कांग्रेसले गरायो तीन विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपालभ्युज

कांग्रेसले गरायो तीन विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तीन विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ ।

शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको हो । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुगेको कांग्रेस नेताहरूको टोलीले प्रधानमन्त्रीको संसदीय समितिको टीओआर, कैलास सिरोहिया पक्राउ र गृहमन्त्री रवि लामिछानेको प्रतिनिधि सभाको भाषणबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार प्रधानमन्त्री प्रचण्डले तीनवटै विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् । “तीनवटै वियमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,” लेखकले भने ।

अहिले उच्चस्तरीय संसदीय छानबिन समितिको टीओआर (कार्यादेश) टुङ्ग्याउने कार्यदल बनेको छ । तर, कार्यादलमा सहमति जुटेको छैन । यसपछि शीर्षस्थ नेताहरूको बीचमा यसबारे छलफल भएको हो ।

त्यसो त अहिले टीओआरमा राख्ने भाषामा कुरा मिलेको छैन । कांग्रेसले टीओआरमा नै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने सर्त राखेको छ भने सत्तापक्षले मानेको छैन । यसमा कुरा मिल्यो भन्ने प्रश्नमा लेखकले भने, “व्यक्ति वा संस्था मुख्य कुरा होइन । मुख्य कुरा भनेको सहकारीको पैसा अपचलन हो । त्यसबारे छानबिन हुनुपर्छ भन्ने हो । त्यसमा सकारात्मक कुरा छ । समिति बनाएर नै जाने कुरा छ ।”

यस्तै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको छ । यसमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको नेताहरूले बताएका छन् ।

सिरोहिया गत मङ्गलबार पक्राउ परेका छन् । अहिले उनी धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनलाई आज जिल्ला अदालत, धनुषा पुर्‍याइएको छ । यसअघि अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कांग्रेसले संसद्‌को रोष्ट्रममा उभिएर गृहमन्त्री लामिछानेले दिएको अभिव्यक्तिबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

यसअघि गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापालाई विभिन्न आरोप लगाएका थिए । उनले ‘सूचना बेच्ने’देखि ‘बाख्रा पालनमा घोटाला गरेको’लगायतका आरोप लगाएका थिए । कांग्रेसले त्यो पुष्टि गर्न चुनौती दिएको छ ।

कांग्रेसले यस सम्बन्धमा प्रधानमन्त्रीको समेत जवाफ मागेको सचेतक लेखकले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved