स्थानविशेष कविता

नेपालगञ्ज : दुई कविता

कहिले सुभेरु- कहिले कुभेरु
रन्थनिँदै घुमिरहन्छ र सधैँ पछारिन्छ
नयाँ मुलुकको नयाँ नेपालगञ्ज।

नेपालभ्युज

नेपालगञ्ज : दुई कविता

नेपालगञ्ज

-मोहन दुवाल

मान्छेभित्र मन हराएपछि
विभेद चर्किदो रहेछ
मान्छेकै चाहनामा ईर्ष्या पसेपछि
सम्प्रदायकै संकुचन हलक्कै सप्रिन खोजे जस्तो छ
अचेल नेपालगञ्जमा…
घोडाहरू हिनहिनाइरहेछन्
टाँगामा बाँधेको डोरी हेरेर
मान्छेहरू साम्राज्यकै खोजीमा लागेर
बेस्सरी घोडाहरूलाई कोर्रा लगाउँछन्।

मान्छे मान्छेका बीच विभेद सल्केपछि
सन्त्रास र भय ‘लू’ जस्तै पोल्दो पो रहेछ
नेपालगञ्जमा ‘लू’ परिवेश भई नाचिरहेछ
मान्छेहरू झुण्ड-झुण्डमा कोही
अल्लाह अकबर खोजिरहेछन्
मान्छेहरू कोही हुल सोचेर
शिवसेना भई दौड छोडिरहेछन्
कोही रिक्सा र टाँगामा चढेर
रुपडियाकै हावामा आफूलाई भुलिरहेछन्।

यहाँका मैयाँ साहेबहरू
किन गगनगञ्जतिर फेरि हेर्छन्
गगनगञ्ज हेरेर घाम हैरान भई
मूक प्रश्न सोध्ने गर्छन्…
विचारमा दरिद्रता हुनेहरूसँग
व्यवहारमा सभ्यता खोज्दा
कस्तो अप्ठेरो हुन्छ
नेपालगञ्जमा बेथिति हलक्क सप्रेजस्तो छ
कोरा मन हुनेहरू बुझ्न नसकेर
नेपालगञ्ज भोगेर हैरान हैरान छन्

सूर्य रापिलो ढंगले उदाइरहेछ
नेपालगञ्ज घाम भोगिरहेछ
मान्छेहरू भय र आतंकमा
नेपालगञ्ज बोकिरहेछन्
गोमनहरू ढुकिरहेछन् परिवेशमा
लामखुट्टेहरू भन्किरहेछन् आफ्नो आस्था र विश्वासमा
यो सुनाउनु पर्दैन
मान्छेको व्यथा र कथाहरू नेपालगञ्जलाई
ऊ त छक्क परेर मान्छे गुनिरहेछ
अचेल नेपालगञ्ज आफैंलाई सोचेर
नेपालगञ्ज खोजिरहेछ।

000

नेपालगञ्ज

-रेशम विरही

सर्वत्र कोलाहल सुनिन्छ
र आधा सूर्य कालो देखिन्छ
नेपालगञ्ज पसेपछि।

बिहानदेखि साँझसम्म
रुपहिडियाको उडुससँग
रतिरागको आनन्दमा लिप्त भएझैँ
आफैं बिक्री हुनुमा तृप्त हुन्छन्
नेपालगञ्जीया।

बिहानदेखि साँझसम्म
कहिलेकाहीँ मध्यरातमा पनि
नेपालगञ्जको छातीमा परेड खेल्छ
नानपाराको बन्दुकधारी दरोगा।

जुम्लाका हटारु
र काला पहाड जाने
ज्यामीको लर्को देखेपछि
अचानक चलायमान हुन्छ
आयातित सभ्यताको घरबारी टोल।

भक्तहरूको भेटीको भकारी
र काला बोकाहरूको रगतको कुण्डमा
मुन्टो घुसारेर मलसाप्राझैँ
निदाइरहन्छ- बागेश्वरीको पुजारी।

सल्यानी बंगलाका मदिरा कम्पनी
फुल्टेक्राका जरसाहबहरू
दिनभर सुत्छन्
र रातभर जाग्राम बस्छन्
घोंसीटोलका व्यापारीहरू।

एकलैनी बजारको क्रय-विक्रय
सदरलाइनको ढुसी परेको
साँउब्याजको वहिखाता
र त्रिभुवनचोकको
भग्नावशेष नेपाली राष्ट्रवादमाथि
तिरंगाको कफल हालेर
गौरवले पुलकित हुन्छ
प्राचीन नगरी- नेपालगञ्ज।

कालो वस्त्र ओढिरहेको आकाशमुनि
चिप्लेकीराझैँ
नेपाली वर्णमालाको
अक्षरअक्षर जोडेर
कव्जियतको विमारीझैँ ठसठसी कन्दै
हुटिट्याउँले आकाश थामेको आत्मरतिमा
अथवा महाभारतको किच्चकबधजस्ता
मुन्टो भाँचिएको
पुच्छर काटिएको
कथानक छापेर
सूचना साम्राज्यका बादशाहझैँ देखिने
नेपालगञ्जीय अखवारहरू
र कहिले नोटको नशामा- कहिले भोटको नशामा
कहिले सुभेरु- कहिले कुभेरु
रन्थनिँदै घुमिरहन्छ र सधैँ पछारिन्छ
नयाँ मुलुकको नयाँ नेपालगञ्ज।

विषम प्रकृति : विषम संस्कृति
पचाइरहेको नेपालगञ्ज
बेलाबखत पानको रातो र्‍याल
गिजाबाट चुहाउँदै बेफ्वाँकमा रिसाउँछ
र नयनराजको उलारजस्तै
उलार हुन्छ कहिलेकाहीं
कहिले मन्दिरमा उलार हुन्छ
कहिले मस्जिदमा हुन्छ
कहिले धोतीमा उलार हुन्छ
कहिले टोपीमा हुन्छ
उलारै उलारमा गुलजार छ
प्राचीन नगरी- नेपालगञ्ज।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved