कांग्रेसले संसदीय समिति बनाउन सकेन

बैठकले चुनावी कमाण्डरका रूपमा उपसभापति पूर्णबहादुर खड्कालाई अघि सारेको छ।

नेपालभ्युज

कांग्रेसले संसदीय समिति बनाउन सकेन

काठमाडौं। नेपाली कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट संसदीय समिति बनाउन सकेन। बैठकको एजेण्डामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न समिति गठन गर्ने कार्यसूची राखिएको थियो।

बैठकले स्थानीय आवश्यकताअनुसार अन्य दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्र, प्रदेश, क्षेत्र र जिल्ला संसदीय समितिले आवश्यता हेरेर निर्णय जानकारी दिए। तर कांग्रेसले अहिलेसम्म ती समितिहरू भने बनाएको छैन।

चुनावी तालमेललाई लिएर कांग्रेसभित्र दुई धार देखिएपछि नीतिगत निर्णय गर्दै तल्लो कमिटीलाई चुनावी तालमेलबारे अन्तिम निर्णय गर्ने अधिकार दिइएको हो। बैठकमा शेखर कोइराला पक्षले खुलेरै गठबन्धनको विपक्षमा अडान राखेको थियो। गठबन्धनको निर्णय तल्लो तहलाई नलाद्न कोइराला पक्षले अडान लिएपछि सभापति शेरबहादुर देउवा रक्षात्मक बनेका थिए। केन्द्रीय कमिटीमा सभापति देउवाको प्रष्ट बहुमत छ। तथापि निर्वाचन केन्द्रित निर्णय भएकाले देउवाले यसलाई बहुमतको आधारमा भन्दा पनि सर्वसमम्मत निर्णय गराएको बताइएको छ।

खड्का चुनावी कमाण्डर

बैठकले चुनावी कमाण्डरका रूपमा उपसभापति पूर्णबहादुर खड्कालाई अघि सारेको छ। निर्वाचनका लागि पार्टीको परिचालन कमिटीको संयोजकमा बैठकले खड्कालाई चयन गरेको हो। खड्काको नेतृत्वमा गठन गरिएको निर्वाचन परिचालन समितिमा अन्य सदस्यहरू सभापति देउवासंगको परमर्शमा खड्काले छान्नेछन्।

खड्कालाई पार्टीभित्र देउवाको उत्तराधिकारीका रूपमा पनि हेर्न थालिएको बेला चुनावी कमाण्डरको जिम्मेवारी पनि दिएका हुन्। गएको मंसिरमा भएको १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित खड्का पार्टीका हरेक गतिविधिमा हाबी देखिन्छन्।

यसैगरी बैठकले स्थानीय निर्वाचनका लागी प्रवक्ता प्रकाशशरण महतको नेतृत्वमा प्रचारप्रसार समिति पनि गठन गरेको छ। महतको नेतृत्वमा गठन गरिएको प्रचारप्रसार समितिमा पनि सभापति देउवासँगको परामर्शमा सदस्यहरू थपिने व्यवस्था गरिएको छ। महत १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि देउवाले उनलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved