‘जय मधेश’ भन्ने पार्टी नै एमाले हो, एमालेले नै मधेशको जय गर्ने होः ओली

नेपालभ्युज

‘जय मधेश’ भन्ने पार्टी नै एमाले हो, एमालेले नै मधेशको जय गर्ने होः ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘जय मधेश’ भन्ने भन्ने पार्टी नै एमाले भएको जिकिर गरेका छन्।

मंगलबार काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

मधेशले समृद्धि खोजेको उल्लेख गर्दै उनले सो काम एमालेले मात्रै पूरा गरेर देखाउने बताए। एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि काम गरेको उनको दाबी थियो। अध्यक्ष ओलीले भने, “आगामी इलेक्सनमा हामी बहुमत ल्याउछौं। र, ल्याउनुपर्छ यस देशका लागि। म साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामीले बहुमत ल्याउनपर्छ, ल्याउने गरी लाग्नुस। देश र जनताको हितका लागि पनि एमालेले बहुमत ल्याउनुपर्छ। समृद्ध नेपाल बनाउनुपर्छ। यहाँ शिव पटेलजीले जय ‘मधेश भन्ने पुरानो बानी छ भन्नुभयो। अब जय मधेश भन्ने नै एमालेले हो। मधेशको जय गर्नै एमालेले हो। मधेशले समृद्धि खोजेको छ, त्यसको नेतृत्व एमालेले गर्छ।”

अध्यक्ष ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे। सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरूको हित नहुने भन्ने हुनै नसक्ने उनको तर्क थियो। अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरूको लहर नै चलेको उल्लेख गर्दै उनीहरूलाई आफ्नो पार्टीले देशको हितमा काम गरेकोमा सन्तुष्टि मिल्ने बताए।

“म सबै साथीहरूलाई ढुक्क हुन आग्रह गर्दछु। आफ्नो राजनीतिक भविष्य के हुन्छ भन्ने होइन्। देशकै राजनीतिक भविष्य सुदृढ हुन्छ भने, देशको सीमा सुरक्षा हुन्छ भने, देशको सार्वभौमसत्ता सुरक्षा हुन्छ भने, स्वाधिनता र स्वतन्त्रता सुरक्षित हुन्छ भने, राष्ट्रिय हितहरूको सुरक्षा हुन्छ भने नेपालको लोकतन्त्रको सुरक्षा हुन्छ भने यस्तो स्थितिमा हाम्रा हितहरू सुरक्षित नहुने भन्ने हुँदैन। सिंगै देश सुरक्षित हुन्छ। सिँगै देशका हितहरू सुरक्षित हुन्छन। र, हामी सबै सुरक्षित हुन्छौं। त्यसकारण म साथीहरूलाई ढुक्क भएर काममा लाग्न, अगाडि बढन हार्दिक आग्रह गर्दछु। कसैले पनि किन एमालेमा प्रवेश गरिएछ भन्ने हुँदैन।”

समाजवादी जनता पार्टी नै एमालेमा समाहित गरेका पूर्वमन्त्री प्रेमबहादुर सिंहले केपी ओलीजस्तो दूरदृष्टि र राष्ट्रवादी नेताको नेतृत्वमा राष्ट्र निर्माणका काममा समाहित हुन एमाले प्रवेश गर्नुपरेको बताए। त्यस अवसरमा उनले आफ्नो पार्टी र आफ्नो प्रवेशले एमालेलाई झनै सुदृढ बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved