प्रचण्ड-माधवलाई चुनावमा सत्ता गठबन्धन अपरिहार्य, हतारमा छैन कांग्रेस

सत्ता गठबन्धनका घटकहरू माओवादी केन्द्र र नेकपा एसले पटक पटक चुनावी तालमेलबारे गठबन्धनमा सहमति भएको दाबी गर्दै आएका छन्। तर, कांग्रेसले यसबारे बोलेको छैन।

प्रचण्ड-माधवलाई चुनावमा सत्ता गठबन्धन अपरिहार्य, हतारमा छैन कांग्रेस

काठमाडौं। नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपालले स्थानीय तह निर्वाचनमा तालमेल गरेर जान सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गरेपनि नेपाली कांग्रेसले यसबारे मुख खोल्न चाहेको छैन।

एकमहीने स्थानीय तह निर्वाचन अभियानबारे जानकारी दिन बुधबार गरिएको पत्रकार सम्मेलनमा कांग्रेस नेताहरूले तालमेलबारे निर्णयमा नपुगिएको प्रस्ट शब्दमा बताए। उपसभापति पूर्णबहादुर खड्काले भने, ‘चुनावी तालमेलसहित सबै समसामयिक विषयमा गठबन्धनमा छलफल भइरहेको छ। हामीले कुनै औपचारिक धारणा बनाएका छैनौं।’

सत्ता गठबन्धनका घटकहरू माओवादी केन्द्र र नेकपा एसले पटक पटक चुनावी तालमेलबारे गठबन्धनमा सहमति भएको दाबी गर्दै आएका छन्। तर, कांग्रेसले यसबारे बोलेको छैन।

केही अघि कांग्रेसभित्रको एउटा खेमा गठबन्धन दलहरूसँग चुनावमा सहकार्य गर्न नसकिने प्रस्ट अडानमा थियो। खासगरी शेखर कोइराला समूहका नेताहरू, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि चुनावमा सहकार्य गर्न नसकिने, कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने धारणा राख्दै आएका थिए।

संसद्बाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीले सघाएपछि गठबन्धनभित्र चुनावी तालमेलको सम्भावना बढेको छ। तालमेल गर्न हुँदैन भन्ने धारणा राख्ने पक्ष पनि केही लचिलो देखिएको छ।

बुधबारको पत्रकार सम्मेलनमा कांग्रेसले २९ फागुनदेखि २९ चैतसम्म एकमहीने अभियानपछि मात्रै चुनावी तालमेल गर्ने कि नगर्ने निर्णयमा पुग्ने बताएको छ। महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले निर्वाचनकेन्द्रित प्रचारप्रसार अभियान लिएर जाँदा आफ्नो मात्रै नभनेर जनताको कुरा सुन्ने भएकाले आम नागरिकको मनोविज्ञान बुझेर मात्रै यसबारे धारणा बनाउने बताए।

“हामी स्थानीय तह निर्वाचनको अभियान लिएर जाँदा जनताले कांग्रेसलाई के सुनाउन चाहन्छ भन्ने पनि कार्यक्रम राखेका छौं”, महामन्त्री शर्माले भने, “जनताले भनेको कुरालाई पनि ध्यानमा राखेर मात्रै हामी पछि गठबन्धन र चुनावी तालमेलबारे बोल्छौं।”

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सत्ता गठबन्धनबारे कुनै टीकाटिप्पणी गर्न चाहेनन्। उनले समय आएपछि मात्रै त्यसबारे बोल्ने बताए।

मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको एकमहीने अभियानमा केन्द्रबाट खटिएका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै गठबन्धनबारे नाकारात्मक टिप्पणी नगर्न निर्देशन दिएका थिए। कांग्रेस प्रवक्ता महतले त्यसलाई सत्ता गठबन्धनको वर्तमान सरकारको राजनीतिक संस्कारसँग जोडे। “हामी गठबन्धनको सरकारमा छौं भन्ने कुरा यथार्थ हो,” महतले भने, “त्यही भएर हामीले गठबन्धनबारे नकारात्मक टीकाटिप्पणी गर्न मिल्दैन।”

कांग्रेस उपसभापति खड्का, महामन्त्री शर्मा र प्रवक्ता महतको बुधबारको भनाइलाई आधार मान्ने हो भने कांग्रेस गठबन्धनको चुनावी तालमेलप्रति सकारात्मक देखिन्छ। तर, हतारमा निर्णय लिन चाहेको देखिँदैन।

सम्भवतः कांग्रेसमा सहकार्य गर्न हुन्न भन्ने खेमालाई पनि चित्त बुझाउन तालमेलको औपचारिक धारणा बनाउन समय लिएको हुन सक्छ। उपसभापति खड्काले काग्रेसले जे निर्णय गरे पनि सर्वसम्मत निर्णय गर्ने दाबी गरेबाट पनि यो लख काट्न सकिन्छ।

“हामी एमसीसीजस्तै कार्यसम्पादनदेखि केन्द्रीय समितिसम्म एउटै धारणा चुनावी तालमेलबारे पनि बनाउँछौं,” उपसभापति खड्काले भने। उनले चुनावी तालमेलको निर्णय पनि पार्टीको कार्यसम्पादन र केन्द्रीय समिति बैठकले मात्रै गर्ने बताए।

गठबन्धन बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनका लागि चुनावी तालमेलको ठोस प्रस्ताव नै प्रधानमन्त्री देउवासमक्ष राखिसकेका छन्।

प्रधानमन्त्री देउवाले बुधबार बिहान पनि बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग यसबारे अनौपचारिक छलफल गरेका छन्। कांग्रेसका एक पदाधिकारीका अनुसार प्रधानमन्त्रीसँग बुधबार बालुवाटारमा भएको अनौपचारिक बैठकमा नेताहरूले अहिले नै चुनावी तालमेलबारे कांग्रेस नखुल्दा फाइदा रहेको निष्कर्ष निकालेका थिए। “चुनावी तालमेल गर्ने परे पूरा अध्ययन गरेर अन्तिममा मात्रै गर्दा त्यसले प्रतिपक्षीलाइ खेल्न ठाउँ नदिने कांग्रेसको निष्कर्ष छ”, एक नेताले नेपालभ्यूजसँग भने।

एमालेले जितेका ठाउँमा मात्र भागबण्डा

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका नेपालले प्रधानमन्त्री देउवासमक्ष स्थानीय तह निर्वाचनमा एमालेले जितेका ठाउँहरूमा मात्रै भागबण्डा गर्ने प्रस्ताव गरेका छन्।

अहिले कांग्रेस, माओवादी र नेकपा एसले नेतृत्व गरिरहेको ठाउहरूमा यी पार्टीहरू नै पुनः उम्मेदवारी दिने र एमालेले जितेका ठाउँहरूमा तीन दलबीच भागबण्डा गरेर एक साथ निर्वाचनमा जाने प्रस्ताव गरेको छ।

कांग्रेसले औपचारिक रूपमा नभने पनि एकमहीने अभियानका क्रममा पार्टी पंक्तिको तल्लो तहमा यस सन्दर्भमा पनि विचार संकलन गर्ने रणनीति बताएको छ।

केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधिहरूले स्थानीय पार्टीका अगुवा नेताहरूसँग यसबारे छलफल गरेर केन्द्रमा रिर्पोटिङ गर्नेछन्। त्यसपछि कांग्रेसले माओवादी र नेकपा एसले गरेको प्रस्तावबाट कांग्रेसलाई फाइदा हुने/नहुने विश्लेषण गर्ने छ।

चुनावी तालमेलबारे सोधिएको एक प्रश्नको जवाफमा कांग्रेस प्रवक्ता महतले बुधबार पत्रकार सम्मेलनमा भने, “कांग्रेसलाई जेमा फाइदा हुन्छ, त्यही निर्णय हामी गर्छौं। उनले यसलाई अझै प्रस्ट्याउँदै भने, “हामी जसरी बीढी सिट जित्न सक्छौं, त्यसैअनुसार अघि बढछौं।’

यो पनि 

‘एमालेलाई शून्यमा झार्न’ प्रचण्ड-नेपालले पठाए कांग्रेससमक्ष चुनावी तालमेलको प्रस्ताव, देउवा मौन

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved