भताभुंग कांग्रेसका भ्रातृ संगठनहरू

भताभुंग कांग्रेसका भ्रातृ संगठनहरू

काठमाडौं। ३ फागुनमा बसेको नेपाली कांग्रेस कार्यसमपादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गर्ने निर्णय गर्‍यो। बैठकले यसरी कार्यकाल सकिएको भ्रातृ संगठनहरूको फागुनभित्र तदर्थ समिति गठन गर्ने पनि निर्णय गर्‍यो।

३ फागुनको उक्त निर्णय पछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा दुई पटक पदाधिकारी बैठक अनौपचारिक रूपमा बसेर कसरी तदर्थ समिति गठन गर्ने भन्नेमा छलफल गरेको छ। बुधवार पनि कांग्रेस पार्टी कार्यलयमा उपसभापति खड्काको अगुवाइमा भ्रातृ संगठनहरूकै सन्दर्भमा बैठक बसेको छ।

उपसभापति खड्काले भ्रातृ संगठनहरूमा नयाँ तदर्थ समितिहरू बनाएर सकबेको महाअधिवेशनहरू सम्पन्न गर्नेगरिको गृहकार्य अघि बढेको बताए। “फागुन मसान्तभित्रै तर्थद समितिहरू निर्माण हुने गरी छलफलहरू अगाडि बढेको छ”, खड्काले नेपालभ्यूजसँग भने, “वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाइ समेत हेरेर भ्रातृ सगठनहरूको महाधिवेशन गर्ने गरी मितिहरू तय हुन्छ।”

फागुन मसान्तभित्र कार्यकाल सकिएका भ्रातृ संगठनहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको मिति घोषणा गर्ने कांग्रेसको तयारी छ। पुरानौ नेतृत्व रहेको तर महाधिवेशन गर्ने समय भइसकेका भ्रातृ संगठनहरूको पनि महाधिवेशन गर्ने मिति घोषणाको तयारी चलिरहेको छ।

तीन महिना अगाडि भएको कांग्रेसको १४ औं महाधिवेशनबाट कांग्रेसका पाँच भ्रातृ संगठनका अध्यक्ष केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महिला संघकी अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष राजीव ढुंगाना र मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि विधानतः यी भ्रातृ संगठनहरूको पद रिक्त छ।

यद्यपि उनीहरूले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छैनन्। तरुण दलका अध्यक्ष जितजंग बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले तरुण दलको जिम्मेवारीवाट हटेको घोषणा गरेका थिए। सभापति शेरबहादुर देउवाले उनलाई बोलाएरै त्यस्तो घोषणा गर्नबाट रोकेका थिए।

बस्नेतका अनुसार देउवाले पार्टीले अर्को व्यवस्था नगरेसम्म तरुण दल पनि हेरिराख्न निर्देशन दिएका थिए। बस्नेतले आफूहरू पनि पार्टीका भ्रातृ संगठनहरू चुस्तदुरुस्त होऊन् भन्ने पक्षमा रहेको बताए।

कांग्रेस सहमहामन्त्री जीवन परियारले पार्टीको भ्रातृ सगठनहरूबारे पार्टीभित्र गम्भीर छलफल शुरु भएको बताए। “यसको परिणाम राम्रै आउँछ”, परियारले भने, “विगतको समीक्षासहित भविष्यको कार्ययोजनमा हामी गृहकार्यमा छौं।”

केन्द्रीय सदस्यमा निर्वाचित भएका नेविसंघका अध्यक्ष राजीव ढुंगाना दुई वर्षपछि अधिवेशन नगरेर बाहिरिने अवस्था आएको छ। ढुंगाना नेतृत्वमा ११० सदस्यीय कमिटी बनाउने भनिए पनि १० पदाधिकारी मै उनको नेतृत्वको नेविसंघ सीमित छ। दुई वर्ष अगाडि कांग्रेसमा नेविसघको अधिवेशनलाई लिएर चर्काचर्कीसमेत भएको थियो।

केन्द्रीय समिति बैठकमा सभापति देउवा र तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएपछि पौडेल पक्षले पार्टीको बैठकसम्म बहिष्कार गरेका थिए।

कांग्रेसको भ्रातृ संगठनहरूमा प्रत्येक तीन वर्षमा अधिवेशन हुने व्यवस्था भए पनि ०७३ भदौ यता नेविसंघको महाधिवेशन हुन सकेको छैन। २०७३ मंसीरमै तरुण दलको अध्यक्ष बनेका बस्नेतले पाँच वर्षसम्म कमिटीलाई पूर्णता दिन सकेनन्। उनले बरू पार्टीको केन्द्रीय समितिमा छलाङ मारे। तीन वर्षे कार्यकालमा बस्नेत नेतृत्वको कार्यसमितिले थप दुई वर्ष पाउँदा पनि तरुण दलले अधिवेशन गर्न सकेको छैन।

तरुण दलजस्तै महिला संघको वर्तमान कमिटी ०७३ असोजमै निर्माण भएको हो। महिला संघकी अध्यक्ष उमा रेग्मी अहिले महिला बालबालिका मन्त्री र पार्टीको केन्द्रीय सदस्य भइसकेकी छन्।

कांग्रेसको केन्द्रीय राजनितीमा वर्षौंदेखि देखिएका मीन विश्वकर्मा नेपाल दलित संघमा एक दशकदेखि नेतृत्वमा छन्। तीन वर्षे कार्यकाल रहेको संघको चौथो महाधिवेशन २०६९ सालमा सम्पन्न भएका १० वर्ष भइसकेका छन्। योबीचमा विश्वकर्मा पार्टीको तीनपटक केन्द्रीय सदस्य भइसके। तर दलित संघमा नयाँ नेतृत्व आएन।

२०७५ साल वैशाखमा दोस्रो महाधिवेशनबाट मुस्लिम संघको नेतृत्वमा आएका अब्दुल सत्तार पनि केन्द्रीय सदस्यमा निर्वाचित भए। त्यहाँ पनि नयाँ नेतृत्व आउनुपर्ने हो।

२०६४ सालमा गठन भएको किसान संघले अहिलेसम्म अधिवेशन गर्न सकेको छैन। यस्तै नेपाल प्रजातन्त्र सेनानी संघले पनि २०६९ सालपछि अधिवेशन गरेकै छैन।

२०७३ साल केन्द्रीय अधिवेशन गरेको नेपाल भूतपूर्व सैनिक संघ र २०६४ सालदेखि नेपाल आदिवासी जनजाति संघको पनि अधिवेशन भएको छैन। यस्तै २०६६ सालमा गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले एकपटक पनि अधिवेशन गरेको छैन। नेपाल तामाङ संघको अध्यक्षमा १२ वर्षदेखि केवलबहादुर तामाङ रहेका छन् भने नेपाल राष्ट्रिय मगर संघको पनि नियमित अधिवेशन भएको छैन।

२०७५ साल वैशाखमा दोस्रो महाधिवेशन गरेको नेपाल मुस्लिम संघमा पनि महाधिवेशनको सुरसार छैन। नेपाल ठाकुर समाजले २०६७ साल वैशाखदेखि महाधिवेशन गरेको छैन। ठाकुर समाज ११ वर्षदेखि पुरानै नेतृत्वबाट सञ्चालित छ।

कांग्रेसका १८ शुभेच्छुक संस्थामध्ये अधिकांश नियमित अधिवेशन हुन सकेको छैन। नेपाल प्रेस युनियन, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी लोकतान्त्रिक संस्था महासंघ र नेपाल लोकतान्त्रिक शेर्पा संघले अधिवेशन भएको छैन।

नेपाल कुमाल संघलगायत धेरैको नियमित कार्यकाल सकिएको वर्षौं हुँदासम्म पनि अधिवेशन हुन सकेको छैन। सांस्कृतिक संघ पाँच वर्षदेखि चारजना पदाधिकारीमा सीमित छ। सांस्कृतिक संघले पनि बारम्बार म्याद थप्दा पनि अधिवेशन गर्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved