सहकार्यको पहलमा लोसपा र प्रधानमन्त्री, मुद्दा सम्बोधन गर्न तीन सदस्यीय कार्यदल गठन

लोसपा स्रोतका अनुसार उक्त छलफलबाट सरकारले लोसपाले उठाएको मुद्दा सम्बोधन गर्ने गरी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाको तर्फबाट नेता सुक्लासहित लक्ष्मणलाल कर्ण सम्मिलीत तीन सदस्यीय कार्यदल बनेको छ।

सहकार्यको पहलमा लोसपा र प्रधानमन्त्री, मुद्दा सम्बोधन गर्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसँग तालमेलको गृहकार्य अघि बढाएका छन्। सत्तागठबन्धनको बीचमा चुनावी तालमेलको आन्तरिक गृहकार्य चलिरहेको बताइरहँदा देउवाले लोसपासँग पनि सहकार्यको विषयमा कुरा अघि बढाएका हुन्।

गत शनिबार साँझ प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरसहित उक्त पार्टीका वरिष्ठ नेताहरु शरदसिंह भण्डारी र राजेन्द्र महतोसहित अनिल झा र सर्वेन्द्रनाथ सुक्लासँग छलफल गरेका थिए।

लोसपा स्रोतका अनुसार उक्त छलफलबाट सरकारले लोसपाले उठाएको मुद्दा सम्बोधन गर्ने गरी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाको तर्फबाट नेता सुक्लासहित लक्ष्मणलाल कर्ण सम्मिलीत तीन सदस्यीय कार्यदल बनेको छ।

प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री र लोसपाको तर्फबाट नेताहरु सुक्ला र कर्ण रहेको कार्यदलले लोसपाले यसअघिदेखि नै उठाउँदै आएको मुद्दाहरु सम्बोधन कसरी गर्ने भन्ने गृहकार्य गर्ने जिम्मेवारी पाएको स्रोतले जनाएको छ।

कार्यदल सदस्य कर्णले सञ्चारमन्त्री भैरहवा गएकाले आफूहरुको बैठक हुन नसकेको नेपालभ्यूजलाई बताए। “सञ्चारमन्त्री आज साँझ काठमाडौं फर्केने बताइएको छ, भोलि मंगलबार हामी बस्ने कुरा छ,” कर्णले भने, “हामीले आफनो मुद्दा सम्बोधनकै लागि यो सरकारलाई पनि समर्थन गरेकै हो, त्यही भएर मुद्दा सम्बोधनका लागि हामीले गृहकार्य थाल्न लागेका छौ।”

कर्णका अनुसार मधेश आन्दोलनताका मुद्दा फिर्ता, संविधान संशोधन र नागरिकता विधेयकमा लोसपाले उठाएको कुराहरु सम्बोधन गराउने गरी सरकारसँग कुरा अगाडि बढ्न लागेको छ ।

“अहिले नै धेरै कुरा भन्न सकिन्न,” कर्णले भने, “तर, मुद्दा सम्बोधनका लागि सरकार र लोसपाबीचको पहल अगाडि बढेको छ ।”

सरकारले नागरिकता विधेयक अगाडि बढाउने गृहकार्य गरिरहँदा लोसपासँगको संवाद अघि बढेको हो । अघिल्लो हप्ता मात्रै गृहमन्त्री बालकृष्ण खाँणले संसद्मा रहेका सबै दलका प्रमुख सचेतकहरुसँग नागरिकता विधेयक बारेमा छलफल गरेका थिए ।

गृहमन्त्रीसँगको छलफलमा लोसपाबाट सहभागी भएका नेता कर्णले नागरिकता विधेयकमा आफूहरुको कुरा सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
त्यसपछि गत शनिबार प्रधानमन्त्री स्वयंको पहलमा लोसपाको शीर्ष नेताहरुसँग बालुवाटारमा लामो संवाद भएको लोसपाका एक नेताले नेपालभ्युजलाई बताए।

गत २९ असारमा प्रधानमन्त्रीको शपथ लिएर प्रतिनिधिसभामा विश्वासको मत लिने बेलामा लोसपाले देउवालाई समर्थन गरेको थियो । विश्वासको मत लिने दिनको अन्तिम समयमा लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले आफूहरुको मुद्दा सम्बोधन गर्ने आश्वासन दिएकाले समर्थन गर्ने निर्णय गरेको बताएका थिए ।

त्यसअघि, जनता समाजवादी पार्टी एक रहँदा महन्थ ठाकुर पक्षले तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गुपचुप रुपमा कार्यदल बनाएका थिए। उक्त कार्यदल गठनलाई लिएर जसपामा उत्पन्न विवाद पार्टी फुटसम्मको एक कारक बन्यो।

उक्त कार्यदलमा पनि ठाकुरले कर्ण र सुक्लालाई नै राखेका थिए । ओलीको तर्फबाट तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र सुवास नेम्वाङ सदस्य थिए । सोही कार्यदलको गृहकार्यपश्चात् मधेश आन्दोलनका केही मुद्दाहरु फिर्तासमेत भएको थियो । मुद्दा फिर्ता पछि ठाकुर पक्ष सरकारमै सहभागी भएका थिए ।

अहिले पनि लोसपा सरकारमा सहभागी हुने सम्भावना देखिएको छ। तर, गत शनिबार प्रधानमन्त्री देउवासँगको छलफलमा सरकारमा सहभागिताको विषयमा कुरा भए नभएको भने खुलेको छैन।

यता, लोसपा नेता कर्णले सरकार आफूहरुले उठाएको मुद्दा सम्बोधनमा साकारात्मक भएसँगै सहकार्य गर्न पनि आफूहरुलाई कुनै अप्ठ्यारो नरहेको बताएका छन्।

“हामीले मुद्दा सम्बोधनलाई जहिले पनि प्राथमिकतामा राखेका छौँ,” कर्णले भने, “हिजो पनि हामी ओलीसँग मुद्दा सम्बोधनकै आधारमा सहकार्य गर्ने कुरा गर्यौँ र आज पनि प्रधानमन्त्री देउवासँग हाम्रो त्यही कुरा छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved