स्थानीय निर्वाचनमा सत्ता साझेदार दलहरू मिलेर जाने सहमति भइसकेको माधव नेपालको दाबी

नेपालभ्युज

स्थानीय निर्वाचनमा सत्ता साझेदार दलहरू मिलेर जाने सहमति भइसकेको माधव नेपालको दाबी
फाइल फोटो

काठमाडौं। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दाबी गरेका छन्।

बुधबारबाट काठमाडौंमा शुरु पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले सबै ठाउँमा मिल्न नसके पनि पारस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई आह्वानसमेत गरे।

अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पार‍े। त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरूलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

७७ वटै जिल्लामा आफूहरूको उपस्थिति हुने उनले दाबी गरे। “कतिपयलाई भ्रम छ कि हामी शक्तिशाली छौं भन्ने। तर, त्यो भ्रम समयक्रममा प्रस्ट हुनेछ। उनीहरूले भ्रम मात्रै पालेको हो भन्ने कुरालाई हामीले व्यवहारबाट पुष्टि गर्नुपर्दछ। यसबीचमा हामीले दुई पटक निर्वाचनमा भाग लिएका छौं। राष्ट्रियसभाको निर्वाचनमा हामीले केपी ओलीसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेका थियौं। एक्लै चुनाव जित्ने स्थिति नभएपछि हामीले गठबन्धन गरेर चुनाव जित्यौं। अहिले पनि गठबन्धन कायमै छ। गठबन्धन दलहरूबीचको गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको थियो। ती भयंकर षडयन्त्रहरूलाई हामीले विफल पार्‍यौं,” अध्यक्ष नेपालले भने।

अध्यक्ष नेपालले दुई पटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अब पनि त्यसै गरेर अघि बढने योजना रहेको पनि दोहोर्‍याए। एक्लै जित्ने अवस्था नभए पनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उनले स्मरण गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved