प्रिय कथा

मारिनोसेलोको जून

सुन्नुहोस्

‘दारियो ! तिम्रो जस्तै पीडा मैले पनि अनुभव गरेकी छु। तिम्रो अनुपस्थिति मेरा लागि कति भयावह होला ? मेरो जीवनमा कति शून्यता आउला ? कस्तो रिक्तता छाउला ? नियतिको खेल यस्तै रहेछ बुझ्यौ ?’

मारिनोसेलोको जून

(रचनागर्भ- आजभन्दा २६ वर्ष अगाडि युगोस्लाभियाको गृहयुद्धको परिवेशमा लेखिएको कथा हो यो। त्यतिबेला म नेपाल प्रहरीको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत त्यहाँ खटिएको थिएँ। कानुनी रुपमा क्रोयसियाको भूभाग भए पनि त्यहाँका सर्वियनहरूले छुट्टै क्रायना राज्य खडा गरी बसेका थिए। क्रोयसिया कुनै पनि हालतमा क्रायना लिएरै छाडने सुरमा थिए भने सर्वहरू सजिलै छोड्ने पक्षमा थिएनन्। क्रोयट र सर्वबीच क्रायनालाई लियर आजै युद्ध, भोलि नै हुन्छ भनेर तनावको स्थिति रहेको थियो।

अन्ततः युद्ध भयो। तीन दिनको घमासान युद्धमा क्रोयसियाले क्रायना आफ्नो बनायो। युद्धमा त्यहाँका सर्वियनहरू कति मरे, कति भागे कुनै लेखाजोखा भएन। बाँकी बसेका महिला, बालबालिकाहरू सबै शरणार्थीका रुपमा बोस्निया जान तयार भए। म पनि उनीहरूलाई सुरक्षित देशको सिमाना कटाउन खटिएको थिएँ।

घर छाड्ने बेलामा सबैले लैजान मिल्ने र सक्नेसम्मका सामानहरू बोके। सडकमा उनीहरूलाई लैजाने गाडीहरू र सुरक्षामा खटिएका युएनका गाडीहरूको लाम थियो। कोही घरलाई हेरेर रुँदै थिए। कोही घरका सामान ट्याक्टरमा हाल्दै थिए। कोही यता र उता कुद्दै थिए। सडकको छेउमा केटाकेटीहरू अँगालो हालेर रुँदै थिए। जातीय नरसंहारको डरले सबै सर्वहरू आफ्नो सर्वश्व छाड्न तयार थिए।

उनीहरूको पीडाले मलाई भित्रभित्रै पोलिरहेको थियो। जातकै कारण उनीहरू बेघरवार भएका थिए। सिमाना कटाइँदै थिए। म भित्रको कवि मन उनीहरूको आँसुले निथु्रक्क भिजेको थियो। तर युएनको बर्दीका कारण रुन मिल्दैनथ्यो। त्यहाँ जातीय राजनीतिको सुलीमा मानवीयता चढाइँदै थियो। धेरै रुवाबासीका बावजुद सबै सर्बियनहरूलाई सुरक्षित बोस्नियाको सिमाना कटाई कोठामा फर्किएँ। फर्केपछि पनि उनीहरूको रुन्चे अनुहारले धेरैबेर लखेटिरह्यो मलाई। जातकै कारण आफ्नो जन्मभूमि छाड्नुपर्‍यो। कति प्रेमीहरू छुट्टिए। कति आफन्तहरू छुट्टिए। हिसाब किताब नै रहेन। जति बिर्सन खोज्दा पनि मन मष्तिष्कबाट ती अनुहारहरूको उदासी र पीडा भुल्नै सकिनँ। राति अबेरसम्म पनि मन शान्त रहनै सकेन। त्यहि छट्पटीले यो कथा जन्मायो। कथाले त्यो मर्मलाई उतार्न सक्यो या सकेन पाठकले भन्ने कुरा हो। यो कथालाई मेरो सबैभन्दा राम्रो कथा त भन्न सक्दिन तर प्रिय चाहिँ पक्कै हो। जबजब यो कथा पढ्छु, अझै पनि ती अनुहारहरू मेरो आँखा अगाडि नाच्न आइपुग्छन्। यही कथाको नामबाट पछि मैले कथासंग्रह नै निकालेँ।)

“दारियो ! कति कहालीलाग्दो हुन्छ होला आजको रात, जुन तिमी बिनाको हुनेछ। भोलि बिहानको सूर्योदयसँगै म तिम्रो देशको सीमा बाहिर हुनेछु एक शरणार्थीको रूपमा। म तिम्रा लागि एक विदेशी हुनेछु। तिम्रो र मेरो छुट्टै देश हुनेछ, छुट्टै परिचय। तर दारियो ! म जहाँ रहे पनि तिमीलाई जीवनपर्यन्त सम्झिरहनेछु।” परेलीमा आँसुको बाढी रोकेर नादाले दारियोसँग आफ्नो प्रस्थानको सङ्केत गरेकी थिइन्।

ग्रावानीचा (सर्व प्रशासित क्षेत्र क्रायनाको एउटा गाउँ) को सडक छेउमै रहेको नादाको घर आज सुनसान थियो। नादाकी आमा, भाइ र बहिनी घरका सामानहरू घर अगाडिको ट्याक्टरमा चढाउँदै थिए।

साँझको साढे चार बज्नै आँटेको थियो। ग्रावानीचाको सडकभरि दायाँ किनारामा कार, जीप, भ्यान, बस, ट्याक्टरहरूको लाम लागेको देखिन्थ्यो। ग्रावानीचाको सबै सर्वियन महिला, बुढाबुढी र बालबालिकाहरू घरका सामानहरू झिक्दै गाडीहरूमा राख्दै थिए। सबैका अनुहारमा एक प्रकारको त्रास र पीडा छर्लङ्ग देखिन्थ्यो।

नादाको घर छेवैको कफीको बोटमुनि नादाको कपाल सुमसुम्याउँदै नादालाई रोक्ने प्रयासमा थिए दारियो। नादाको सम्भावित अनुपस्थितिले दारियो किंकर्तव्यविमूढ देखिन्थे। बोल्न चाहेर पनि उनीहरू केही बोल्न सकिरहेका थिएनन्।

बेलाबेलामा नादा र दारियोको छेवैबाट क्रोसियन प्रहरीका गाडीहरू हुँइकिएर जान्थ्यो। सडकपारि नगरपालिकाको कार्यालयमा क्रोसियाको झण्डा फहराइरहेको थियो। हिजोको आजै रातारात सबै बदलिएको थियो। हिजो देखिएका सर्वियन प्रहरीहरू कोही पनि देखिन्थेनन्। सायद कति रातिको लडाइँमा मारिए होलान्। कति भागे होलान्। सडकमा जताततै क्रोसियन प्रहरी र क्रोसियन आर्मीका गाडीहरू घुमिरहेका देखिन्थे।

“नादा ! तिमी जानै पर्छ र ?” दारियो नादालाई बस्ने अनुरोध गर्दै थिए।

नादालाई पनि आफ्नो सबैभन्दा प्यारो दारियोलाई छाड्ने इच्छा थिएन तर जातीय युद्धको त्यो सन्त्रासपूर्ण घडीमा नादाको लागि ग्रावानीचामा बसिरहनु त्यति उचित थिएन। यसै युद्धमा नादाका बाबु र दुई दाजुहरू क्रोसियन आर्मीबाट मारिएका थिए। नादा पनि बल्लबल्ल बाँचेकी थिइन्।

“दारियो ! म तिमीलाई असाध्यै माया गर्छु। साँच्चै दारियो, मैले तिमीलाई कहिल्यै क्रोसियन देखिनँ, ती क्रोसियनहरू जसलाई हामी सर्वियनहरूको रगत बग्दा आनन्द आउँछ। तिनीहरूको लाममा म तिमीलाई कसरी राख्न सक्छु ? तिमी त मात्रै मेरो दारियो हौ, मलाई माया गर्ने।” धेरैबेरको मौनतापछि नादा आफ्नो आक्रोश र पीडा दारियोलाई पोख्दै थिइन्।

दारियो पटकपटक नादालाई बस्ने आग्रह गथ्र्यो। नादा दारियोको प्रस्ताव स्वीकार्न सक्दिनथिन्। नादाको पीडाको अगाडि दारियोको प्रस्ताव कमजोर बन्दै जान्थ्यो।

“नादा ! यो क्रोसियन र सर्वियनभन्दा माथि उठेर तिमी र म केवल मान्छे भएर यही आफ्नो गाउँमा बाँच्न सकिन्न र ?” नादालाई पुनः अनुरोधको भाषामा दारियोले भनेका थिए।

दारियोको पटकपटकको अनुरोधले नादामा पर्न गएको अप्ठ्यारो नादाको अनुहारमा प्रस्ट देखिन्थ्यो। तर पनि नादा आफ्नो पीडा लुकाउने प्रयास गर्दै दारियोलाई सम्झाउने क्रममा थिइन्।

“दारियो ! म तिम्रालागि हाँसीहाँसी मृत्युसम्म पनि स्वीकार्न सक्छु। मेरा लागि तिम्रो साथ र मायाभन्दा प्रिय संसारमा अरू केही छैन तर तिम्रा ती क्रुर क्रोसियनहरू मलाई मान्छे देख्दैनन्। मात्र सर्वियन देख्छन्। जुन दृष्टि न म फेर्न सक्छु न तिमी। फेरि मेरी आमा, मेरी बहिनी अनि मेरा भाइहरू …! दारियो ! म जानुपर्छ ! मलाई नरोक। मान्छे भएकोले नै होला आज मलाई मेरो कर्तव्यले थिचिरहेको छ।”

नादाको अस्वीकृतिले दारियोभित्र एकतमाससँग पीडाका छालहरू उर्लिरहेको थियो। उनीहरूको बीचमा नाघ्नै नसकिने गरी राष्ट्रियताको पर्खाल ठडिएको थियो। जातीयताको पहाड तेर्सिएको थियो। न दारियोमा यसलाई पन्छाउने सामर्थ्य थियो, न नादामा यसलाई पचाउने साहस। आज उनीहरू देश टुक्रिनुको पीडा भोगिरहेका थिए।

सूर्य पश्चिमतिर डुब्ने तरखरमा थियो। अब ग्रावानीचाका सडकमा मालसामान र मान्छेले भरिभराउ गाडीहरूको ठूलो लाम भइसकेको थियो। लाममा अगाडि-पछाडि संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाका नीलो झण्डावाल गाडीहरू तैनाथ थिए। यी शान्ति सेनाहरू ग्रावानीचाका सबै सर्वियनहरूलाई सुरक्षित बोस्निया हर्जगोभिनाको सिमाना कटाउन खटिएका थिए।

सडकमा जताततै कोलाहल थियो। सबै आ-आफ्नो घरतर्फ हेर्दै आँसु बहाइरहेका देखिन्थे। केही मानिसहरू तत्कालका लागि राहत स्वरूप क्रोसियन सरकारले दिन लागेको दुई सय कुना (क्रोसियन मुद्रा) लिन नगरपालिका कार्यालयमा भीड लागेका थिए। दारियो र नादा कफीको बोट नजिकै बसेर दुःख साटासाट गरिरहेका थिए।

एकातिर ग्रावानीचाका सम्पूर्ण सर्वियनहरू लडाइँमा क्रोसियनहरूसँगको हारपछि जीवन रक्षाका खातिर आफ्नो सर्वस्व छाडेर विदेशिदै थिए भने अर्कोतिर क्रोसियनहरू आफ्नो विजय-उत्सव मनाइरहेका थिए। उनीहरूको अनुहारमा खुशीको चमक स्पष्ट अनुभव हुन्थ्यो।

युगोस्लाभियाको गृहयुद्धको समयमा सर्वहरूको बाहुल्य रहेका ग्रावानिचा लगायतका केही गाउँहरू सर्वियनहरूले छाडेका रहेनछन्। राष्ट्र विखण्डनको समयमा केन्द्रीय सत्तामा बलियो पकड रहेको सर्वियनहरूले पाक्राच क्षेत्रमा ठूलो नरसंहार गरेका रहेछन्। शक्तिको उन्मादले कति क्रोसियनहरूको घर जलाए, कति क्रोसियनहरूको हत्या गरे त्यसको हिसाबकिताब गरिसाध्य रहेनछ। त्यसैले गर्दा पनि क्रोसियन प्रहरीहरूको आँखामा सर्वियनहरूप्रति कुनै दयाभाव देखिन्थेन। नजिकैको एक क्रोसियन प्रहरी भन्दै थिए, “हामीले राक्षसहरूलाई उनीहरूको भूमिमा फर्काएका छौँ। जहाँ उनीहरू धेरै पहिला नै गइसक्नुपर्ने थियो। उनीहरूको लुटको अगाडि हाम्रो यो कारवाही अत्यन्त दयापूर्ण छ। हामी सर्वियनहरू जस्ता भेडा होइनौं।”

सायद केन्द्रीय राज्यमा सर्वियनहरूको हालिमुहाली हुँदा अन्य जातिहरूमाथि भएको थिचोमिचोका कारण पनि क्रोसियनहरू सर्वियनहरूप्रति निकै निर्दयी देखिन्थे।

संयुक्त राष्ट्र संघीय शान्ति सेनाका गाडीहरूले साइरन बजाई जाने संकेत गरेपछि त्यहाँ भएका सम्पूर्ण मानिसहरूमा फेरि एकपटक ठूलो हल्लाखल्ला मच्चियो। उनीहरूका लागि आफ्नो देश छोड्न अब पन्ध्र मिनेट मात्र बाँकी रहेकाले सबैले आफ्नो मालसामान केही छुटेको छ कि भनी चेक गर्न थाले। कोही यताउता दगुर्न थाले। कोही घर हेर्दै रुन थाले। कोही गाडीमा मुख छोपेर रुन थाले। कति त्यसै छट्पटाइरहे।

“उफ् ! कति चाँडै समय बितेछ। दारियो ! म तिमीलाई सबैभन्दा बढी माया गर्छु तर पनि तिम्रो यहाँ बस्ने अनुरोध स्वीकार्न सक्दिन। मलाई क्षमा गर ल !” दारियोको मौनतालाई भङ्ग गर्ने प्रयत्न गर्छिन् नादा।

“नादा ! म तिमीलाई रोक्दिन। म तिम्रो माया र कर्तव्यपरायणतामा गर्व गर्छु। तर तिमीले सीमापारि पनि मलाई पर्खनुपर्छ। तिमी र म मिलेर यो क्रोसियन र सर्वियनको पर्खाललाई भत्काउनुपर्छ ताकि अर्का नादा र दारियोहरूले यस्तो नियति भोग्नु नपरोस्।” दारियोले आफ्नो साँचो प्रेमको विश्वास दिलाएका थिए।

साँझ बढदै थियो। सबै आ-आफ्ना गाडीमा चढ्ने अन्तिम तरखरमा थिए। सडक किनाराहरू बिस्तारै खाली हुँदै थियो। बसका झ्यालहरूबाट सबै आ-आफ्ना घरतर्फ हेर्दै आँसु पुछ्दै गरेको देखिन्थ्यो। केटाकेटीहरू आ-आफ्नै धुनमा यताउति दौड्दै थिए। सायद उनीहरूलाई आफ्नो गाउँ छोड्नु परेको यथार्थ थाहा थिएन जस्तो भान हुन्थ्यो।

दारियो एकटक लगाएर नादालाई अँगालोमा बाँधी नादाको अनुहारमा हेरिरहेका थिए। नादासँगको सम्बन्ध एकएक गरेर दारियोको मानसपटलमा खेलिरहेको थियो।

नादाका ती नीला-नीला आँखाहरू, गोरो अनुहार, मीठो मुस्कानले नै सुरुमा दारियोलाई मोहित पारेको थियो। तर पछि नादाको व्यवहार र मायाले उसलाई झन् नादाको नजिक पुर्‍याएको थियो। त्यसो त नादालाई पनि आफूलाई प्रेम प्रस्ताव राख्ने दसौं केटाहरूमध्ये दारियो नै मनपरेको थियो। अग्लो कदको दारियो पनि कम्ती रोमान्टिक थिएनन्। तर प्रेम प्रस्ताव चाहिँ पहिले दारियोले नै राखेका थिए।

मेरो कोठा नादाको घर नजिकै हुनाले अक्सर दारियो र नादालाई कफीवार, डिस्को र मारिनोसेलो (क्रोसियन भूभागमा रहेको सुन्दर ताल) को वरपर देख्ने गर्थे। रमाइलो कुरा त यो थियो कि मैले उनीहरूलाई एक्लाएक्लै कहिल्यै देखेको थिइँन। मलाई यी दुईको जोडी खुब मन पर्दथ्यो। कहिलेकाहीँ बाटो क्रस गर्दा दुवैजना मुसुक्क मुस्कुराउँथे। म पनि प्रत्युत्तरमा हाँस्दथेँ तर बोली भने मिसिएको थिएन। मैले बेलाबखतमा बेलुकीको खाना खाने बेलामा यी जोडीको चर्चा गर्दा मेरा घरबेटी टाटा (बुबा) ले ओठ लेप्य्राएर दुवै कुम माथि उचाल्थे। सायद टाटालाई उनीहरूको सम्बन्ध मन परेको थिएन। मलाई पछिमात्र थाहा भयो। टाटा आफू सर्वियन भएकोले दारियोले सर्वियन केटीसँग सम्बन्ध राखेको मन नपराएका रहेछन्।

दारियो र नादाको सम्बन्ध ग्रावानीचा, पाक्राच लगायतका क्षेत्रका सबैलाई थाहा थियो। सर्वियनहरू दारियोलाई देखाउँदै ‘ने दोब्रो’ (नराम्रो) भनी टाउको हल्लाउने गर्दथे। मलाई विकासको चरम विन्दुमा पुगेको युरोपीय मुलुकका मान्छेहरूमा पनि यस्तो सङ्कुचित विचार देख्दा अचम्म लाग्दथ्यो। यसबाट मेरो गोरो छाला हुनेहरूलाई बुद्धिजीवी ठान्ने बच्चादेखिको सोचमा परिवर्तन आएको थियो।

वास्तवमा दारियो र नादाको साहसलाई मान्नै पर्ने थियो। त्यस्तो जातीय विभाजनको अवस्थामा पनि यिनीहरूमा कस्तो आत्मीयता थियो, कस्तो समर्पण थियो। बारम्बार आफ्नो घरबाट अनिष्टको सङ्केत गर्दा पनि उनीहरूले कुनै पर्वाह गरेका थिएनन्।

साँच्चै नै यिनीहरू ब्रम्हाण्डकै साहसिक जोडी हुन् कि जस्तो लाग्दथ्यो। जति-जति यिनीहरूको कुरा सुन्दथेँ, मलाई झन्झन् यिनीहरूको बारेमा अरू जान्ने उत्सुकता जाग्दै जान्थ्यो।

नादालाई डिस्कोको भीडभाड त्यति मन पर्दैनथ्यो तर पनि दारियोको खुसीको लागि उनी डिस्कोमा दारियोलाई साथ दिन्थिन्। कहिलेकाहीँ दारियो डिस्कोमा बढी नै बियर पिउँथ्यो र बियरको नशामा लड्खडाएका दारियोलाई नादा सम्हाल्दथिन् र घरसम्म पुर्‍याउँदथिन्। भोलिपल्ट बिहानै दारियो नादासँग राति भएको गल्तीको क्षमा माग्दथे। नादा स्वीकारोक्तिमा टाउको हल्लाउँदथिन्।

“नादा ! तिमी बिना म बाँच्नै सक्दिन। मेरो खुशी, हाँसो अनि जीवन भन्नु नै तिमी हौ ! मलाई कहिल्यै आफ्नो अँगालोबाट नछाड ल !” बियर पिएको बेला सधैँ दारियोले नादालाई यस्तैयस्तै भन्ने गर्थ्यो।

दारियो नादालाई अति नै माया गर्दथे, त्यसो त नादा पनि कम माया गर्दिनथिन्। हुन त युरोपीय समाजमा सम्बन्ध बन्न र बिग्रन पाँचै मिनेट काफी हुन्छ। सानो-सानो झगडामा पनि डिभोर्स हुनुलाई नौलो मानिन्न। हप्तैपिच्छे गर्लफ्रेण्डसँग मनमुटाव हुने र छुट्टिने गरेको प्रशस्त उदाहरण भेटिन्छन्। तर दारियो र नादाको पाँच वर्षको लगातार साथमा पनि कहिल्यै झगडाको अनुभव हुन पाएन। कहिल्यै ठासठुस देखिएन। उनीहरूले आफ्नोबीचमा जातीयताको रङ कहिल्यै अगाडि ल्याएनन्।

दारियो र नादाको धेरैजसो साँझ मारिनोसेलोको किनारमा बित्दथ्यो। नादालाई भर्खर उदाउँदै गरेको जून मारिनोसेलोको पानीमा हेर्न खुब मज्जा लाग्दथ्यो। घण्टौँसम्म दारियो र नादा मारिनोसेलोको सुनसान किनारमा जून हेर्दै चुम्बन साटासाट गर्दथे। उनीहरूको साँचो प्रेमको प्रत्यक्ष साक्षी थियो मारिनोसेलो र जून।

“दारियो ! मलाई यो जून र तिमी उस्तै लाग्छ। दुवै कति शीतल !” पानीको जूनलाई देखाउँदै नादाले दारियोलाई भनेकी थिइन्।

प्रत्युत्तरमा दारियोले मुस्कुराउँदै नादालाई चुम्बन गरेका थिए। अँगालो, चुम्बन, जून, मारिनोसेलो, चिसो हिमपात र कैयौं मीठा रातहरू यिनै थिए दारियो र नादाबीचको रोमाञ्चक क्षण।

दारियो एकपछि अर्को गर्दै सम्झँदै थिए नादासँगको मीठो विगत।

अचानक बसको हर्न लागेको आवाजले झस्कँन्छन् दारियो। बसमा आउने संकेतले ऊ झन् नादालाई बेस्सरी अँगालोमा कस्छन्। सबै मानिसहरू बस चढिसकेको र बस गुड्ने तरखरमा लागेकोले आफू जानुपर्ने जनाउ दिन्छिन् नादा। नादा दारियोको बहुपासबाट फुत्किन खोज्छिन्। दारियो नादाको अनुहारमा मौन अनुरोधको सङ्केत गर्दै झनै आफूसँग टाँस्छन्।

“दारियो ! तिम्रो जस्तै पीडा मैले पनि अनुभव गरेकी छु। तिम्रो अनुपस्थिति मेरा लागि कति भयावह होला ? मेरो जीवनमा कति शून्यता आउला ? कस्तो रिक्तता छाउला ? नियतिको खेल यस्तै रहेछ बुझ्यौ ?” नादा बायाँ हातले आँसु पुछ्दै दाहिने हातले दारियोको हात छुटाउने प्रयत्न गर्छिन्।

“नादा ! मान्छेले देश ठूलो भन्छन् तर मलाई त यतिखेर देशभन्दा मान्छे ठूलो लागिरहेछ। यदि मेरो लाग्ने भए सबै मान्छेहरूको म एउटै देश र एउटै जात बनाउने थिएँ। त्यसो भएपछि कसैले पनि विदेशिनुपर्ने पीडा झेल्नुपर्ने थिएन। कोही अकारण आफ्नो भूमिबाट लखेटिनुपर्ने थिएन। कोही बेकसुर आफ्नै मान्छेहरूको हातबाट मर्नुपर्ने थिएन। अनि कति खुसी हुन्थे होलान् मान्छेहरू।”

दारियोको कुरामा सहमतिको टाउको हल्लाउँदै आँखाबाट अश्रुधारा बगाउँदै नादा बसतर्फ अगाडि बढ्छिन्। दारियो पछिपछि लाग्छन्। नादा बसभित्र आफ्नो सिटमा बसी झ्यालबाट टाउको निकाल्छिन् र दारियोसँग अन्तिम बिदा माग्छिन्। दारियो नादा बसेको झ्याल नजिकै उभिएर नादाको हात समाउछन्।

“नादा ! म हरेक साँझ मारिनोसेलोमा गई जूनको प्रतीक्षा गर्नेछु। तिमी पनि सावाव्रिज (क्रोसिया र बोस्नीया हर्जगोबिना बीचको पुल) पारिबाट जून हेर्न नबिर्सनू ! हामी हरेक साँझ त्यही जून हेरेर जूनमै भेटौंला। जूनलाई त कसैले पनि विभाजन गर्न सक्ने छैन बुझ्यौ ?” दारियो आँखाको आँसु लुकाउन सक्दैनन्। नादाको आँसुको थोपा दारियोको हातमा तप्प खस्छ।

“दारियो ! मेरो यो थोत्रो घरलाई माया गर ल ! यी कफीका बोटहरूले तिमीलाई सधैँ मेरो सम्झना दिइरहनेछ यिनीहरूको ख्याल गर्नू है। अनि …….।”

नादाको स्वर बीचैमा अड्कन्छ। उनी केही बोल्नै सक्दिनन्। बस गुड्छ। सडकका सम्पूर्ण गाडीहरू गुड्न थाल्छन्। दारियो बसको गतिलाई एकटकले हेरिरहन्छन्। बसको झ्यालबाट पछाडितर्फ हेर्दै नादाले दारियोलाई बिदाइको हात हल्लाउँछिन्। दारियो पनि प्रत्युत्तरमा हात हल्लाउँछन्। पर एउटा कुइनेटोमा पुगेपछि बस देखिन छाड्छ। नादा हराउँछिन् मात्र नादाको छायाँ दारियोको आँखामा नाँचिरहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved