ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : मन्त्री झाँक्री

नेपाली संस्कृतिमा कारबाही नै ठूलो कुरा भएको र यसले राजश्व पनि उठ्ने तथा मान्छेको बानी पनि सुध्रिने उनले बताइन्।

नेपालभ्युज

ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी छन्। ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ। एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ। यसको चेन इफेक्ट थुप्रैलाई परेको हुन्छ। ट्राफिक नियम अटेरी गर्नेलाई त निर्ममतापूर्वक कारबाही गर्नैपर्छ। यसबाट राजश्व पनि उत्पन्न हुन्छ र मान्छेको बानी पनि पर्छ।’’

मंगलबार राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले ट्राफिक अनुशासन महत्वपूर्ण रहेको बताइन्। मन्त्री झाँक्रीको निर्देशनमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत २० थान ह्वील लक र ८८ थान ट्राफिक लाइट प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला कोरिडोरलाई व्यवस्थित गरेर सवारी आवागमनमा प्राधिकरणले सहजीकरणको प्रयास गरिरहेको बताइन्।

यस्तै ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीले नियम उल्लंघन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए। यसअघि दैनिक झण्डै ८ देखि १० लाख रुपैयाँ राजश्व संकलन हुने गरेकोमा हाल १८ लाखसम्म राजश्व संकलन भइरहेको बताउँदै मन्त्रालयमार्फत प्राप्त थप उपकरणले यो अनुपात बढ्ने उनको भनाइ थियो।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नारायणप्रसाद भण्डारी लगायतको उपस्थिति थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved