काठमाडौंसहित ६ जिल्लामा बर्डफ्लू, ५८ हजार कुखुरा नष्ट गरियो

संक्रमण देखिएका जिल्लाका विभिन्न स्थानहरूमा पूर्ण निसंक्रमणको काम गरिएको छ।

काठमाडौंसहित ६ जिल्लामा बर्डफ्लू, ५८ हजार कुखुरा नष्ट गरियो

हेटौँडा। गत १६ माघयता हालसम्म बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लू रोग देखिएको छ। बुधबार बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रदेशमा बर्डफ्लूको अवस्थाको बिषयमा जानकारी दिएको हो।

बागमतीको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लू रोग फेला परेको छ। यो रोगको संक्रमणका कारण ५८ हजार २६१ कुखुरा, २२ हजार ३४ ओटा अण्डा र ११ हजार ४३९ किलो दाना नष्ट गरिएको छ। मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलका अनुसार संक्रमण देखिएका जिल्लाको विभिन्न स्थानमा पूर्ण निसंक्रमणको काम गरिएको छ।

‘‘अन्यत्र रोग फैलिन नदिन नमूना संकलन र निगरानी पनि गरिराखेका छौँ,’’, कँडेलले भने, ‘‘बर्डफ्लूको समयमै निदान र नियन्त्रणका लागि प्रदेश सरकार मातहत कार्यरत पशु चिकित्सक तथा अन्य कर्मचारीलाई लामो बिदामा नबस्न र जिल्ला नछाड्न भनेका छौं। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा परीक्षणको व्यवस्था मिलाएका छौं।’’ संक्रमण फैलिन नदिन पन्छीको आवतजावत नियमनका लागि नेपाल प्रहरीसंग समन्वय गरिएको, पन्छी ढुवानी चेकिङलाई तीव्र पारिएको र प्रदेशभित्र बर्डफ्लू रोग नियन्त्रणका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानसंग छलफल भैरहेको कँडेलले बताए।

यसैगरी कृषकलाई बर्डफ्लू रोगको छिटो सूचना प्रवाह गर्ने काममा सहजीकरणका लागि टोल फ्री नम्बर व्यवस्था गर्ने प्रक्रिया भइरहेको बताइएको छ। रोग नियन्त्रण गरी थप आर्थिक क्षति हुन नदिन तत्काल आपतकालीन योजना बनाई कार्यक्रम कार्यान्वयन गर्न लागिएको, बर्डफ्लू सम्बन्धी जनचेतनामुलक सामग्री सञ्चार माध्यममार्फत प्रचारप्रसार गरिएको र रोग नियन्त्रणका लागि जिल्लास्तरीय बर्डफ्लू नियन्त्रण समितिको बैठक गरी अन्तर निकाय समन्वय गरिएको मन्त्रालयले जनाएको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले बर्डफ्लूको संक्रमण फैलिन नदिन सबै सचेत हुनु जरुरी रहेको बताए। फार्ममा जैविक सुरक्षाका उपाय अवलम्वन गर्न अनुरोध गर्दै उनले पालेका हाँस, कुखुरा तथा अन्य पन्छीलाई बाहिरी चराचुरुङ्गीको सम्पर्कमा आउन दिन नहुने सुझाव दिए।

‘‘पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गराई स्वस्थ पन्छी मात्र ओसारपसार गराउनु आवश्यक छ’’, सचिव पाण्डेले भने, ‘‘पन्छी ढुवानी गरिसकेपछि सवारी साधन सरसफाई र निसंक्रमण गर्नुपर्छ। फार्म परिसर नियमित निसंक्रमण गर्दै व्यक्तिगत सरसफाईमा ध्यान दिन जरुरी छ।’’

कुनै पन्छी फार्म वा बिक्रीस्थलमा अस्वभाविक पन्छी विरामी परेमा वा मरेमा सम्बन्धित स्थानीय तहको पशुसेवा शाखा, भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय वा मन्त्रालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह समेत गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved