नेपालको खराब ब्याटिङ जारी, यूएईसँग लज्जास्पद हार 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो हालसम्मकै सबैभन्दा कम स्कोर हो। यसअघि २०१९ मा यूएईसँगको खेलमा नेपाल ११३ रनमा अलआउट भएको थियो।

नेपालभ्युज

नेपालको खराब ब्याटिङ जारी, यूएईसँग लज्जास्पद हार 

काठमाडौं। त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले आयोजक यूएईसँग ९९ रनको लज्जास्पद हार व्योहरोको छ। २०३ रनको मध्यम लक्ष्य पाएको नेपाल मात्र १०३ रनमा अलआउट भयो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो हालसम्मकै सबैभन्दा कम स्कोर हो। यसअघि २०१९ मा यूएईसँगको खेलमा नेपाल ११३ रनमा अलआउट भएको थियो।

निकै खराब ब्याटिङ गरेको नेपालका लागि कुनै पनि ब्याटरले गतिलो इनिङ खेल्न सकेनन्। ५० ओभरको खेलमा टिक्न मात्रै सकेको भए पनि एकदिवसीय म्याचमा यो सजिलै पूरा हुने लक्ष्य हो। तर गैरजिम्मेवारपूर्ण ब्याटिङका कारण नेपालको इनिङ खराब रह्यो।

नेपालका ओपनर कुशल मल्ला ५, पवन शराफ २, दीपेन्द्रसिंह ऐरी शून्य र रोहित पौडेल ९ रनमा आउट हुँदा मात्र २१ रन जोड्ने क्रममा नेपालले शुरुआती चार विकेट गुमाइसकेको थियो। यसपछि ज्ञानेन्द्र मल्लले ६५ बलमा ३० रन जोड्दै इनिङ जोगाउने प्रयास गरेका थिए। तर अन्य कुनै पनि ब्याटर टिक्न सकेनन्।

यसपछि आरिफ शेख र सोमपाल कामीले १५-१५ रन जोड्दा विनोद भण्डारी १२ रनमा आउट भएका थिए। त्यस्तै करण केसी ४ रनमा आउट हुँदा नेपाल ३६ औँ ओभरमा १०३ रनमै समेटियो।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई नेपालको कसिलो बलिङसामु ५० ओभरमा ९ विकेटको क्षतिमा २०२ रन जोडेको थियो। कप्तान सन्दीप लामिछानेले १० ओभरमा मात्र ३२ रन खर्चेर यूएईको तीन विकेट झारेका थिए।

त्यसैगरी सोमपाल कामी र करण केसीले २र२ र आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिएका थिए। यूएईको तर्फबाट पूर्वकप्तान रोहन मुस्तफाले सर्वाधिक ६० रन जोडेका थिए।

यो सिरिजको अघिल्लो खेलमा पनि यूएईसँग १६९ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपालले लज्जास्पद हार व्यहोरेको थियो। यो सिरिजको अन्तीम खेलमा भोलि मंगलबार नेपालले पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved