चिनियाँले नेपाली भाषामा बोलेर फेसबुकमा राखेका केही भिडिओहरू नेपालीहरूमा निकै लोकप्रिय हुने गरेका छन्।
त्यस्ता भिडिओहरू लोकप्रिय हुनुपर्ने खास दुई ओटा कारण छन्- पहिलो कारण चिनियाँ विकास, प्रविधि, कृषि, पर्यटन र शैलीको जानकारीहरू ती भिडिओमा समेटिएकाले केही नयाँ जानकारी दिने गर्छन्। दोस्रो कारण चिनियाँहरूले नेपाली बोल्ने शैली।
एकैचोटि स्नातक तहमा पुगेर ‘क’ अक्षर चिनेका चिनियाँहरूले फरर नेपालीमा बोलपछि नेपालीहरूलाई रमाइलो लाग्नु स्वाभाविक हो। नेपाली भाषामा भिडिओ बनाएर फेसबुकमा राख्नेहरूमा विशेषतः लालिमा, ललिता र समुद्र तीन जना चिनियाँहरू नेपालीमाझ निकै लोकप्रिय भएका छन्।
उल्लिखित तीनै जना चिनियाँहरू चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा कार्यरत छन्। लालिमाको नाम लिउ सान हो भने ललिताको नाम चु मेई हो। अनि समुद्रको नाम चाहिँ सी फयाङ हो। आफ्नो सक्कली चिनियाँ नामले भन्दा नेपाली नामले नै उनीहरू लोकप्रिय बनेका छन्।
फेसबुकमा पोष्ट गरिएका भिडिओमा चिनियाँले बोलेको सुन्दा हामीलाई रमाइलो लाग्छ। यो रमाइलोसँगै उनीहरूले गरेको मिहिनेत र नेपाली भाषा अनुवादमा परेको फसाद उत्तिकै रोचक छ।
८ वर्षदेखि उही चिनियाँहरूसँग काम गरिरहेकाले चिनियाँहरूले अनुवाद गर्दा आफूलाई लागेका केही अनौठा स्मरण यहाँ प्रस्तुत गर्न चाहन्छु।
सीआरआई नेपाली सेवामा कार्यरत चिनियाँहरूले चिनियाँ भाषाबाट नेपालीमा अनुवाद गर्दछन्। उनीहरूले अनुवाद गरेको सामग्रीको सम्पादन गर्ने जिम्मा हामी विदेशी विशेषज्ञको काँधमा आउँछ। सम्पादन गर्दा शब्दैपिच्छे उनीहरूलाई सोध्नुपर्ने पनि हुन्छ। किनभने त्यो शब्दको अर्थ मात्र होइन परिवेश के थियो भनेर समेत थाहा पाउनु पर्ने हुन्छ।
एकैचोटि स्नातक तहमा पुगेर ‘क’ अक्षर चिनेका चिनियाँहरूले फरर नेपालीमा बोलपछि नेपालीहरूलाई रमाइलो लाग्नु स्वाभाविक हो। नेपाली भाषामा भिडिओ बनाएर फेसबुकमा राख्नेहरूमा विशेषतः लालिमा, ललिता र समुद्र तीन जना चिनियाँहरू नेपालीमाझ निकै लोकप्रिय भएका छन्।
एकपटक मैले अफिसमा चलाउने कम्प्युटरमा केही समस्या आएपछि सहकर्मी मेघालाई समस्या सुनाएँ। मैले चलाउने कम्प्युटर चलाउँदै उनले मलाई सोधिन्‘मेरो कम्प्युटर कहाँ छ ?’ उनको कम्प्युटर उनकै टेबुलमा थियो। मैले देखाइदिएँ। उनले फेरि सोधिन्‘हैन तपाईंको कम्प्युटरभित्र मेरो कम्प्युटर कहाँ छ?’
‘मैले चलाउने कम्प्युटरभित्र किन तपाईंको कम्प्युटर खोज्नु पर्यो?’ सोचेँ नेटवर्किङमा राखिएकाले मेरो कम्प्युटरभित्र गएर उनले आफ्नो कम्प्युटर खोल्न खोजेकी हुनुपर्छ। तर त्यसो होइन रहेछ।
कुरा बुझेपछि मलाई निकै हाँस उठ्यो। उनले त कम्प्युटरको डेक्सटपमा रहेको‘माइ कम्प्युटर’ भन्ने आइकन खोजेकी रहिछन्। त्यो आइकन मैले चलाउने कम्प्युटरको फ्रन्ट डेक्समा थिएन।‘माइ कम्प्युटर’ भनेर सोधेको भए म सहजै बुझ्थेँ।
२० मंसीर २०७० मा नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कूलपति बैरागी काइँलाको नेतृत्वमा एक साहित्यिक प्रनिधिमण्डलले सीआरआई नेपाली सेवाको भ्रमण गरेको थियो। नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरू नेपाली भाषाका मुख्य ठेकेदारकै हैसियतमा रहने कुरा उल्लेख गरिरहनु नपर्ला। उनीहरूसँग नेपाली भाषाको संरचना र समस्याका बारेमा सीआरआई नेपाली सेवामा कार्यरत चिनियाँहरूले छलफल पनि गरे।
छलफलकै क्रममा बैरागी काइँलाले पिसाव गर्नका लागि ट्वाइलेट कता छ भनेर सोधे। उनको प्रश्नलाई चिनियाँले बुझेनन् र‘के भन्नु भएको?’ भनेर दोहोर्याएर सोधे। उनले पिसाब गर्ने ठाउँ कता हो भनेर सोधेपछि नेपाली विभागकी प्रमुख वर्षाजीले‘ए शौचालय सोध्नु भएको’ भनेर मुख छोपेर हाँसिन्।
नेपालीले बिर्सिसकेको शब्द‘शौचालय’ चिनियाँले सिकाइदिए। वर्षाजीले बैरागी काइँलालाई प्रश्न गरिन्‘नेपाली भाषामा शौचालय हुँदा हुँदै किन अंग्रेजी भाषाको शब्द प्रयोग गर्नु भएको ?’ त्यसपछि फेरि नेपाली भाषामा आयातित अंग्रेजी शब्दका बारेमा थप वहस भयो।
८ असार २०७३ मा सीआरआई नेपाली सेवामा कार्यरत साथीहरूले एउटा भिडिओ सुटिङ गर्ने योजना बनाएका थिए। ‘रेशम फिलिली’ चलचित्रको ‘पिरतीको छाता ओडाउन’ गीतमा सहकर्मी लक्ष्मी लम्साल र चिनियाँ साथी मेघाले स्वर दिएका थिए। हामीचाहिँ नाच्नुपर्ने थियो। सहकर्मी मुनाले हामीलाई भिडिओ सुटिङका लागि‘घाँसे मैदान’मा जान आग्रह गरिन्।
चिनियाँ सहकर्मीहरूले विभिन्न नेपाली एजेन्सीबाट लिएका समाचारलाई चिनियाँमा अनुवाद गर्ने काम गर्छन्। एकपटक सहकर्मी राजुले एउटा समाचारलाई नेपालीबाट चिनियाँमा अनुवाद गर्दा केही कुरा सोधे। समाचारमा ‘खुट्टा कमाउनु’ भन्ने पदावली प्रयोग भएको रहेछ। उनले यसलाई‘धेरै राम्रो’ अथवा साहसिलो भनेर अनुवाद गरेका रहेछन् तर केही दुविधा भएकाले मलाई सोधेका थिए‘खुट्टा कमाउनु भनेको साहसी र राम्रो काम हैन त?’
विभिन्न समाचारमा तिब्बतका पशुपालकले पशुचरणमा प्रयोग गर्ने जमीन र भित्री मङ्गोलियामा घोडा चराउने स्थानलाई‘घाँसे मैदान’ उपमा दिएर समाचार सम्पादन गर्ने बानी परेको थियो। बेइजिङमा त कहीँ पनि घाँसे मैदान थिएन। अब कति टाढा जानु पर्ने हो भिडिओ सुटिङका लागि भनेर मैले मुनालाई सोधेँ। उनले नजिकै हो भनिन्।
मलाई घाँसे मैदान हेर्ने उत्सुकता थपियो। जोशिँदै गएको त सीआरआईको कमाउण्ड भित्रकै दुबो भएको चउरलाई पो उनले घाँसे मैदान भनेकी रहिछन्।
समाचार सम्पादनका क्रममा एकपटक यस्तो प्रसङ्ग आयो –‘चिनियाँ राष्ट्रपति सी चिन फिङले आतंकवादका सामु इन्द्रधनुष नहुने विचार व्यक्त गर्नुभयो।’ कुनै देशमा आतंकवादी संगठनले आक्रमण गरी मान्छे मारेपछि सो देशका प्रमुखलाई चिनियाँ राष्ट्रपतिले समवेदना सन्देश पठाएको समाचारको भावानुवाद थियो त्यो। शाब्दिक अनुवादले त्यस्तो गराएको थियो। आतंकवादका सामु नझुक्ने भन्न खोजेको कुरालाई शब्दको अनुवाद गर्दा त्यस्तो भएको थियो।
अर्को प्रसङ्गमा भ्रष्टाचार विरुद्धको चिनियाँ अभियानसँग सम्बन्धित समाचार थियो। चीनमा भ्रष्टाचार गरेर अमेरिका भागेका केही व्यक्तिलाई चीनले फिर्ता ल्याएको थियो। समाचार अनुवाद गर्दा एकजना चिनियाँ सहकर्मीले‘ती भष्टचारी चिनियाँ चाहन्थे सूचिमा थिए’ भनेर लेखेकी थिइन्।
के हो यो‘चाहन्थे सूचि’ भनेको? पछि बुझ्दा प्रहरीको खोजीको सूचिमा रहेको भन्ने रहेछ। अंग्रेजी‘वान्टेड’ शब्दको ठाडो अनुवाद गर्दा‘चाहन्थे’ भएको रहेछ।
चिनियाँ सहकर्मीहरूले विभिन्न नेपाली एजेन्सीबाट लिएका समाचारलाई चिनियाँमा अनुवाद गर्ने काम गर्छन्। एकपटक सहकर्मी राजुले एउटा समाचारलाई नेपालीबाट चिनियाँमा अनुवाद गर्दा केही कुरा सोधे। समाचारमा ‘खुट्टा कमाउनु’ भन्ने पदावली प्रयोग भएको रहेछ। उनले यसलाई‘धेरै राम्रो’ अथवा साहसिलो भनेर अनुवाद गरेका रहेछन् तर केही दुविधा भएकाले मलाई सोधेका थिए‘खुट्टा कमाउनु भनेको साहसी र राम्रो काम हैन त?’
ठीक उल्टो अर्थ आउने गरी सोधेपछि म आश्चर्यमा परेँ। उनले शब्द शब्दको अर्थ खोजेका रहेछन्। खुट्टा त सजिलै बुझे। अनि पैसा कमाउनु भनेजस्तै खुट्टा कमाउनु भनेको धेरै खुट्टा भेला गर्नु भन्ने बुझेका रहेछन् उनले। धेरै खुट्टा भएपछि टेक्न पनि सजिलो हुने भएकाले साहसिलो भन्ने उनको बुझाइ रहेछ।
सन् २०१८ को अगष्टमा नेपालबाट १४ जना पत्रकारहरू चीनको सिचुवान र बेइजिङ भ्रमणमा आएका थिए। सिचुवान प्रान्तमा भएको भ्रमणमा दोभाषे सहकर्मी राजु नै थिए। म पनि नेपाली पत्रकारसँगको भ्रमणमा सहभागी हुन बेइजिङबाट गएको थिएँ।
गरिबी निवारणका कार्यक्रममा स्वास्थ्य बीमा सबैभन्दा प्रभावकारी रहेको चिनियाँ विज्ञहरूले बताइरहेका थिए। त्यसलाई अनुवाद गर्ने क्रममा राजुजीले ‘घरको खम्बा व्यक्तिको स्वास्थ्य बीमा हुनुपर्ने’भन्दा रहेछन्। मैले त्यति वास्ता गरेको थिइँन। पछि सेतोपाटी अनलाइनका पत्रकार भानुभक्तले सोधे ‘राजुजी यो खम्बा व्यक्ति भनेको के हो?’
राजुजीले घरको मूल व्यक्ति भन्न खोजेका रहेछन्। सायद चिनियाँ भाषामा प्रयुक्त शब्दलाई राजुजीले अनुवाद गर्दा ‘पिलर पर्सन’आयो होला अनि उनले त्यसलाई खम्बा व्यक्ति भनिदिए। कुरा बुझेपछि सबै नेपाली पत्रकारहरू एक हलको मेलो हाँस्न भ्याए।
चिनियाँले सबै नामलाई पनि अनुवाद गरिदिँदा कहिलेकाहीँ समस्या उत्पन्न भएको छ। चीनको छिङ्गहाइ प्रान्तको यु शु तिब्बती जातीय स्वायत्त प्रिफेक्चर सरकारको सहयोगमा भूकम्पले ध्वस्त बनाएको काठमाडौँ चुच्चेपाटीको एक विद्यालयको पुन निर्माण सुरु भएको समाचार थियो। सामचारमा विद्यालयको नाम‘जनता अशल उन्नति मध्यम विद्यालय’ भनेर लेखिएको थियो। नेपालमा यस्तो विद्यालयको नाम त नहुनु पर्ने हो। मैले समाचार अनुवाद गर्ने चिनियाँ सहकर्मीलाई सोधेँ। विद्यालयको नाम अंग्रेजीमा लेखिएको रहेनछ। उनले चिनियाँमा लेखिएको विद्यालयको नेपालीमा अनुवाद गरेकी रहिछन्। त्यो चिनियाँ शब्दलाई अंग्रेजीमा अनुवाद गरेर मलाई पनि देखाइन्। उनको कम्प्युटरको सफ्टवेयरले अनुवाद गर्दा‘पिपुल गुड वेलफेयर मिडल स्कुल’ भनेर देखायो।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पबाट उक्त विद्यालय ध्वस्त भएको थियो। सन् २०१६ को डिसेम्बरमा यो विद्यालयले चीनसँग सहायोग निर्माण सम्झौतामा हस्ताक्षर गरेको रहेछ। यी जानकारी पाइए पनि विद्यालयको नाम त पक्कै पनि त्यस्तो नहुनुपर्ने भन्ने मलाई लाग्यो। समाचारसँग फोटो पनि थियो। फोटोमा डा हरिश्चन्द्र शाहलाई देखेपछि मैले फोन गरेर सोधेँ। डा शाहले विद्यालयको नाम‘जनकल्याण मावि’ रहेको बताएपछि मैले फेरि समाचार दोहोर्याएर हेरेँ। सिन्ह्वा समाचार समितिले समाचार सम्प्रेषण गर्दा‘जनकल्याण’ शब्दलाई व्यक्तिवाचक नाममा राख्नु पर्नेमा हरेक शब्दको चिनियाँमा अनुवाद गरेको रहेछ।
ललिताले चिनियाँ समाचार अनुवाद गर्दा लेखिछन् ‘युवा वैज्ञानिकको ब्याजलाई सरकारले ध्यान दिनेछ।’
वैज्ञानिक बन्नका लागि निकै लगानी गर्नुपर्ने र उनीहरूको लगानीको ब्याज समेत सरकारले तिरिदिने हो कि भनेर मैले समाचार सम्पादन गरेँ। तर समाचारको पेटबोलीले त्यस्तो बताउँदैनथ्यो। मैले स्पष्ट हुनका लागि सोधेँ। लेख्न खोजिएको कुरा त ‘युवा वैज्ञानिकको रुचिलाई सरकारले ध्यान दिने’भन्ने रहेछ। रुचि र ब्याजको अंग्रेजी शब्द त एउटै हो‘इन्ट्रेस’। उनले अनुवाद गर्दा चिनियाँबाट पहिले अंग्रेजीमा अनुवाद गरिछन् अनि नेपालीमा।
एकपटक चिनियाँ सहकर्मी मुनाले लक्ष्मी लम्साललाई ठेक्कापत्र लिएर आउन भनिछन्। ठेक्कापत्र भनेको के हो न लम्सालजीलाई थाहा थियो न मलाई?
दोहोर्याएर सोधेपछि मुनाले भनिन्‘सिआरआईले दिएको ठेक्कापत्र जहाँ तपाईंले हस्ताक्षर गर्नु भएको छ’। कुरा बुझ्दा सीआरआई र विदेशी विशेषज्ञबीच भएको सम्झौतापत्र भनिएको रहेछ। सम्झौतापत्रलाई अर्को शब्दमा करारनामा पनि भनिन्छ भन्ने त थाहा थियो तर ठेक्कापत्र चाहिँ पहिलोपटक सुनियो।
एकपटक निकै हाँस उठ्तो घटना भयो। तिब्बतको एउटा श्रव्यदृश्य डकुमेन्टको अनुवाद कार्य भइरहेको थियो। नेपाल टेलिभिजनबाट प्रसारणका लागि स्क्रिनमा सब टाइटल नेपाली भाषामा राख्नका लागि संवादको अनुवादका क्रममा एकजना चिनियाँ सहकर्मीले लेखिछन्‘तिब्बतका पशुपालकले भेडालाई हरेक दिन विर्यपात गराउँछन्। यसरी विर्यपात गराउनु नै उनीहरूको प्रमुख आम्दानीको श्रोत हो।’
अब्बुई विर्यपातबाट कसरी आम्दानी हुन्छ? मलाई ठूलो जिज्ञासा पैदा भयो। अनुवाद गर्ने व्यक्तिलाई यसको आसय सोधेँ। उनले बताए अनुसार भेडा दुहुने कार्य भनिएको रहेछ। सायद दुहुनु र विर्यपातको चिनियाँ शब्द उही हुने भएर हो अथवा किन हो त्यो शब्द प्रयोग भएको थियो।
चिनियाँ शब्दलाई सोझै नेपालीमा अनुवाद गर्न कठिन भएको अवस्थामा पहिले अंग्रेजीमा गर्छन् अनि त्यो अंग्रेजी शब्दलाई नेपालीमा अनुवाद गर्छन्। एकपटक सहकर्मी राधिकाले एउटा चिनियाँ साहित्यको अंश अनुवाद गर्दा लेखिछन् ‘लोभलाग्दो मिठाइ देखेपछि उनको मुख रसायो र उनले गौँथली गरे।’सम्पादन गर्दा म धेरैबेर घोरिएँ। मुखमा आएको पानी निल्नुपर्ने हो। तर लेखिएको छ गौँथली गरे। राधिकाले भनिन् अंग्रेजीमा हेरेको गौँथली लेखेको छ। बल्ल मेरो घैँटामा घाम लाग्यो गौँथली र निल्नुको अंग्रेजी हिज्जेको समानता।
परिवारबाट टाढा बसेर काम गर्दाको न्यास्रो पनि मेट्ने मात्र होइन हड्डीदेखि हसाउँछ चिनियाँ सहकर्मीको नेपाली भाषाले।
Facebook Comment
Comment