घर फर्किरहेको साँझ…

सुन्नुहोस्

यहाँ दिनहूँ दशौँ हजार नयाँ मान्छे आउँछन्। उनीहरू पनि झोलाका झोला सपना भरेर आउँछन् यहाँ। काठमाडौं सपनाको शहर हो। काठमाडौंलाई गाली गर्नु उनीहरूका सपनालाई गाली गर्नु हो, भो नगर् यार गाली काठमाडौंलाई।

घर फर्किरहेको साँझ…

लक्ष्मणजीले भन्नुभयो, ‘‘एउटा निबन्ध लेख्नु न त ब्रो।’’

‘‘के ?’’

‘‘घर फर्किरहेको साँझमाथि।’’

त्यो विषय मोड्न म चियाको कुरा गर्छुँ।

‘‘त्यो कुरा त्यस्तै हो बरु चियाको वर्ग विभाजन गर्नुपर्छ,’’ भन्छु, ‘‘दूध चियालाई हामीले लो क्लास क्याटेगोरीमा राख्नुपर्छ, लेमन टी मिडल क्लास, ब्ल्याक टी चाहिँ एलिट…’’

तर कुरा मोडिन्न, उहाँ फेरि भन्नुहुन्छ, ‘‘साँझमाथि के। राम्रो हुन्छ।’’

उहाँलाई साँझको कुन झोंक्काले छोएर पुलकित पार्यो कुन्नि! उहाँ साँझमाथि उत्साहित हुनुहुन्छ। तर मलाई सबैभन्दा मन नपर्ने विषय। त्यस्तो दिक्क लाग्दो विषयमाथि के लेख्नु ? लेख्नु त छैन मलाई, भनिदिन्छु, ‘‘हुन्छ।’’

कसैलाई पर्खाउनु राम्रो त होइन, तर आफूलाई पर्खिबस्ने कोही भए मात्रै रमाइलो हो साँझ। साँझ, घर हुनेका लागि हो, पर्खिबस्ने कोही हुनेका लागि हो।

सामान्यतया साँझ अर्थात् कहीँकतै भड्किएर फर्किनुपर्ने ठाउँमा फर्किने समय। यस बेलालाई मान्छे गोधुली बुझ्दा हुन्। दक्षिणी पाखामा पुगेर आत्महत्या गर्न तम्सिएको सूर्य, अघाएर ढल्किँदै ढल्किँदै घर फर्किरहेका बस्तुभाउ, तिनले उडाएको धूलोसँग डुब्दो घामको रंग पोतिएर बन्ने क्यानभास। तर आफूले कहिल्यै साँझलाई गोधुली बुझिएन, त्यो त घरबाट निस्किने समय थियो हाम्रो। स्कूलबाट आयो, कपडा फुकाल्यो र निस्कियो घरबाट। खुला चउँरमा २०६ हड्डी लर्याकलुरुक्क हुनेगरी भकुण्डो हुत्यायो। अनि टिसर्ट फुकालेर असिनपसिन भई झ्याँकीरीको संगीतसँगै फर्कियो घर। रित्तो घरमा एक्लै पर्खिबस्नुहुन्थ्यो आमा। गुनाशो गर्नुहुन्थ्यो। चित्त दुखाउनुहुन्थ्यो। आफ्नो पनि चित्त दुख्थ्यो खाना पर्खिरहेकी आमाको कामैकामले थकित र उदास अनुहार देखेर। यसरी बरालिएर हिँड्नुभन्दा अलिकति आमालाई सहयोग गरिदिए सजिलो हुँदो हो भनेर मन पग्लिन्थो। तर मान्छेका लागि दया, करुणा र कोमलताको आयु कहाँ लामो हुन्छ र ? अर्को दिन बरालिँदै पुगिन्थ्यो खोला किनारको चउँर र फर्किनहुन्थ्यो निष्पट्ट अँध्यारोमा झ्याँकीरीको संगीतसित। एउटा पर्खिने ठाउँ थियो, घर थियो, साँझ थियो।

अब कार्यालयबाट निस्किएपछि पुग्नैपर्ने त्यस्तो जरुरी ठाउँ हुँदैन। जहाँ गएर भड्किए भयो। जहाँ लगेर फाले पनि भयो आफूलाई। सर्ट फुकालेर कच्याक्कुचुक्क पारेर कुनामा फाले जस्तो, रातमा ल्याएर फाले भयो ओछ्यानमा। नभए जिन्दगी यो शहरको कुनै कुनामा जता लगेर हुत्याए पनि भयो। मातेर हिँडे भयो गल्लीहरूमा, पुगे भयो बारमा अथवा आर्यघाटका बेञ्चमा क्यान बोकेर।

त्यो दिन पनि निस्किएँ म कार्यालयबाट। कार्यालयबाट निस्किन हतार भए पनि पुग्न कतै हतार छैन। जहाँ पुगे पनि भयो। यी मेरा साँझहरू भए, तर के सबैका साँझ एकैनास हुन्छन् त? चाकुपाटको स्कूलमा व्यग्रताका साथ केटाकेटी पर्खिरहेका अनुहारले प्रश्न गरिरहेका थिए मलाई। तिनीहरूको साँझ केटाकेटी लिएर घर फर्किएर बितिजाँदो हो।

पाटन दरबारका भित्ताहरूमा लहरै बसेका प्रेमिल जोडीलाई लाग्दो हो साँझ त जिन्दगीको सबैभन्दा सुन्दर हिस्सा हो। लाग्दो हो साँझहरू एक जुग जति लामा हुन्, यसैमा बितिजाओस् जिन्दगी बरु। यही मण्डपमा औँलाका काँपमा औँला राखेर हिँड्ने एक थान नरम हातको सम्झना आउँछ मलाई। कानमा आएर गुन्जिन्छ एक पुरानो मायालाग्दो आवाज, ‘‘यी साँझहरूमा यसरी हजुरको हात समातेर हिँड्न खुब मन पर्छ।’’ सम्झिन्छु त्यो साँझ, जुन साँझ मैले पनि प्रेमिल हुँदै भनिदिएको थिएँ, ‘‘तिम्रा औँलाको स्पर्शले म अमर हुन्छु।’’ मलाई पनि त लाग्थ्यो, जिन्दगीमा सात सय रोपनी खेत खन्न लाग्ने समय जति लामो साँझ होस्।

अलि पर पेटीमा साग बेचिरहेकी बुढी आमा छिन्। वैराग्यको कुन लाठीले पिठ्युँमा हिर्काएको छ खै कुन्नि तिनको, छैन अलिकति पनि इन्द्रेणी ओठमा। लहरै बिछ्याएर हरियो साग, सुकेको पराल जस्तो जिन्दगी चपाएर चुपचाप बसिरहेकी छन्। नबिकेको साग देखेर साँझमा बचेरालाई के खुवाउने भन्ने चिन्ता हो कि! त्यसो नहुन पनि सक्छ। किनकी चार मुठा साग किनेर लग्यो भर्खरै कसैले उनीबाट। तर पनि उनको ओठमा फुलेन सीमल। उस्तै निरस छिन् ती आमा। कि त एकै किसिमको साँझहरूमा बाँच्दा बाँच्दा अमिलिएको छ मन तिनको? कुन्नि! मलाई यो जान्ने कुनै उत्सुकता हुँदैन। म सरासर हिँडिदिन्छु।

साँझमाथि लेख्नु न भन्ने लक्ष्मणजीलाई सम्झन्छु, सोच्छु, कस्तो ठिस मान्छे। साँझमाथि के लेख्नु ? यस्तो उदेगलाग्दो समयको पनि कहीँ निबन्ध हुन्छ ? लेख्नु छैन मलाई साँझमाथि केही। मलाई सबैभन्दा मन नपर्ने विषय। यद्यपि, त्यो साँझ म साँझ बाँचिरहेका जिन्दगीहरूलाई बडो उत्सुकताका साथ हेरिरहेको छु।

बरालिँदै ग्वार्को पुगुञ्जेल घर फर्किरहेका एक संसार मान्छे हेरिभ्याउँछु। कोही हतारहतार लमकलमक, कोही सुस्त सुस्त चालिरहेछन् पाउ।

बसमा झुण्डिएर, खाँदिएर यात्रा गरिरहेछन् मान्छेहरू। तीमध्ये लगभग प्रायः घर फर्किरहेकाहरू होलान्। निबन्ध लेख्नु जस्तो सुकिलो अनुहार कुनै छैन, सब श्रद्धाञ्जली सभामा उपस्थित जस्ता। मलाई बस्नु छैन अगाडि, अगाडि बस्न दिँदैन पनि सहचालकले, पछाडि नै जानुस् भनिरहेछ। गइदिएँ। संयोग भनौँ पछाडि पुग्नु र एउटा मान्छे सिटबाट उठ्नुको समय उस्तै पर्यो। सुटबुटमा सजिएको ऊ खाँदिँदै हतारहतार निस्कियो, हातमा मोटो ब्याग बोकेर। हेर्दै घुसखोर सरकारी हाकिम जस्तो। ऊ इमान्दार राष्ट्रसेवक पनि हुनसक्छ। केही नहुन पनि सक्छ। सरकारी कार्यालयले हिर्काएका दुःखले होला, मलाई त्यस्ता सुटेटबुटेट हुलिया खासै मन चाहिँ पर्दैनन्।

सिटमा एक अधबैंशे महिला बसिरहेकी थिइन्। सोधेँ, ‘‘कहाँ जाने तपाईँ ?’’

‘‘चाबहिल’’

‘‘किन ?’’

ढ्याक गुच्चा जस्ता आँखा फ्याँक्दै आँखैले तिनले केही भनिन्। मैले बुझिनँ आँखाको कुरा। चुपचाप बसिरहेँ। हेरेँ बसभित्र/बसबाहिर। झर्ने र उक्लनेको तछाडमछाड। बाहिर हिँडिरहेका एक संसार मान्छे। तीमध्ये धेरै त मजस्तै बेघरहरू पनि होलान्। तर बेघरमध्ये धेरैका बहालमै भए पनि कोही पर्खिबस्ने होलान्। त्यसैले त यसरी व्यग्रताका साथ चालिरहेछन् पाउ। साँझ सबैका लागि एकनासको नहुँदो रहेछ। सबैका साँझ फर्किने पाउको चाल फरक हुँदो रहेछ।

ठाउँ ठाउँमा जामको लहरो छ, सबैका अनुहारमा झल्किन्छ हतारको भाव। मलाई पुग्न कहीँ जरुरी त छैन, तर जामको ठक्कर खाँदै घिस्रिरहेको बसबाट भने ओर्लनु छ। चाबहिल झरेँ, सम्झिएर चाबहिलको पानीपुरी पसल।

मन त पर्दैन पानीपुरी तर पनि खै कुन्नि किन म त्यता लागेँ। कसैले लगेको थियो त्यहाँ कुनै साँझ, त्यसैले हो कि! एक प्लेट पानीपुरी मागेँ र गफिन थालेँ त्यो मान्छेसित।

‘‘पसल कतिबेला बन्द गर्ने ?’’

‘‘साँझतिर।’’

शहर कंक्रिटैकंक्रिटले भरिएको छ। ढुंगैढुंगाको जंगल भइसकेको छ काठमाडौं। कहीँकतै अलिअलि खालि ठाउँ छ, त्यहाँ दिनमा घामको रंग पोखिन्छ। ती खालि ठाउँ पनि अँध्यारोले कब्जा गरिसकेको थियो। तथापि उसको साँझ आइसकेको थिएन, ऊ साँझकै प्रतीक्षामा थियो।

‘‘कतिबेला हुन्छ साँझ ?’’

‘‘मान्छेहरू आउन छाडेपछि,’’ ऊ सटिक जवाफ दिन्छ।

उसको साँझ ग्राहक आउन रोकिएपछि पर्नेरहेछ। साँझको परिभाषा व्यक्तिपिच्छे फरक हुँदो रहेछ। उता गाउँमा झ्याँकीरी बास्न थालेपछि पर्ने मेरो साँझ यता घडीले पाँच बजाए पर्छ। अघि कोटेश्वरका फुटपाथमा सामान किनिरहेका मान्छेहरूका लागि साँझ त्यही थियो होला, सिनामंगलमा तरकारी किनिरहेकाहरू साँझ परेरै किनिरहेका हुँदा हुन्। अब त पाटनमा साग बेचिरहेकी ती आमाको पनि भयो होला समय साँझको।

‘‘कता बस्नुहुन्छ ?’’

‘‘यतै नजिकै।’’

‘‘घरमा को को छ ?’’

‘‘एउटा छोरी छ।’’

‘‘अनि छोरीको आमा?’’

म प्वाक्कै सोधिहाल्छु। सोध्न नहुने पो कुरा थियो कि! ऊ रिसालु नजर फ्याक्छ मतर्फ तर धेरैबेर अडाउन सक्दैन। मलिन चेहरासहित पानीपुरी बनाउन थाल्छ। उसकी स्वास्नीलाई के भयो ? खसि कि ? कि छाडेर हिँडी उसलाई ? मलाई केही थाहा छैन। उसले यसको जवाफ दिएको छैन, खालि यत्ति संकेत गरेको छ कि उसकी स्वास्नी ऊसँग छैन। प्रश्न फ्याकिदिएको छ केवल, जवाफ छैन।

उसलाई साँझ परेपछि घर जानुछ। छोरीलाई खाना पकाएर खुवाउनुछ। छोरी स्कूल जाने उमेरकी छ भने किनेर लगिदिनुपर्ने होला कलम र कापीहरू। कलेज जाने उमेरकी भइसकी भने चाहिँ डिमान्ड आम्दानीभन्दा बढीे हुनसक्छ। म एक्लै छु, म निस्किउञ्जेल अर्को ग्राहक आएको छैन पसलमा। उसले कमायो होला कि नाइँ आज दिनभरि साँझ काट्ने पैसा ? मलाई थाहा छैन। सोध्नु उचित ठान्दिनँ पनि।

चाबहिल चोकमा बानेश्वरको टेम्पो पर्खिन्छु। टेम्पो आउँछ। रोक्छ। तर मनमा के खयाल आउँछ, त्यो बाटो फर्किन मन लाग्दैन र बाटो काटेर समाउँछु चक्रपथको गाडी। झ्यालबाहिर टाउको राखेर गन्न थाल्छु, हतासहतास उदासउदास मान्छेहरू। वनपालेले एक वर्ष प्रतिवन्ध लगाएपछि झाँगिएको अस्तव्यस्त वन जस्तो लाग्छ काठमाडौं। मान्छे नै मान्छेहरूको जंगल। खै कतिओटा जति मान्छे गन्छु र कतिबेला गन्न छाडिसकेको हुन्छु।

एक लाख मान्छेहरूको अनुहार टेकिसकेपछि कलंकी पुग्छु। नरेन्द्रको याद आउँछ। ग्वार्कोदेखि कलंकीसम्मको साढे चार घण्टा लामो बाटोमा देखिए जति अनुहारको माया लागेर आउँछ नरेन्द्रलाई सम्झिनेबित्तिकै।

यतै कलंकीको कुनै गल्लीमा चिया पिउँदै गर्दा गाली गरेको थिएँ काठमाडौंलाई।

‘‘होस् गाली नगर् यार यो काठमाडौंलाई,’’ उसले भनेको थियो। ‘‘किन नगर्नु ? गर्ने हो।’’ मैले आडम्बरसाथ भनेको थिएँ।

नरम र आशामिश्रित आवाजमा उसले भनेको थियो, ‘‘काठमाडौं तँ केही सपना देखेर आएको थिइस्। म पनि सपनाकै लहरो तान्दै यहाँ आइपुगेँ। यहाँ दिनहूँ दशौँ हजार नयाँ मान्छे आउँछन्। उनीहरू पनि झोलाका झोला सपना भरेर आउँछन् यहाँ। काठमाडौं सपनाको शहर हो। काठमाडौंलाई गाली गर्नु उनीहरूका सपनालाई गाली गर्नु हो यार, भो नगर् गाली काठमाडौंलाई।’’

हिँड्न शुरु गरेको गाडीबाट हतारिँदै झर्छुँ र चोकैछेउको चिया पसलमा पुगेर नरेन्द्रलाई कल गर्छुँ। फोन लाग्दैन। बारम्बार गरिरहन्छु। धेरै लामो समयपछि मात्रै सम्झन्छु, उसले त यो शहर छाडेछ। सपनाको शहर छाडेछ। ऊ नयाँ सपना देखेर पलायन भयो। उसले यहाँ सपना देख्न छाड्यो, वा भनौँ यो शहरले देखेन उसका आँखाका सपना। अब नरेन्द्र काठमाडौंलाई सम्झिँदो हो कि नाइँ ? सम्झिँदा गाली गर्दो हो कि प्रेम ? झ्यालबाट पश्चिमतर्फ हेर्छुँ, सपनैसपना भरिएका शरीर बोकेर काठमाडौं भित्रिरहेछन् बस। तारन्तर भित्रिरहेछन् लहरकालहर बस, त्यो साँझ म हेरिरहन्छु चालीस सिट सपना भरेर काठमाडौं भित्रिरहेका बसहरू।

सोच्छु, ‘‘लक्ष्मणजी, साँझ घर फर्किनेहरूको मात्रै हुँदैन, घर छाड्नेहरूको पनि हुन्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved