सुदूरपश्चिममा बन्दको आंशिक प्रभाव, बन्दकर्तामाथि लाठी चार्ज

बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि कैलालीका मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

नेपालभ्युज

सुदूरपश्चिममा बन्दको आंशिक प्रभाव, बन्दकर्तामाथि लाठी चार्ज

धनगढी। अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशमा आंशिक रुपमा परेको छ। विप्लव नेतृत्वको नेकपासहित ६ दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै आज नेपाल बन्दको आह्वान गरेका हुन्।

बन्दका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन्। फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन्। धनगढीको मुख्य बजार भने बन्द छ।

प्रदेशका मुख्य शहर धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपालय लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ। लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन्।

बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि कैलालीका मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

उता महेन्द्रनगरमा एमसीसी अनुमोदनको विरोधमा उत्रिएका नेत्र विक्रम चन्द ‘विप्लव’ निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि प्रहरीले महेन्द्रनगरमा लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट दुई जना घाइते भएका छन्।

विप्लव निकट युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिष ऐरी घाइते भएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव वीरेन्द्र शाहले बताए। उनका अनुसार घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिए।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved