अबिच्युअरी

जयनन्दलाई सम्झिँदै कुमार बस्नेत भन्छन्- अब म एक्लो भएँ…

त्यो बेला गीत गाएबापत एक गीतबाट बढीमा सात रुपैयाँ दिइन्थ्यो। गाएर बाँच्ने अवस्था थिएन। संघर्ष गर्दागर्दै ऊ थाक्यो, यस क्षेत्रमा लागेर खान बस्नै समस्या देखिएपछि ऊ अमेरिका गयो।

जयनन्दलाई सम्झिँदै कुमार बस्नेत भन्छन्- अब म एक्लो भएँ…

नेपाली लोकसंगीतमा अतुलनीय योगदान पुर्‍याएका वरिष्ठ सर्जक तथा कलाकार जयनन्द लामाको बुधबार (११ फागुन) बिहान ६६ वर्षको उमेरमा दुखद निधन भयो।  सिन्धुपाल्चोकमा जन्मिएर काठमाडौंमा संघर्ष गरी देशका विभिन्न ठाउँमा पुगेर लोकसंगीतको संकलन र पिङ्गुल लिपि खोज्न जीवनका साढे चार दशक व्यतित गरेका उनले विविध कठिनाइका बावजुद नेपाली लोकसंगीतलाई  समृद्ध बनाए। उनै जयनन्दलाई उनका समकालीन लोक गायक तथा सर्जक कुमार बस्नेत यसरी सम्झिन्छन्:

कोरोनापछि घरबाहिर खासै ननिस्किए पनि जयनन्दसँग मेरो फोनमा कुरा भइरहन्थ्यो। चार, पाँच दिनअघि मात्रै उनलाई मैले फोन गरेको थिएँ। उनले आफू शुटिङमा भएको र केही दिनमा भेट्न आउँछु भने। आज बिहान उठेर यसो टहलिँदै थिएँ, उनी बितेको खबर सुनेँ। एकछिन त मैले केही सोच्नै सकिनँ। संसार नै अँध्यारोले  ढाके जस्तो भयो। केही दिनमा भेट्न आउँछु भनेर कबुल गरेका उनी मलाई कहिल्यै नभेट्ने गरी गएछन्।

मेरा समकालीन त सबै गइसकेका थिए। उनी पनि गए। म एक्लो भएँ।

जयनन्द एकदमै रमाइला मान्छे थिए। साह्रै घुलनशील। जहाँ जोसँग पनि मिल्ने। भेट्नेजति सबैसँग दोस्त भइहाल्थे उनी। जहाँ जोसँग भेटे पनि पुरानै चिनजान जसरी घुलमिल भइहाल्थे।

पहिलोपटक मैले भेट्दा उनी राष्ट्रिय नाचघरमा डान्सर थिए। पहिलो भेटमा नै राम्रो छाप छाडेका उनीसँग पछि भैरवबहादुर थापाको भैरव नृत्य दलमा सँगै काम गर्‍यौँ। त्यसपछि उनीसँगको दोस्ती अझ झाँगियो।

पछि सन् १९७४ मा हामी जर्मनी गयौं। एक सय १२ देश सहभागी भएको उक्त कार्यक्रममा हामीले अवार्ड पनि पायौं। त्यतिबेला गीतसंगीततर्फ अलिअलि झुकाव भए पनि उनी गायक भइसकेका थिएनन्। डान्सर मात्रै थिए। हाम्रै संगतले उनले लोकगीत गाउन थाले।

उनले ललितकला क्याम्पसबाट शास्त्रीय संगीतमा स्नातक र भारतको इलाहाबादबाट स्नातकोत्तर गरे। रोयल नेपाल एकेडेमी (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) र रेडियो नेपालमा लोक विभाग प्रमुखका रूपमा काम गर्न थाले। रोयल एकेडेमीमा रहँदा २०४७ सालसम्म देशका विभिन्न भागमा अनुसन्धान कामको जिम्मा पाए। त्यसैले नै उनलाई नेपाली संगीत क्षेत्रमा परिचय दियो।

आफ्नो जीवनको २५ वर्ष उनले लोकसंगीत संकलन गरे। बिस्तारै गीत गाउन थाले। चर्चामा आए।

त्यो बेला गीत गाएबापत एक गीतबाट बढीमा सात रुपैयाँ दिइन्थ्यो। गाएर बाँच्ने अवस्था थिएन। संघर्ष गर्दागर्दै उनी थाके। यस क्षेत्रमा लागेर खान बस्नै समस्या देखिएपछि अमेरिका गए। केही वर्ष उतै बिताए। पछि फेरी के लागेछ कुन्नी फेरी नेपाल फर्किए। संघर्ष गरे। लोकसंगीतकै क्षेत्रमा काम गरे। फिल्ममा खेले। नेपाल लोकस्टारको निर्णायक भए।

उनको यहाँसम्मको यात्रा त्यति सजिलो थिएन। जति लोक सांगीतिक क्षेत्रमा उसको योगदान छ त्योअनुसार राज्यले उनको कदर गरेन। झलकमान गन्धर्व, लालबहादुर खातीदेखि कुनै पनि कलाकारको कहिल्यै उन्नति भएन।

हामी लोक संगीत क्षेत्रको जगेर्ना गर्नेहरू पुर्खाको चिनारी बचाउनुपर्छ भनेर लाग्यौं तर यसैबाट घर खर्च चलाउन/बाँच्न साह्रै गाह्रो छ। कलाकार बनेको भन्दा पलायन भएकै रुचाउँछ हाम्रो राज्य।

झलकमान गए। प्रेमध्वज गए। खाती गए। उनी पनि गए। म पनि जाउँला। चिन्ता त राज्यले हाम्रा कलाकारलाई हेर्ने दृष्टिका कारण अब लोकसंगीत क्षेत्रमा नयाँ आउने पुस्ताले लोकसंगीतको जगेर्ना रोकिन्छ कि भन्ने मात्रै हो। कम्पनीले कमाउँछ, कलाकार बाँच्नै गाह्रो पर्ने अवस्था अझै विद्यमान छ यहाँ।

जयनन्दको असमायिक निधनले निकै दुखी बनाएको छ। अझै केही वर्ष बाँचेको भए यस क्षेत्रमा धेरै काम गर्थे भन्ने लाग्छ। उनको निधनले नेपाली लोकसांगीतिक क्षेत्रमा ठूलो क्षति पुगेको छ।

 काशीराम बजगाईसँगको कुराकानीमा आधारित।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved