महोत्तरीमा एक्लै चुनाव जित्न दलहरूलाई सकस, मधेशवादीलाई झन् गाह्रो

गठबन्धनमा हुने नहुने अस्पष्ट

तर, पछिल्लो राजनीतिक घटनाक्रमले जिल्लामा बलियो सांगठनिक संरचना रहेका मधेशवादी दलहरू नै छिन्नभिन्न छन्। यस्तो अवस्थामा उनीहरू अन्य दलसँग गठबन्धन नगरी चुनाव जित्न सक्ने अवस्थामा छैनन्। 

महोत्तरीमा एक्लै चुनाव जित्न दलहरूलाई सकस, मधेशवादीलाई झन् गाह्रो

जनकपुरधाम। महोत्तरीमा अघिल्लो निर्वाचनमा बलिया देखिएका मधेशवादी दलहरू आन्तरिक कलहमा फस्दा यस पटकको निर्वाचनमा कमजोर हुने देखिएका छन्। गत निर्वाचनमा महोत्तरीका १५ पालिकामध्ये ९ वटामा मधेशवादी दलहरूले कब्जा जमाउन सफल भएका थिए।

तर, पछिल्लो राजनीतिक घटनाक्रमले जिल्लामा बलियो सांगठनिक संरचना रहेका मधेशवादी दलहरू नै छिन्नभिन्न छन्। यस्तो अवस्थामा उनीहरू अन्य दलसँग गठबन्धन नगरी चुनाव जित्न सक्ने अवस्थामा छैनन्।

यस्तोमा पनि महोत्तरीका राजनीतिक दलहरू चुनावी तालमेल र गठबन्धनका विषयमा स्पष्ट हुन सकेका छैनन्। उनीहरूबीच अझै अन्योल कायमै छ। गठबन्धन गर्ने वा निर्वाचनमा एक्लै एक्लै जाने भनेर केन्द्रबाट कुनै निर्णय नआउँदा दलका नेताकार्यकर्ताहरू प्रस्ट रूपमा खुल्न नसकेका हुन्।

खासगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले निर्वाचनमा गठबन्धन गर्नुपर्ने जोडबल गरिरहेका छन्। तर कांग्रेसले चुनावी गठबन्धनका विषयमा सम्बन्धित पालिकाहरूले निर्णय गर्न सक्ने भनेको छ। कांग्रेसका महोत्तरी जिल्ला सभापति नागेश्वर यादवले भने, “पार्टीले अधिकार दिए पनि कसरी जाने भन्ने विषयमा अझै खाका बनाउन सकिएको छैन।”

नेकपा एस र माओवादी केन्द्र चुनावी गठबन्धनमा अडिग रहे पनि नेकपा (एमाले), कांग्रेस र मधेशवादी दलहरू भने आन्तरिक गृहकार्यमा व्यस्त छन्। निर्वाचनलक्षित कार्यक्रममा अगाडि बढ्न केन्द्रबाट सबै दलहरूलाई निर्देशन आए पनि दलहरू चुनावी गठबन्धनको अन्योल हुँदा चुनावलक्षित कार्यक्रमहरू खासै हुन सकेका छैनन्।

यता एमालेले जसपा र लोसपासँग चुनावी गठबन्धन गर्ने संकेत गरेको छ। हरेक ठाउँमा एक्लै लड्न सकिने एमालेले घोषणा गरे पनि एमाले टुक्रिएर बनेको नेकपा एसको उसको टाउको दुखाइ बनेको छ। मधेश प्रदेशमा नेकपा एमालेको अवस्था कमजोर नै छ।

“अहिले नेकपा एमालेले टिकटको आशा देखाएर जसपा, लोसपाबाट नेता कार्यकर्ता तानिरहेको छ तर त्यसले राम्रो परिणाम देला भनेर भन्न सोच्नु गलत हो,” नेकपा एस महोत्तरीका सचिव सोमबहादुर कार्कीले भने।

यता, माओवादी केन्द्र भने तालमेल गर्नैपर्ने मनस्थितिमा छ। सत्ता गठबन्धनमा समीकरण भएअनुसार नै कांग्रेस, नेकपा एस र माओवादी केन्द्रको चुनावी तालमेल रहने बताउँदै पनि आएको छ। “हामी गठबन्धन नै नभए पनि लड्न त सक्छौं, तर तालमेलबाट अझ फाइदा पुग्ने हुँदा गठबन्धनको आवश्यकता महसुस गरेका छौं,” माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेसँग चुनावी गठबन्धन गर्न सक्ने संकेत गरे पनि जिल्ला अध्यक्ष रामबाबु साह भने अश्वीकार गर्छन्। उनले जिल्लाभरि नै लोसपाको संगठनिक संरचना बलियो भएको दाबी गर्दै गठबन्धन गर्न जरूरी नभएको बताए। भने, “जिल्लाका केही कमजोर पालिकाहरूमा भने गठबन्धनको अवस्था आए तालमेल गरौंला नत्र पर्दैन।”

जसपाका अध्यक्ष नागेन्द्रप्रसाद यादवले पनि निर्वाचित जनप्रतिनिधि लोसपामा भए पनि आफूहरूको सांगठनिक संरचना बलियो रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved