने प्रावधान छ।तर प्रतिष्ठानका भीसी डा.रामकेवल साहले नै प्रमुखको कुर्सीमा बसेका छन्।

आर्थिक ऐनविपरीत राजनीतिक नियुक्ति पाएका पदाधिकारीको नाममा अस्पतालको खाता सञ्चालन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved