संसदीय छानबिन समिति

कार्यदल बनाएर सत्तापक्षले ‘अलमल्याउन’ मात्रै खोजेको कांग्रेसको आरोप, सत्तापक्षको प्रतिवाद

जे होस्, यसैगरी यतिकै चलाइरहने कुरा भने रहँदैन । कुनै न कुनै मोडमा गएर सहमति नगरी हुनेवाला छैन । झन् अब बजेट (जेठ १५) को सन्दर्भ पनि छ । सदनबाट नीति तथा कार्यक्रम नै पनि पारित भएको छैन । आफूअनुकूल सहमति नभए सदन चल्न नदिने कांग्रेसको शङ्खघोष कायमै छ । 

नेपालभ्युज

कार्यदल बनाएर सत्तापक्षले ‘अलमल्याउन’ मात्रै खोजेको कांग्रेसको आरोप, सत्तापक्षको प्रतिवाद

काठमाडौं । उच्चस्तरीय संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्ग्याउन गठित कार्यदलमा थप नयाँ प्रगति भएको छैन । आजको बैठक पनि निष्कर्षविहीन नै सकियो । फलत: आजै बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा कांग्रेसले अवरोध जारी राख्यो र नीति तथा कार्यक्रम पारित गर्ने सरकारको योजना खत्तम भयो ।

बिहान बसेको कार्यदलको बैठकमा कांग्रेसले नयाँ प्रस्ताव पेश गर्‍यो तर, सहमति जुटेन । सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम टीओआरमा नै उल्लेख गर्नुपर्ने अडान राख्दै आएको कांग्रेसको नयाँ प्रस्तावमा भनिएको छ, “… गोरखा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशन संलग्न देखिन्छन्, उनीमाथि कानूनबमोजिम कारबाही गर्ने ।”

सत्तापक्षले कांग्रेसको प्रस्तावको ठीक उल्टो; टीओआरमा गृहमन्त्री लामिछानेको नाम उल्लेख हुनै नहुने अडान कसेको छ । गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नै नहुने अडानमा रहेको सत्तापक्षलाई कांग्रेसको नयाँ प्रस्ताव कहाँ स्वीकार्य हुन्थ्यो । जबकि अहिलेका गृहमन्त्री लामिछाने उनै गोरखा मिडिया प्रालिका प्रबन्ध निर्देशक हुन् ।

यसपछि आजको बैठक सकियो । कार्यदलका सदस्यहरूको दैनिकी बैठक बस्ने,आ-आफ्नो अडान दोहोर्‍याउने र बिनानिष्कर्ष उठ्ने भएको छ । सहमति नजुट्नुमा सत्तापक्ष कांग्रेसको ‘फल्ट’ देख्छ भने कांग्रेस सत्तापक्षको । अहिले विषय यही वरिपरि घुमिरहेको छ । फलत: कार्यदल निष्कर्षमा पुग्न सकेको छैन, टीओआर बन्न सकेको छैन ।

यो क्रम र प्रक्रियालाई कांग्रेसले ‘सत्तापक्षल अलमल्याउन मात्रै खोजेको’ रूपमा बुझेको छ । कांग्रेसका एक पदाधिकारी नेपालभ्युजसँग भने, “हामीले लचकता अपनाएकै हौँ । विकल्पसहितका प्रस्तावहरू लिखित रूपमै लगिरहेका छौँ । तै पनि सत्तापक्ष आफ्नो अडानबाट टसमस भएको छैन । उसले कुनै न कुनै रूपमा अलमल्याउन मात्रै खोजेको देखिन्छ ।”

सत्ता पक्षले अलमल्याउँदै नीति तथा कार्यक्रम पारित गर्ने र बजेट पेस हुने वातावरण बनाउने तर त्यसपछि संसदीय समितिको टिओआरमा कहिल्यै सहमतिमा नआउने रणनीति बनाइरहेको कांग्रेसका नेताहरूको बुझाइ छ ।

कांग्रेसका ती पदाधिकारी भने कांग्रेस आफ्नो अडानबाट कुनै पनि हालतमा ‘ब्याक’ नहुने दोहोर्‍याउँछन् । आफूहरूको अडान सहकारी पीडित, अधिनायकवादी बाटोमा हिँड्न खोजिरहेको सरकार र समग्र मुलुकका लागि भएको ती नेताको जिकिर छ । उनी भन्छन्, “हामी हाम्रो अडानबाट पछाडि हट्दैनौँ । त्यो हाम्रो बटमलाइन हो ।”

कार्यदलको आजको बैठकमा कांग्रेसले राखेको नयाँ प्रस्तावमा के छ ?

कार्यदल सदस्य नरहे पनि पार्टीका तर्फबाट कार्यदल सदस्य रहेका जीवन परियारलाई साथ दिन बैठकहरूमा पुगिरहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की भोलिसम्म सहमति जुट्ने अपेक्षामा छन् । “भोलि पनि कार्यदलको बैठक छ । सम्भवत: भोलिसम्म सहमति जुट्छ भन्ने अपेक्षा छ । प्रयास गर्दैछौँ,” उनले भने । यदि अब चाँडै सहमति नजुटे कांग्रेस झन् आक्रामक र सशक्त रूपमा प्रस्तुत हुने उनको भनाइ छ ।

कांग्रेसका अर्का नेता एनपी साउद यी सबै विषयहरूको जवाफ स्वयम् आरोपितले दिनुपर्ने बताउँछन् । कार्यदलमा सहमति नजुट्नुको कारणबारे सोध्दा उनले भने, “यी सबै प्रश्नहरूको जवाफ स्वयम् आरोपितले दिनुपर्ने हो । हामी त उहाँहरूले जसरी हिँडाइरहनुभएको छ । उसैगरी हिँडिहेका छौँ । तैपनि सहमति जुट्दैन । साथीहरूले जुटाउने कोसिस गरिरहनुभएको छ । अलमल्याउने काम नहोस्, चाँडै सहमति जुटाऔँ भन्ने हाम्रो आग्रह छ ।”

अब यसमा ढिला गर्न नहुने र भए जे-पनि हुनेसक्ने उनी बताउँछन् ।

सत्तापक्षीय नेताहरू भने कांग्रेसको भनाइको प्रतिवाद गर्छन् । कार्यदलमा प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) तर्फबाट सदस्य रहेका प्रमुख सचेतक महेशकुमार बर्तौला भन्छन्, “सहमति खोज्दै नै छौँ । सहमति जुटाएर नै अगाडि बढ्ने सल्लाह भइरहेको छ । साथीहरूले कसरी भन्नुभयो, त्यो उहाँहरू जान्नुहुन्छ । तर, सहमतिबाट नै अगाडि बढ्ने हो ।”

यद्यपि, यथाअडानमा सहमति जुट्ने सम्भावना न्यून छ । किनकि दुवै पक्ष आ-आफ्नो अडानमा कायम छन् । दुवै पक्ष ‘कम्प्रमाइज’ गर्न तयार देखिँदैनन् । अर्को पक्षले ‘कम्प्रमाइज’ गर्नुपर्ने दुवैको जिकिर छ ।

जे होस्, यसैगरी यतिकै चलाइरहने कुरा भने रहँदैन । कुनै न कुनै मोडमा गएर सहमति नगरी हुनेवाला छैन । झन् अब बजेट (जेठ १५) को सन्दर्भ पनि छ । सदनबाट नीति तथा कार्यक्रम नै पनि पारित भएको छैन । आफूअनुकूल सहमति नभए सदन चल्न नदिने कांग्रेसको शङ्खघोष कायमै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved