‘एमालेलाई शून्यमा झार्न’ प्रचण्ड-नेपालले पठाए कांग्रेससमक्ष चुनावी तालमेलको प्रस्ताव, देउवा मौन

स्थानीय तहमा एमालेले जितेका ठाउँहरू मात्रै भागबन्डा गर्ने गरी रणनीति प्रचण्ड र नेपालले बनाएका छन्। प्रतिनिधिसभामा कांग्रेसलाई एक सय सिट दिने र बाँकी ६५ सिटमा माओवादी केन्द्र र एसले बाँड्ने प्रस्ताव गरेका छन्।

‘एमालेलाई शून्यमा झार्न’ प्रचण्ड-नेपालले पठाए कांग्रेससमक्ष चुनावी तालमेलको प्रस्ताव, देउवा मौन

काठमाडौं। नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)ले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई ‘शून्य’ सिटमा झार्न प्रधानमन्त्री एवं का‌ंग्रेस सभापति शेरबहादुर देउवासमक्ष प्रस्ताव गरेका छन्। ३० वैशाखमा हुने स्थानीय चुनाव र मंसीरसम्म भइसक्नुपर्ने संघीय संसद् र प्रदेशसभा निर्वाचनमा तीन दलबीच सिट बाँडबाडको प्रस्ताव अघिसारेका हुन्।

कांग्रेसका एक युवानेताले दिएको जानकारीअनुसार, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले पेश गरेको अगामी  निर्वाचनमा तालमेलको प्रस्तावमा स्थानीय तहको लागि बेग्लै र  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गरी दुई ओटा प्रस्ताव छन्।

प्रचण्ड–नेपालको प्रस्तावमा कांग्रेस र माओवादी केन्द्रले  गत चुनावमा जितेको ठाउँमा उनै दलका उम्मेद्वार उठाउने, गत चुनावमा एमालेबाट जितेका जनप्रतिनिधि नेकपा (एस) मा लागेका भए  नेकपा (एस) कै उम्मेद्वारलाई टिकट दिनुपर्ने प्रस्तावमा उल्लिखित छ।

प्रस्तावअनुसार, एमालेले नेतृत्व गरिरहेको स्थानीय तहमा पनि कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) मध्ये जसले जित्ने सम्भावना प्रबल हुन्छ, त्यसलाई मेयर अनि अर्को पार्टीलाई उपमेयर दिएर चुनावी तालमेल गर्न सकिने छ। त्यस्ता स्थानीय तहमा ५० प्रतिशत कांग्रेसलाई र बाँकी ५० प्रतिशत सिट माओवादी केन्द्र र नेकपा (एस) लाई  दिने प्रस्तावमा उल्लेख छ।

स्थानीय तहमा एमालेले जितेका ठाउँहरू मात्रै भागबन्डा गर्ने गरी रणनीति प्रचण्ड र नेपालले बनाएका छन्। प्रतिनिधिसभामा कांग्रेसलाई एक सय सिट दिने र बाँकी ६५ सिटमा माओवादी केन्द्र र एसले बाँड्ने प्रस्ताव गरेका छन्।

प्रदेशसभामा पनि यही सूत्र लागू गरेर भागबण्डा गर्ने प्रस्तावमा उल्लेख छ। प्रचण्ड र नेपालले प्रदेशबारे पनि छलफल अगाडि बढाएका छन्। प्रदेश निर्वाचनमा पनि अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एसले जितेकाहरू ठाउँमा यथावत राख्ने र बाँकी एमाले जितेका ठाउँहरूमा भागबन्डा गर्ने गरी प्रस्ताव गरिएको छ।

सत्ता–गठबन्धनमा अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी (जसपा) छन् तर चुनावी तालमेलमा जसपा नेपाललाई समेटिएको छैन।

प्रधानमन्त्री देउवाले गत बुधबार माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एस) का अध्यक्ष नेपालसँग अलग–अलग छलफल गरे। देउवाले बुधबारै दिउँसो  जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छुट्टै भेटेका थिए। भोलिपल्ट बिहीबार सत्ता–गठबन्धनको बैठक बसेको थियो जहाँ स्थानीय निर्वाचनमा चुनावी तालमेलदेखि प्रतिनिधिसभा विघटनसम्म छलफल भएको भएको थियो। माओवादी अध्यक्ष प्रचण्डले सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा आफू र माधव नेपालले संसद् विघटन गरी चुनावमा जान गरेको प्रस्ताव प्रधानमन्त्री देउवाले अस्वीकार गरेको खुलाएका हुन्।

प्रचण्डले पार्टीका नेताहरूलाई सम्बोधन गर्दै आइतबार आगामी निर्वाचनपछि माओवादीकेन्द्र कांग्रेसपछि दोस्रो शक्ति बन्ने दाबी गरेका थिए। उनले आफूले अगामी निर्वाचनमा माअ‍ोवादी दोस्रो शक्ति बन्ने रिर्पोट आफूले पाएको र पहिलो बन्ने प्रयासमा रहेकाे पनि खुलाएका थिए। उक्त रिर्पोट कस्तो र कहाँको हो भन्ने चाहिँ खुलेको छैन, थिएन। प्रधानमन्त्रीनिकट कांग्रेसका एक युवा नेताका अनुसार, प्रचण्डले त्यही प्रस्तावको रिपोर्टका आधारमा उक्त अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, प्रचण्ड र नेपालले प्रतिनिधिसभा विघटनदेखि चुनावी तालमेलसम्मको खाकाको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरिसकेका छन्।  देउवाले पनि आफूनिकट नेताहरूसँग यसबारेमा एकसराे छलफल पनि गरेका छन्। अहिले त्यसलाई गोप्य राखिएको छ।

उक्त प्रस्ताव बारेमा कांग्रेसका ती युवानेताले भने, “प्रधानमन्त्रीदेखि कांग्रेस नेताहरूसम्म प्रचण्ड–नेपालको चुनावी तालमेल प्रस्तावबारे अहिले सकारात्मक छन्।  तर यसबारेमा अहिले नै कुनै ठोस धारणा नबनाउने तर अध्ययन चाहिँ अगाडि बढाउने निष्कर्ष निकालेका छन्।”

एमाले अध्यक्ष ओलीसँग एक वर्षअघि २३ फागुनकाे सर्वोच्च अदालतको फैसलापछि अलग भएका प्रचण्ड र नेपालले चुनावी तालमेलबारे गरेको प्रस्तावले स्थानीय तहदेखि संघीय निर्वाचनसम्ममा एमालेलाई सकेसम्म शून्यमा झार्ने रणनीति बनाइएको छ।

मधेश प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जसपाले जितेका ठाउँमा उसैलाई छाडिदिने प्रस्ताव दहाल र नेपालले गरे पनि त्यसलाई कांग्रेसले शुरुमै अस्वीकार गरिदिएको थियो। कांग्रेसले मधेशमा आफनो पार्टीको अवस्था पछिल्लो समयमा राम्रो हुँदै गएको भन्दै जसपालाई बहुमत सिट संख्यामा छोड्न नसक्ने बताएको छ। त्यसैले कांग्रेस र प्रधानमन्त्री देउवाको धारणालाई ख्याल गरेर प्रचण्ड र नेपालले अहिले चुनावी तालमेलको प्रस्ताव तीन पार्टीबीच मात्र  पेश गरेको बुझिइएको छ।

उक्त प्रस्तावबारे प्रधानमन्त्री देउवाले आफ्नो धारणा केही पनि बनाएका छैनन्। उनी मौन बसेका छन्। प्रस्तावबारे प्रधानमन्त्रीसँग छलफल भएपछि माओवादी अध्यक्ष प्रचण्डले आफू दोस्रो ठूलो पार्टी बन्ने सम्भावना रहेको र नेकपा एसका अध्यक्ष नेपालले अगामी निर्वाचनमा ओलीभन्दा आफ्नो पार्टी ठूलो हुने सार्वजनिक अभिव्यक्ति दिएका छन्।

गठबन्धनको प्रस्तावपछि प्रचण्ड र नेपाल चुनावको पक्षमा लागेका छन्। उनीहरू दुवै तीनै तहकाे चुनाव एकैपटक गर्ने पक्षमा लबिङ गरेका छन्। गठबन्धनको उक्त प्रस्तावको तयारी एसका अध्यक्ष नेपालले गरेको पनि स्रोतकाे दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved