स्थानीय निर्वाचनमा आफ्नो पार्टीले ७० प्रतिशत ठाउँमा चुनाव जित्ने ओलीको दाबी

नेपालभ्युज

स्थानीय निर्वाचनमा आफ्नो पार्टीले ७० प्रतिशत ठाउँमा चुनाव जित्ने ओलीको दाबी
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा ६० देखि ७० प्रतिशतसम्म स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गरे।

एमालेलाई निर्वाचन जित्नका लागि कसैको बैशाखी टेक्नुनपर्ने पनि बताए। अध्यक्ष ओलीले आफूहरू प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा रहेकाले प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गरे। भने, “हामीले यसको बैशाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिड्न सक्छौँ भन्ने होइन। हामी हिड्न सक्छौँ। हामी अगाडी बढ्न सक्छौँ। हामी चुनाव लड्न सक्छौँ। हामी मज्जाले जित्न सक्छौँ। हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्न सक्छौँ। सिटको हिसाबले, पालिकाको हिसाबले, अनेक हिसाबले पनि ६० देखि ७० प्रतिशत हामी एक्लै जित्न सक्छौँ।”

अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्तिबीच दुई ध्रुवमा रहेको बताए। उनले सत्तारुढ पाँचदलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने उल्लेख गरे। आफूहरू भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको उनले जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरू पतित भएको संज्ञा दिए। भने, “ताजा जनादेशमा जाने कुरालाई प्रतिगामी भन्दै केही स्वार्थी तत्वहरू कम्युनिष्ट आन्दोलन ढाल्न, कमजोर पार्न, विभाजित गर्न र सिध्याउन लागे। उनीहरू पतित भए। हामीले देखेका छैनौँ पतन कसरी हुन्छ ? यो पनि पतन होइन भने के लाई पतन भन्छौँ हामी ? यो पनि कम्युनिष्टबाट यिनीहरू सिद्धिएका होइनन् भने कम्युनिष्ट केलाई भन्छौं त हामी? कम्युनिष्ट पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने, प्रतिक्रियावादीहरू बोक्ने, प्रतिक्रियावादीको सरकार बनाउने, तिनका तलुवा चटुवा भएर, तिनका पछिपछि कुदेर यत्रायत्रा लोकपापका दुनाहरू बोकेर पापका दुनाहरू थाप्दै हिँडेका छन्। मलाई पनि अलिकति प्रसाद भनेर थाप्दै हिडेका छन्। त्यस्तालाई पनि हामीले कम्युनिष्ट भनेर ठान्छौँ, त्यो गलत हो।”

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन अगाडि अखिल नेपाल महिला संघको सदस्य संख्या १० लाख पुर्‍याउने‍ बताए। पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म संगठन विस्तार गर्न उहाँले निर्देशन दिए। उनले नेकपा(एमाले)मा पार्टी प्रवेशको लहर चलेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved