काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले बंगलादेशविरुद्धको खेलमा नेपाली टोलीले उच्च आत्मविश्वासका साथ खेल्ने बताएका छन् ।
बंगलादेशलाई हराउन सकिएमा ‘सुपर- ८’ पुगिन्छ भन्ने विश्वास राखेर प्रतिस्पर्धा गर्ने बताए । यद्यपि, ‘सुपर-८’ मा पुग्ने नेपालको सम्भावना समाप्त भइसकेको छ ।
‘हामीले हिजो दक्षिण अफ्रिकाविरुद्धको खेलमा लाइन क्रस गर्यौँ (जित्यौँ) भन्ने कल्पना लिएर नै बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछौँ’, देशाई भन्छन्, ‘भोलिको खेल जितेमा ‘सुपर-८’ मा छनोट हुनेछौँ भन्ने मनस्थिति लिएर खेल्नेछौँ र जित्ने छौँ ।’
नेपाल र बंगलादेशबीच सोमबार बिहान ५:१५ मा खेल हुँदैछ । त्यसअघि आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा देशाईले नेपाली टोलीको ब्याटिङ क्षमता हालसम्म देखिएको भन्दा बढी रहेको बताउँदै बंगलादेशविरुद्धको खेलमा त्यो प्रस्तुत हुने विश्वास पनि व्यक्त गरे ।
उनले टोलीमा केही परिवर्तनको संकेत गरे । तर, नयाँ खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यबाट मात्र नभइ जितको उद्देश्यबाट त्यस्तो हुनसक्ने उनको भनाइ छ ।
‘हाम्रो छनोटमा बंगलादेशसँगको खेलले कुनै असर गर्दैन । त्यसैले क्षमतावान खेलाडीलाई अवसर दिने बारे पनि हामीले सोचेका छौँ’, उनले भने, ‘तैपनि, बंगलादेशको बलियो टोलीको विरुद्ध नेपाललाई सहयोग दिन सक्ने कुनचाहिँ खेलाडीलाई समावेश गर्न सकिएला भनेर गृहकार्य भइरहेको छ ।’
भोलिको खेलमा बंगलादेशलाई सुपर एट पुग्न जित्नै पर्ने दबाब छ । तर, नेपाल भने समूह चरणबाटै बाहिरिएकाले दबाबमुक्त छ ।
प्रि–म्याच कन्फ्रेन्समा दक्षिण अफ्रिकाविरुद्ध नेपालले इतिहास रच्नबाट गुमाएको अवसर पनि चर्चाको विषय बनेको थियो ।
सधैँ हसिलो देखिने मोन्टी केही भावुक थिए । निकै नजिक पुगेर ‘सुपर-८’ को दौडबाट नेपाल बाहिरिएकोले पनि होला उनलाई आफ्नो भावना सम्हाल्न कठिन परिरहेको थियो ।
‘यो एकदम रोचक कुरा हो । जबसम्म एक टोलीले लाइन क्रस गर्दैन, तबसम्म उसलाई असफल राष्ट्रको रुपमा हेरिन्छ । नेपाल जस्तो एसोसिएट राष्ट्रले टेस्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध कहिले प्रतिस्पर्धा गरेको थिएन’, प्रशिक्षक देशाईले भने, ‘मलाई नेपाली टोलीको क्षमता त्योभन्दा धेरै भएको थाहा छ । तर, यदि खेलप्रेमीको रुपमा मात्र भन्ने हो भने त्यो खेलबाट नेपालले एउटा छाप छोड्न सफल भएको छ । विश्व क्रिकेट, टेस्ट राष्ट्रले नेपालको क्षमता थाहा पाए ।’
बंगलादेशसँगको भोलिको खेलमा टोलीको मानसिक क्षमताको पनि परीक्षा हुने देशाईको भनाइ छ ।
Facebook Comment
Comment