मधेश प्रदेशमा बढ्यो कांग्रेसको जिल्ला अधिवेशनको चहल-पहल

सभापतिमा उम्मेदवारी घोषणा गर्न र मत माग्न जिल्ला नेताहरू व्यस्त ।

मधेश प्रदेशमा बढ्यो कांग्रेसको जिल्ला अधिवेशनको चहल-पहल

जनकपुरधाम । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मधेस प्रदेश (प्रदेश २) का जिल्ला अधिवेशनहरु निर्वाचनको लागि उम्मेदवारहरुले गतिविधि बढाएका छन्।

१५ गते हुन गइ रहेको जिल्ला निर्वाचनका लागि प्रत्येक आठवटै जिल्लामा कम्तिमा तीन जनाले सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्।

मधेस प्रदेशका सबै जिल्ला अधिवेशनमा संस्थापन पक्ष शेरबहादुर देउवा तथा संस्थापन इतर समूह डा. शेखर कोइराला र विमलेन्द्र निधि पक्षको त्रिपक्षीय प्रतिष्पर्धा हुने स्थिती देखिएको छ।

प्रायजसो जिल्लामा उम्मेदवारी घोषणा गरेर नेताहरु व्यक्तिगत रुपमा र प्यानलसहित नै सार्वजनिक कार्यक्रम गरि आफ्नो पक्षमा मत माग्न प्रचार प्रसारमा खटिसकेका छन्। जिल्ला सभापतिका उम्मेदवारहले प्यानल नै बनाएर मतदाताको घरदैलोमा समेत पुगेर मत माग्न थालेको देखिएको छ।

प्रदेशका ८ वटै जिल्लाका गरी करिब २४ जना सभापतिका आकांक्षीहरु रहेको काँग्रेस प्रदेश समितिले जनाएको छ। अहिलेसम्मको अवस्थामा धनुषामा तीन जनाले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। धनुषा सभापतिमा योगेन्द्र पन्जियार, सन्तोष यादव र दिनेश प्रसैला यादवले उम्मेदवारी घोषणा गरोक हुन्।यस जिल्लामा तीन हजार २८३ मतदाता छन्।

त्यसैगरी महोत्तरी सभापतिमा पनि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन्। बजरंग नेपाली, सुशिलकुमार यादव, र नागेश्वरप्रसाद यादवले उम्मेदवारी घोषणा गरेर मत माग्न थालिसकेका छन् । महोत्तरीमा दुई हजार ३५० मतदाता छन्।

त्यस्तै, सर्लाहीमा लक्ष्मण राय र सुरेन्द्रप्रसाद सिंहले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

रौतहटमा हृदयनारायण यादव र सुनिल यादव जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै, जितेन्द्र यादव पनि सभापतिको आकांक्षी हुन्। रौतहटमा दुई हजार ६५० मतदाता रहेको कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।

त्यस्तै, बारामा राजेशराय यादव, रमानन्द यादव र शम्भु बुढाथोकीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। यहाँँ दुई हजार ४८० मतदाता रहेका छन् ।

त्यस्तै, पर्सामा जनार्दनसिंह क्षेत्री र रामनारायण कुर्मीले उम्मेदवारी घोषणा गरी मत माग्न शुरु गरिसकेका छन्। त्यसैगरी, आज मंगलबार काँग्रेसको सप्तरी सभापतिमा शुत्रघनप्रसाद यादवले उम्मेदवारी घोषणा गरेका छन्।

करिब दुई हजार पाँचसय मतदाता रहेको यस जिल्लाको सभापतिमा यादवले आज पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन्। यहाँ रामदेव साह, भगवतीप्रसाद यादव, रामप्रसाद मण्डल, नन्दकिशोर यादवलगायतको नाम पनि चर्चामा छ।

त्यस्तै, सिरहा काँग्रेस सभापतिमा रामसुन्दर चौधरी र रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरी प्यानल बनाएर प्रचार प्रसारलाई तीव्रता दिएका छन्। यहाँ दुई हजार ६५० मतदाता रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved