जसपाभित्र चर्किँदै विवाद, नेताहरू भन्छन्ः ठूलो समस्या छैन

जसपाभित्र चर्किँदै विवाद, नेताहरू भन्छन्ः ठूलो समस्या छैन

काठमाडौं। बिहान सत्ता गठबन्धनले निर्णय गरिसकेपछि आइतबार दिउँसो जसपा नेपालले पनि एमसीसीबारे निर्णय गर्‍यो।

शुक्रबार नै जसपाको कार्यकारणी समिति बैठकको एजेण्डामा एमसीसी परे पनि शनिबारसम्म जसपाले त्यसबारे निर्णय गर्न सकेन। आइतबार बिहान माओवादी केन्द्र र नेकपा एसको निर्णयपछि सत्तागठबन्धनले एमसीसी पारित गर्ने निर्णय गरेको थियो।

जसपाले त्यसपछि आफ्ना कार्यकारणी समिति सदस्यहरूलाई हतार हतारमा पार्टी कार्यालयमा आउन निर्देशन दिएको थियो। उक्त बैठकमा तीन ओटा निर्णयहरू भएका थिए।

पहिलो, स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गराउने,

दोस्रो, स्थानीय तह निर्वाचनमा पार्टीको अधिकारिक उम्मेदवारहरूको मनोयन पत्रमा पार्टीको तर्फबाट वरिष्ठ नेता अशोक राईको हस्ताक्षर अधिकारिक हुने र

तेस्रो, एमसीसीबारे सत्तागठबन्धनको निर्णयमा सहमति गर्ने।

एमसीसीलाई लिएर पार्टी फुटको दिशमा बढिरहेको बेला जसपाको कार्यकारणी समिति बैठकले आइतबारका यी निर्णयहरू थामथुम पार्ने संकेत गरेको छ। १३ गते देखि शुरु बैठकमा पनि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भटराई पक्षले प्रस्ट रूपमा आआफ्ना कुरा अघि सारे पनि जसपा मध्यमार्गी बाटोबाट पार्टीभित्र देखिएका विवाद सल्टाउन प्रयासरत छ।

बैठकले अहिलेसम्म तीन ओटा निर्णय गरिसकेको छ भने अन्य एजेण्डामा छलफल चल्दै छ। बैठक सोमबार पनि पार्टी कार्यालयम पुनः बसेको छ। गत शुक्रबार शुरु भएको बैठकमा १२ ओटा एजेण्डाहरू प्रस्तुत गरिएका थिए।

तर शनिबारको बैठकमा यादव र भट्टराईबीच तनावको अवस्थामा सिर्जना भएको थियो। अन्त्यमा यादव, भट्टराई र राई गरी शीर्ष तीन नेताहरूलाई एजेण्डाबारे छलफल गरेर अर्को बैठक बोलाउने अधिकार दिइएको थियो।

खासगरी एमसीसीबारे अध्यक्ष यादवले पार्टीलाई अनिर्णयको बन्दीको बनाएको र पार्टीको आन्तरिक कामकाजमा यादवले एकलौटी गरेको आरोप भट्टराई पक्षले लगाएको छ। जसको अन्त्यका लागि पार्टीमा कार्यकारी अधिकार बाँडफाँट हुनु पर्ने माग भट्टराई पक्षले अघि सारेको छ।

कार्यकारणी समति सदस्य मनिष सुमनले पार्टीभित्र सबै विषयमा आपसी छलफल र सहमतिमै निर्णयहरू गर्ने गरी छलफलहरू चलिरहेको बताए। “आइतबारको निर्णय पनि सर्वसम्मत नै छ”, सुमनले भने, “पार्टीभित्र विवादभन्दा पनि विचार फरक फरक रहेको बुझ्नुपर्छ। जुन स्वाभाविकै छ।”

कार्यकारी अध्यक्ष यादवनिकट रहेका सुमनले पार्टीभित्र कुनै प्रकारको विवाद नरहेको दाबी गरे। तर संघीय परिषद् अध्यक्षनिकट कार्यकारणी सदस्य नवराज सुवेदीले पार्टी बैठकमा प्रस्तुत भएको तीन एजेण्डा मात्रै अहिले टुंगो लागेको र अन्यमा छलफल चलिरहेको बताए।

सुवेदीले पनि पार्टीभित्र उठेका कुराहरू छलफलहरू गरेर टुंग्याउने तयारी भइरहेको बताए।

गत मंसीर पहिलो हप्ता बसेको जसपा बैठकमा अध्यक्ष यादवप्रति तीव्र रोष प्रकट भएको थियो। त्यसलाई सच्याउन असन्तुष्ट पक्षले एकमहीने अल्टिमेटम दिएको थियो। तर यादवले त्यसलाई बेवास्ता गरेपछि जसपाभित्र आन्तरिक विवाद बल्झिएको थियो। जसलाई जारी कार्यकारणी समितिबाट सल्टाउने तयारी भइरहेको जसपा नेताहरू बताउँछन्।

जसपाको जारी बैठकले पार्टीको पदाधिकारीहरू चयनदेखि कार्यकारी अधिकारीको बाँडफाँटसम्म गर्नेगरी तयारी चलाएको बताइन्छ भने पार्टीको केन्द्रीय समिति बैठक र विधान अधिवेशनसम्म बोलाउने तयारी छ।

साथै संघीय सरकारमा रहेका जसपाका मन्त्रीहरूको समीक्षादेखि मधेश प्रदेशमा रहेको जसपाको सरकारबारे पनि जारी बैठकले समीक्षा गर्न लागेको छ। मधेश प्रदेश सरकारमा रहेका मन्त्रीहरू फिर्तासमेत बोलाएर नयाँ अनुहारहरूलाई मौका दिने तयारी पनि चलिरहेको कतिपय नेताहरू बताउने गर्छन्।

पार्टीभित्र यी निर्णयहरू महत्वपूर्ण हुने भएकाले मधेश प्रदेशका मन्त्रीदेखि अन्य नेताहरू पनि काठमाडौंमै देखिएका छन्। उनीहरूले पार्टी बैठकको निर्णय र पार्टीमा सरसल्लाह गर्न काठमाडौं आएको बताएका छन्।

तर कार्यकारी यादव र भट्टराईबीच टकरावले कतै पार्टी फुट्ने त हैन? आशंका गर्ने ठाउँहरू जन्मिएका छन्।

पार्टीभित्रको कार्यकारी अधिकारको बाँडफाँटदेखि पदाधिकारी चयन हुँदै केन्द्रीय समिति र विधान अधिवेशनलाई लिएर अझै पनि यादव र भट्टराईबीच सहमति हुन सकेको छैन। यद्यपि एमसीसी र निर्वाचनमा उम्मेदवारी मनोयनमा पार्टीको अधिकारिक हस्ताक्षर सम्बन्धको निर्णयले सकारात्मक सन्देश दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved