सभामुखको भूमिकामाथि हरेक दिन प्रश्न, के भन्छन् पूर्वसभामुख ?

कांग्रेस सांसद प्रदीप पौडेलले त सभामुख घिमिरे सत्तापक्षको इशारामा चलेको आरोप लगाए । “सभामुख सत्तापक्षको इशारामा चल्नुभयो । संसदीय अभ्यासमा यो हुनु हुँदैन,” उनले भने ।

सभामुखको भूमिकामाथि हरेक दिन प्रश्न, के भन्छन् पूर्वसभामुख ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे सत्तापक्षको ‘इशारा’मा चलेको आरोप लगाएको छ । सुनिन्छ— कांग्रेसभित्र सभामुख घिमिरेमाथि महाभियोग लगाउनेसम्मको छलफल भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकपछि कांग्रेसले यो आवाज अझ ठूलो बनाएको छ । यसअघि पनि कांग्रेसले बोल्ने समय नपाएपछि सभामुखको भूमिकामाथि प्रश्न उठाएकै थियो ।

त्यसो त आजको बैठकमा सभामुख र कांग्रेस सांसदबीच दोहोरी नै चल्यो । बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बोल्ने तयारी गरेर आएका थिए तर, समय पाएनन् । सभामुख घिमिरेले संसद्‌को गतिरोध अन्त्यको लागि सत्तापक्षको जतिकै प्रतिपक्षको पनि भूमिका हुने भन्दै बोल्न समय दिन नसक्ने बताए ।

बैठकको कारबाही सुरु भएर सभामुख घिमिरेले शून्य, विशेष र आकस्मिक समय नभएको जानकारी गराउनेबित्तिकै उठेका कांग्रेस सांसद त्यसबेला अझ चिढिए, जतिबेला बारम्बार हात उठाइरहँदा पनि बोल्ने समय पाएनन् ।

सभामुख घिमिरेले बोल्ने वातावरण बनाउन सत्तापक्षको मात्रै नभइ प्रतिपक्षको पनि उत्तिकै भूमिका रहेको बताउने गरेका छन्, जुन आजको बैठकमा पनि दोहोर्‍याए । सँगै उनले ‘सभामुखले बोल्न दिएन भनेर प्रचार नगर्न’ सुझावसमेत दिए ।

तर, कांग्रेस सांसदहरूले सदन प्रतिपक्षको हुने भन्दै उभिरहे । सभामुख घिमिरेले समस्या समाधानका लागि कार्यदलले काम गरिरहेको भन्दै बस्न आग्रह गरिरहे । अन्तत: कांग्रेस सांसदहरू बसेनन् र सभामुख घिमिरेले कार्यसूचीमा रहेको सबै कार्यक्रम हटाउँदै जेठ १३ गते बिहान ११ बजेका लागि बैठक आह्वान गरे ।

संसद् बैठकबाट बाहिरिँदै गर्दा कांग्रेस सांसद सभामुखमाथि आक्रोशित देखिए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, “प्रतिपक्ष उभिँदा बोल्न दिनु सभामुखको कर्तव्य हो । उहाँले ठीकसँग कर्तव्य निभाउनुभएन ।”

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सभामुख घिमिरेले अलोकतान्त्रिक काम गरेको बताए । “प्रतिपक्षलाई संसद्‌मा बोल्न नदिनु लोकतान्त्रिक होइन । अलोकतान्त्रिक काम भयो । प्रतिपक्ष उभिएको बेला सदन चल्दैन,” उनले भने ।

कांग्रेस सांसद प्रदीप पौडेलले त सभामुख घिमिरे सत्तापक्षको इशारामा चलेको आरोप लगाए । “सभामुख सत्तापक्षको इशारामा चल्नुभयो । संसदीय अभ्यासमा यो हुनु हुँदैन,” उनले भने ।

‘सभामुख तटस्थ हुनुपर्छ’

पूर्वसभामुख तारानाथ रानाभाट सभामुखको भूमिका जहिले पनि तटस्थ हुनुपर्ने बताउँछन् । “मैले व्यक्तिगत रूपमा ‘क्रिटीसाइज’ गर्ने कुरा रहँदैन । तर, सभामुखको भूमिका प्रचलित कानून-कानूनअनुरूप तटस्थ हुनुपर्छ भन्नेमा दुईमत रहेन,” उनले भने ।

परराष्ट्रमा नराम्रो सन्देश नजाओस्, जनजीविकाका कुरा नछुटुन् भनेर सभामुख सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, “त्यसमा दल तथा सांसदहरू पनि सचेत हुनुपर्छ । संसद्‌को गरिमा बढाउने, जोगाउने जिम्मा सबैको हुन्छ न कि सभामुखको मात्रै ।”

अर्का पूर्वसभामुख अग्निप्रसाद सापकोटा अहिलेका सभामुखको भूमिकाबारे टिप्पणी गर्नुपर्छ भन्ने ठान्दैनन् । आफूले धेरै टिप्पणी नगर्ने बताउँदै उनले भने, “मलाई उहाँ (सभामुख देवराज घिमिरे) को भूमिकामाथि टिप्पणी गर्नुपर्छ भन्ने ठान्दिनँ । त्यस्तो लाग्दैन मलाई ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved