स्थानीय निर्वाचन

जनकपुरमा सांसददेखि पूर्वमेयरको दाबी, टिकट पाउन दल बदल्दै

सबैभन्दा बढी लोसपाबाट चार, नेपाली कांग्रेस र जसपाबाट तीन/तीन तथा नेकपा एमाले र एसबाट एक/एक जनाको मेयरमा दाबी छ। नेकपा माओवादी केन्द्र र जनमत पार्टीबाट भने हालसम्म कोही खुलेर आएका छैनन्। यी दलहरूले उम्मेदवार उतार्छन् या कुनै दललाई समर्थन गर्छन् भन्ने हेर्न बाँकी छ।

जनकपुरमा सांसददेखि पूर्वमेयरको दाबी, टिकट पाउन दल बदल्दै

जनकपुरधाम। स्थानीय निर्वाचन नजिकिँदै जाँदा धनुषामा पनि चुनावी सरगर्मी बढ्दै गएको छ। उम्मेदवारका आकांक्षीहरूलाई चुनावको चटारोले छोइसकेको छ। यस्तो अवस्थामा दलहरूले चुनाव केन्द्रित गतिविधि शुरु गरिसकेका छन्।

धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा राष्ट्रिय मान्यता प्राप्त दल सहित ३२ वटा दलहरू दर्ता भएका छन्।

निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दल दर्ता भएका छन्।

चुनावी अभियानसँगै नेताहरूले उम्मेदवार दिने तयारी पनि अघि बढाएका छन्।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा सबभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट ४ जना आकांक्षी देखिएका छन्। त्यस्तै, नेपाली कांग्रेसबाट ३, जनता समाजवादी पार्टी नेपालबाट ३, नेकपा एमालेबाट २ र नेकपा एकीकृत समाजवादी पार्टीबाट १ जना दाबेदार छन्।

नेकपा माओवादी केन्द्र र जनमत पार्टीबाट भने कसैले अहिलेसम्म दाबी गरिसकेको छैन।

२०७४ सालको निर्वाचनमा जनकपुरधामको मेयरमा १७ जना उम्मेदवारलाई पछाडि पार्दै तत्कालीन राष्ट्रिय जनता पार्टी, नेपालका उम्मेदवार लालकिशोर साह निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोज साह रहेका थिए। त्यसैगरी ते्रो स्थानमा नेकपा एमालेका मेयर पदका उम्मेदवार लक्ष्मी नारायण भगत, चौथो स्थानमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विष्णुदेव साह रहेका थिए।

उक्त निर्वाचनमा प्राप्त मतको लेखाजोखासहित निर्वाचनको तयारीमा दलहरू सक्रिय भएर लागि रहेका छन्। शीर्ष नेताहरू पनि आ–आफ्ना जिल्लामा सक्रिय छन्। शीर्ष तहका नेताहरूले प्रदेश राजधानी जनकपुर उप महानगरपालिकाको मेयरमा आफ्ना उम्मेदवारलाई जिताउन सक्रिय छन्। शीर्ष नेतासँगै पार्टीको तर्फबाट मेयरको लागि आफ्नो नाम सिफारिस गरिदिनका लागि निरन्तर छलफलमा छन्।

यसपटक जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि एउटै पार्टीबाट दुईदेखि तीन जनासम्म आकांक्षीहरू देखिएका छन्। सहमति नजुट्दा उनीहरू शीर्ष नेताहरूसँग लबिङका लागि काठमाडौंको दौडधूपमा छन्। त्यस्तै टिकट पाउने सम्भावना नदेखेका अकांक्षीहरू दल परिवर्तन गरेर पनि मेयरको टिकट पाउने होडबाजीमा लागेका छन्।

तुलनात्मक हिसाबले अघिल्लो निर्वाचनभन्दा यसपटकको निर्वाचनमा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा बढी देखिएका छन्। यहाँ एक दर्जन अकांक्षीहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। जनकपुरधाम उपमहानगरपालिकाका मेयर बन्नका लागि प्रदेश सांसददेखि पूर्व मेयर पनि आन्तिरक तयारीमा जुटेका छन्।

वर्तमान मेयर लालकिशोर साह, तत्कालीन महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए। निर्वाचनपछि उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र ठाकुर नेतृत्वमा रहेको राजपा मिलेर जनता समाजवादी पार्टी (जसपा) बन्यो।

तर अहिले जसपाबाट फुटेर पुनः ठाकुरको नेतृत्व लोकतान्त्रिक समाजवादी (लोसपा) बनेको छ। लोसपमा मेयर पदको अकांक्षीहरू धेरै देखेर वर्तमान मेयर साहले कित्ता फेरेका छन्। जसपाबाट उनको उम्मेदवारी निश्चित जस्तै छ। यद्यपि अघिल्लो निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरका प्रत्याशी हाल जसपाका नगर अध्यक्ष विसुनदेव साह पनि उम्मेदवारी दिने बताउँछन्।

‘‘म अघिलो चुनाव पनि लडेकाले पार्टीले प्राथमिकतामा मलाई नै राख्नुपर्छ, म पार्टीको नगर अध्यक्ष पनि हो,” उनले भने। प्राथमिकतामा आफूलाई राख्नुपर्ने अडान लिएका उनले तर पार्टीले गर्ने निर्णयको बाधक भने नबन्ने बताए।

त्यस्तै जसपाबाट मधेश प्रदेशका सदस्य बजरङ्ग यादवले पनि मेयरमा आफ्नो दाबी गरेका छन्। बजरंग मेयरको टिकट आफूले पाए चुनाव जित्ने बताउँछन्।

यता जनकपुरधामको उपमेयर रीताकुमारी मिश्रसहित १२ जना निर्वाचित वडाध्यक्षहरू हाल लोसपामै छन्। लोसपाबाट यसपटकको निर्वाचनमा ४ जना आकांक्षीले टिकटका लागि ‘लबिङ’ थालेका छन्। उपमेयर मिश्रले अब मेयर बनेर जनतालाई दिएको वाचा पूरा गर्ने बताउँछिन्।

त्यस्तै, हाल मधेस प्रदेशको प्रदेशसभा सदस्य रहेका परमेश्वर साहको पनि मेयरमा दाबी छ। जनकपुरधाम–७ का वडाध्यक्ष जानकीराम साहले पनि मेयरकै लागि तयारी गरिरहेका छन् भने लोसपाका नगर अध्यक्ष मनोज चौधरी पनि मेयरकै लागि लागिपरेका छन्।

त्यसैगरी कांग्रेसबाट पूर्वमेयर बजरंगप्रसाद साह सहित ३ जना आकांक्षी छन्। साहसँगै विमलेन्द्र निधि समूहबाट वर्तमान नगरसभापति मनोज साह र उपसभापति राकेशविक्रम साहको नाम पनि चर्चामा छ। उनी उपप्रमुखमा स्वतन्त्रबाटै भए पनि उम्मेदवारी दिने बताउँछन्।

कांग्रेस जनकपुरधामको नगरउपसभापति राकेश आफ्नो दाबी सशक्त रहेको बताउँछन्। यता, मेयर पदका अर्का आकांक्षी मनोज साहले भने आफू अघिल्लो निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेको र निरन्तरको आफ्नो कामबाट अनुभव बटुली सकेको हुँदा पार्टीले फेरि आफूलाई नै टिकट दिने बताए। नगरसभापति साह नगर सभापति मेयरको उम्मेदवार बन्ने परम्पराका कारण आफू नै प्रवल दाबेदार रहेको दाबी गर्छन्।

त्यस्तै जनकपुरधाममा नेकपा एमालेबाट मेयरमा दाबी गर्नेमा उद्योग वाणिज्य संघ मधेस प्रदेशका पूर्वअध्यक्ष शिव शंकर साह हिरासहित दुई जना देखिएका छन्। एमाले नेतृत्वले युवालाई अवसर दिनुपर्ने पक्षमा आफू रहेकोले अवसर पाए स्थानीय तहको निर्वाचनमा जित्ने दाबी उनको छ।

एमालेका युवा नेता उमेश चौधरीले पनि मेयरमा आफ्नो दाबी रहेको बताएका छन्। अघिल्लो निर्वाचनमा पनि आफ्नो नाम सिफारिस भएको बताउँदै उनले यस पटक पार्टीले टिकट दिए निर्वाचन जित्ने बताए।

नेकपा एकीकृत समाजवादी पार्टीबाट जनकपुरधामको मेयर पदका लागि डा. अजय झाको नाम चर्चामा रहेको छ। यद्यपि, नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जनमत पार्टीको जनकपुरमा हालसम्म उम्मेदवारको खासै चर्चा सुनिएको छैन भने कोही खुलेर आएका पनि छैनन्। यी दलहरूले उम्मेदवार उतार्छन् या कुनै दललाई समर्थन गर्छन् भन्ने हेर्न बाँकी छ।

यसै पनि ५ वर्षे कार्यकालमा जनकपुरधाम उपमहानगरले खासै विकास र प्रगति गर्न नसकेको स्थानीयको गुनासो छ। हालका मेयर साहको कार्यशैली नगरवासीलाई चित्त बुझेको छैन भने उनको एकलौटी निर्णयका कारण कार्यालयभित्रकै कर्मचारी र जनप्रतिनिधि समेत असन्तुष्ट छन्। त्यसकारण दोहोरिने उम्मेदवार र नयाँ उम्मेदवार कसले जनकपुरधाम उपमहानगरको बाजी मार्नेछन् भन्ने ३० वैशाखसम्मै कुर्नुपर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved