स्मृतिशेष

मेरो प्यारो बरबोटे

बाटामुन्तिर बारीको कान्लो डरलाग्दो देखियो। त्यत्रो ठूलो कान्लो त्यहाँ छँदैथिएन। त्यहाँबाट त हाम्रा बारीकै बीचबाट तल लिम्बू गाउँ जाने सजिलो गोरटो बाटो पो थियो जुन बाटाबाट कति पल्ट मृत शवहरू लिएर चिहान डाँडातर्फ मलामीहरू गएको दृश्य मैले देखेको थिएँ। अहिले त त्यहाँ बाटो पनि थिएन, बरु बाटो हुनुपर्ने ठाउँमा उक्लिनै नसकिने भयावह कान्लो ठडिएको थियो।

मेरो प्यारो बरबोटे

(नेपाली निबन्ध-साहित्यका अप्रतिम सर्जक डा. तारानाथ शर्मा गएको मंगलबार (३ फागुन २०७८) पञ्चतत्वगत भए। विक्रमाब्द १९९१ सालमा इलामको बरबोटेमा जन्मिएका शर्माले साहित्यलेखन २००४ सालदेखि नै प्रारम्भ गरेका थिए। समालोचना लेखनमा पनि उत्तिकै दख्खल राख्ने उनका निबन्धहरु यात्रापरक, संस्मरणपरक र अनुभूतिपरक छन्।

‘घनघस्याको उकालो काट्दा’ लगायत कालजयी यात्रा-निबन्धका प्रणेता उनलाई नेपाली साहित्यमा यात्रा-निबन्धको जग बसाल्ने स्रष्टाका रुपमा पनि लिइन्छ। लेखनमा गहिरो संवेदनशीलता, तेजिलो प्रेक्षण र कला-कौशललाई पछ्याउने उनका सयौं निबन्ध, समालोचना प्रकाशित छन् र विद्यालय र विश्वविद्यालय तहको पाठ्यपुस्तकमा पनि समेटिएका छन्।

दिवंगत डा. शर्माप्रति भावपूर्ण आदराञ्जली अर्पण गर्दै उनको चर्चित निबन्ध ‘मेरो प्यारो बरबोटे’ प्रस्तुत गरेका छौं। यो आत्मपरक निबन्ध उनको निबन्धकृति ‘आँसु छचल्किँदै जान्छ’ बाट साभार गरिएको हो।)

मेरो जीवनभरिको सपना थियो त्यस माटालाई गएर एकपल्ट फेरि छुने।

तर परिस्थिति पनि कस्तो परिदियो भने मेरो सपनाको पूर्ति कहिल्यै पनि भएन। त्यस मायालु माटाको दर्शन गर्ने कुरो मात्र होइन, मेरा धेरैधेरै सपनाहरू धराशायी हुँदै आएका छन्, चकनाचूर हुँदै आएका छन् र भत्याङभुतङ हुँदै आएका छन्। म ताक्छु मुढो, बन्चरो ताक्छ घुडो भन्ने उखान मेरो जीवनमा जति चरितार्थ अरू कसैकामा भएको मलाई थाहा छैन।

जुन ठाउँमा जन्म्यो त्यस ठाउँको माया असाध्यै ठूलो हुँदो रहेछ। जन्मभूमिको मायासित अरू कुनै कुराको माया दाँजिन सक्तो रहेनछ।

मेरो दुर्भाग्यले नै त होला म जुन ठाउँमा जन्मेँ त्यहाँ म चवालीसचवालीस वर्षसम्म फेरि पुग्न सकिनँ। इच्छा मैले नगरेको होइन, समय मैले नपाएको होइन र प्रयत्न पनि मैले नगरेको होइन, तर त्यहाँ पुग्ने, त्यहाँ पुगेर यी आँखाहरूलाई चारैतिर घुमाउने र बाल्यकालको मनोरम संसारलाई एकपल्ट फेरि अवलोकन गर्ने मेरो धोको धोकै मात्र रह्यो।

हो, म धारापानी र घलेटारबाट घेरिएर, मान्द्रेनी र भोर्लेनीभित्र भुटभुटिएर, चुरेघाँटी र तोरीबारी, ओखे्र र पीपलबोटे अनि मलाते र माईपोखरीमै मस्याङ्ग्रिएर, मुडिएर र मठारिएर बस्न सक्ने मान्छे थिइनँ। सानैदेखि मेरा आँखा सोयाङको डाँडो काटेर पूर्वी क्षितिज ताक्थे, फाकफोक र साँखेजुङ नाघेर आकाश फड्कन्थे र धमिलो दक्षिणका चलाचुलीहरू पारिको विस्तृतितिर अन्तरिक्षको अन्वेषण गर्थे। जतिसुकै विशाल भए पनि मेरो हृदयको बरको रुखको सेरोफेरोमा म अटाउन सक्तिनथेँ, जतिसुकै सङ्लो भए पनि माईखोला र पुवाखोलाको वेगमय पानीले मेरो तिर्खा मेटिने थिएन र जतिसुकै सुग्घर, जतिसुकै सुन्दर र जतिसुकै स्वस्थकर भए पनि मेरो जन्मस्थलको जलवायुले मेरा फोक्सा भरिने थिएनन्।

र म एउटा जिज्ञासा, एउटा कुतूहल र एउटा दुर्भाग्य छातीमा बोकेर प्यारो बरबोटेबाट नौ वर्षको कलिलो उमेरमा जीवनको कालापानीतर्फ होमिएँ, हुत्तिएँ र हेलिएँ।

कालापानी नै त रहेछ नि यो जीवन पनि, यो जिज्ञासा पनि र यो जिजीविषा पनि। ज्ञानको खोजमा हिँडेको थिएँ म आमालाई अलपत्र छाडेर, आभाको अन्वेषणमा उम्लिएको थिएँ म बरको वृक्षलाई बूढै छाडेर र उज्यालाको आविष्कार गर्छु भनेर पोक्किएको थिएँ म माई र जोगमाईलाई रुँदै छाडेर।

त मैले भनिहालेँ। चवालीस वर्ष म रल्लिएँ, रन्थनिएँ र बरालिएँ। जति म रल्लिएँ, रात मेरा रोए, जति म रन्थनिएँ, व्यथा मेरा बढे र जति म बरालिएँ घाउ मेरा बल्झिए, छाती मेरो चिरियो र शरीर मेरो बाउँडियो।

अज्ञान आनन्द हो भन्थे, हो रहेछ। ज्ञानका पत्र जति खुल्दै गए, क्षितिज उति फारिँदै गयो, उघारिँदै गयो अनि म वेदना, व्यथा र विरहका कहालीलाग्दा ज्वालाहरूमा हुरुहुरु बल्दै गएँ, जल्दै गएँ, खरानी हुँदै गएँ।

शीतल मलमको खोजमा भौँतारिदै म बेलाइततिर बरालिएँ, पातालतिर पसेँ र अन्तर्मुखी हुँदै पुस्तकहरूमा फसेँ। तर सपना भने म उही बरबोटेकै देख्थेँ, कल्पना म उही बरबोटेकै गर्थेँ र जपना पनि मेरो बरबोटेकै हुन्थ्यो। म घरकरेसाका अम्बाका रूखमा खेलिरहेको हुन्थेँ, माथ्लोपट्टिको करवीरका पहेंला सुनजस्ता फूलहरू टिपिरहेको हुन्थेँ र आँगनका छेउको अमला टिपेर मुख बङ्गयाउँदै खाइरहेको हुन्थेँ। म बाटामास्तिर गोगनका रूखमा चढ्थेँ, खरीका वृक्षहरूलाई हल्लाउँथेँ र कराँसामुन्तिर दुगुरेर निगालाका बोटहरू र चिलाउनेहरूमा अडेसा लागेर काट्थेँ र लौरा बनाउँथेँ।

सपना त म देख्थेँ र त्यही सुखैसुखको संसारमा पुग्थेँ पनि, तर वास्तविकताले भने मलाई अत्यासलाग्दो आधुनिक विश्वमा थचारेको थियो।

यस्तैमा भयावह भुइँचालो आयो र सारा पूर्वी इलाकालाई ध्वस्त पार्‍यो। त्यसैलाई आधार बनाएर परिस्थितिले मलाई पाँचथरतर्फ पठाउने भयो। मचाहिँ बाटैमा पर्ने त्यस पवित्र जन्मथलाको सम्झना मात्रले पनि रातभरि कामिरहेँ, थरथराइरहेँ र पुलकित भइरहेँ।

धेरै वर्षसम्म लाहुर पसेको छोरो घर फर्कंदै थियो। धेरै वर्षसम्म पलाप्पिएको पुत्र माताका शरणमा पर्न पाउँदै थियो। धेरै वर्षसम्म बरालिएको, बाउँठिएको र बिभिन्डिएको पिउसो बरबोटे कुल्चन पुग्दै थियो। खलङ्गा जाँदा पीपलबोटे काटेर अलिक दक्षिण लागेपछि म ट्रकको अघिल्लो आसनमा बसेको थिएँ र माटाका डिलहरू ताछेर र पहराहरू फोरेर बनाइएको बाटो खल्ड्याङबल्ड्याङले भरिएको थियो। खलङ्गाको छातीकै बीचबाट बाटो डाँडैडाँडा तेर्सिँदै नारानथान पुग्थ्यो र त्यहाँ मास्तिरबाट कुइँक्क घुम्दै उकालो लागेर नीलकाँडाहरूको सौन्दर्यमा रमाउँथ्यो। त्यस बाटामा टेनिस गोली हातले उफार्दै र गोडाले हिर्काउँदै मैले धेरै पटक ओहोरदोहोर गरेको थिएँ। तर नहुनु भइसकेको रहेछ। ठूलो टुँडिखेल दसौं गुना साँगुरिएर खुम्चिसकेको रहेछ, बाँसका झ्याङहरूको रहस्यात्मक सौन्दर्य उदाङ्गिएर लाजमर्नु भइसकेको रहेछ र सडकले आफ्नो स्थानलाई निर्ममतापूर्वक त्यागेर अपरिचित ठाउँबाट फन्का मारिसकेको रहेछ।

इलाम बजार पुग्दैनपुगी तलैबाट ट्रक गुँडुल्किन थाल्यो। कहिल्यै नसोचेको, कहिल्यै नदेखेको र कहिल्यै नकुल्चेको भुइँजस्तो लागेर मन अमिलिएर आयो। नअमिलियोस् पनि किन ? न नारानथान मैले देख्न पाएँ, न नीलकाँडामा बेरिएका पहेंला लहराहरूमै म मक्ख पर्न पाएँ र न पीपलको रूखलाई प्रदक्षिणा गरेर चुरेघाँटीतिर हर्षित मनले खुट्टा उफार्दै झर्न पाएँ।

२०४५ साल असोज १५ गतेको घुस्स फुलेर ठुस्केको बिहानको समय थियो। म बिलखबन्दमा पर्दै थिएँ र यतै कतै सिङफिरिङ भन्ने ठाउँ हुनुपर्छ भन्दै थिएँ। दुई-चार घरहरू लहर लाग्न आइपुगे र म झसङ्ग भएँ। ‘चुरेघाँटी त होइन यो ?’ म गुन्न थालेँ।

’चुरेघाँटी’ शब्दले मनमा अनेकौँ भावनाहरू छुत्ती खेल्न थाल्छन्। सात सालको क्रान्तिमा म चुरेघाँटी काटेर माथि डाँडाका बरपीपलको चौतारीमा साथीहरूसित सुस्ताउन पुगेको थिएँ। त्यहाँबाट मेरो जन्मस्थल टाढा थिएन, तर मैले विवश भएर फर्कनुपरेको थियो। मनको बह कसैलाई नकह भनेको जस्तो जन्मस्थलको माया मुटुमै सँगालेर म बाँच्तै आएको थिएँ।

चुरेघाँटी भन्ज्याङ परेको ठाउँ थियो। दुवैतिर अग्लाअग्ला पहराहरू थिए। ढुङ्गेनी बाटो थियो। धराप पारेर खप्टिएका विशाल ढुङ्गाहरू अहिले नै बसेर किचिहाल्ने पो हुन् कि जस्तो लागेर त्यहाँनेरि पुग्दा मेरो सातोपुत्लो उड्थ्यो। तर अहिले त ती कुनै कुराको अवशेष मैले भेटिनँ। आँखाले धेरै कुराहरू देखिसकेकाले हो वा छिप्पिँदै जाँदा ती बालककालका विशाल कुराहरू पनि खिइँदैखिइँदै गएर आस्तत्वहीन झैँ भएर हो चुरेघाँटी अब चुरेघाँटी थिएन। ओरालो झरेर पुग्नुपर्ने र उकाला चढेर काट्नुपर्ने चुरेघाँटीको कतै पत्तोफाँट थिएन। पेट बोकेकी आइमाईको फुलेको शरीरजस्तो ढाँडलाई छेकारो काटेर धूले बाटो पो अगाडि कुदेको थियो।

कालू लिम्बू थिए। उनी मेरा बुवाका घनिष्ठ मित्र थिए। ती म भनेपछि हुरुक्क हुन्थे। श्रीनाथ पल्टनका हल्दार थिए उनी र मलाई बोकेर फूलपातीको बढाइँ देखाउन टुँडिखेल पुर्‍याउँथे। तिनको घर बाटैमास्तिर थियो। ठूलो मुख बाएर प्रफुल्ल हुँदै हाँस्ता तिनका राता गिजा साहै राम्रा देखिन्थे, ‘अलिकति जाँड चाख्छौ तारा ?’

उनको घर पुग्नुअघि ओरालो थियो र अति सुन्दर तेर्सो बाटो थियो हातले उफार्ने मेरो टेनिस खेललाई सुहाउने किसिमको। तर हेर्दाहेर्दै ट्रक त डाँडामा पो पुग्यो। मेरीबास्सै। खोइ, आले मगरको घर ?

समयले मेरा पितातुल्य कालू लिम्बूको घर त खायोखायो, आले मगरको विचित्रको अस्तित्वलाई पनि मेरो स्मृतिमा मात्र राखेर फड्दुवाल ठोक्यो।

आले मगरका तीन जना बिछट्ट राम्रा छोरीहरू थिए रे। एक दिन मेरा बुवालाई उहाँका मीत दीपबहादुर कार्की र खड्गबहादुर बरालले तिनीहरूकहाँ लगेर रसिलारसिला गफ गर्दागर्दै टुप्लुक्क आले बूढो आइपुगेछ। लौ मार्‍यो भनेर पछिल्तिरबाट सुइँकुच्चा ठोक्ने हुँदा भर्खर किनेका छालाका बेलाइती जुत्ता छोड्न पुग्नुभएछ मेरा बुवा। मीतबाले टोपी छोड्नुभएछ र बरालको लौरो छुटेछ। मीतबाको भनाइअनुसार त्यस आले बूढाले सित्तैमा मेरा बुवाका चम्चमाउँदा जुत्ता तीनतीन वर्षसम्म धस्न पाएको थियो रे।

न त अब प्यारा कालू लिम्बू छन्, न मायालु मीतबा हुनुहुन्छ र न बिचरा आले बूढै छ। उनीहरूको सम्झना मात्र छातीमा छ र म डबडबाउँदा आँखा पार्दापार्दै झुरुम्म घरहरू बाटाका दुईतिर थुप्रिएको ठाउँमा पुग्छु।

ट्रक घ्याच्च रोकिन्छ र ड्राइभर भन्छ- ‘लौ साप, बिब्ल्याँटे आइपुग्यो।’

बिब्ल्याँटे रे ? के हो बिब्ल्याँटे भनेको ? कहिल्यै नसुनेको ठाउँ, कहिल्यै नकल्पेका घर र कहिल्यै नसोचेका मानिसहरू मेरा चारैतिर हाउ भएर उभिँदा मेरो जीउ जिरिङ्ग भएर भित्रदेखि काम्यो।

ट्रकबाट असाध्यै गह्रौं मन लिएर म अप्ठ्यारोसित ओर्लेँ। एउटा तीसबत्तीस वर्षको मान्छे त्यहीँ उभिएको रहेछ। मैले सोधे- ‘तपाईंको घर यहीं हो?’

‘हो, किन र ?’

‘यतै कतै एउटा विशाल बरको रूख थियो नि, कहाँनिर है ?’

‘बरको ठूलो रूख रे ? यहाँ कतै पनि त्यस्तो ठूलो रूख छैन। अहँ, यस गाउँमा त्यस्तो तपाईंले भनेजस्तो विशाल बरको रूखै छैन। तपाईंले कुन गाउँको कुरो गर्‍या ?’

‘मैले बरबोटेको कुरो गरेको, बरबोटेको। के यो बरबोटे होइन ?’ मैले तीनछक पर्दै सोधेँ।

एउटा युवक कुरा सुन्दै थियो। उसले टिप्पणी गयो- ‘यहाँदेखि अलिक एउटा बरको रूख त छ, तर त्यो त्यति ठूलो चाहिँ छैन।’

‘हेर्नोस्, तपाईंहरूलाई थाहा रहेनछ। यहाँ यस गाउँमा तीन-चार नाम्लाले फन्का मार्न नसकिने असाध्यै ठूलो बरको रूख थियो। त्यसै रूखको विशाल भारले गर्दा नै यस गाउँको नाउँ बरबोटे रहेको हो। त्यो रूख यस गाउँमा बढ्नुअघि यसलाई शीतलपाटी भनिन्थ्यो। तपाईंहरूलाई अस्तिसम्म ठडिएको त्यत्रो रुखबारे त केही थाहा रहेनछ भने त्यस रूखभन्दा पनि अघिको करो के थाहा हुन्थ्यो ?’ म चवालीस वर्षहरूको निठुरीपनालाई निमोठनामोठ पारेर आफ्ना आँखाहरू घुमाउन थालेँ।

बिब्ल्याँटे त मीतबा दीपबहादुर कार्कीका घरतिर जाने बाटो छुट्टिने ठाउँ पो रहेछ। बायाँतिर कोल्टेकोल्टे पर्दै त्यो बाटो उत्तरपश्चिमतिर लाग्थ्यो र पुवाखोलाको झोलुङ्गे पुल तरेर साँखेजुङतर्फ लम्कन्थ्यो। हाम्रा घरतिर जाने बाटो डाँडामाथि नचढी बारीको फाँटफाँट तेर्सिएर भुर्तेलहरूको घरमुन्तिरबाट दाहालहरूका घरहरूको मास्तिरमास्तिर राजसी ठाँटसित गम्कन्थ्यो अनि मेरो जन्मगृहलाई च्वास्स अमलाको बोटनेरि छोएर हाम्रो चिटिक्क छाँट पारेर काटेको नीलकाँडाको बारको मास्तिरबाट त्यस अजङको बरको रूखमा पुग्थ्यो।

बिब्ल्याँटेको बायाँपट्टिबाट पुवाखोलातिर बाटो झरेझैँ र सोझै उत्तरतिरबाट हाम्रो घर हुँदै माईपोखरीतिर मूलसडक बगेझैँ दायाँपट्टि रूखैरूखले भरिएको डाँडो पनि थियो। त्यस डाँडामा स्थानीय लिम्बूहरू आफ्ना मृत व्यक्तिहरूलाई ल्याएर गाड्ने गर्थे।

‘यहाँ एउटा चिहानडाँडो थियो नि त।’ मैले भनेँ र त्यसताक साँझपख छेउछाउबाट हिँड्नुपर्दा लाग्ने गरेको प्रेतात्माहरूका आक्रमणको डरले सारा जीउ थुरुर्र कमाएँ।

‘के अरे ? चिहानडाँडो अरे ? यहाँ कहाँ थियो र चिहानडाँडो ? अहँ, यतातिर चिहानघारी नै कहाँ छ र ?’ त्यस तीसे-बत्तीसेले फुर्ती छाँटयो अनि सोध्यो- ‘तपाईंले कसरी यस्ता कुराहरू सोध्नुभएको ? तपाईं को हुनुहुन्छ ?’

‘म इतिहास खोज्दै हिँडेको मान्छे हुँ।’ मैले भनेँ- ‘अँ, बरु एउटा दाहाल गाउँ पथ्र्यो र त्यसलाई काटेर अलिकति माथि पुगेपछि ओखे्रतिर जाने बाटो छुट्टिएको ठाउँ थियो। हो, त्यहींनेर त्यो ठूलो बरको रूख थियो। अचेल बाटो यता बायाँ पाटापट्टिबाट गएको रहेछ, त्यता जाने पुरानो बाटो छँदै छ कि ? छ भने एकपल्ट त्यस विशाल बर भएको ठाउँमा पुग्न मन लागेको थियो।’

एउटा चालीसतिर पुगेको मान्छेले भन्यो- ‘हो, अगाध ठूलो बरको रूख त्यहाँ थियो अरे। तर त्यो त उहिल्यै लडिहाल्यो नि। त्यही एउटा अर्को बरको रूख उम्रेर निकै ठूलो भइसकेको छ। पुरानो बाटो किन जानुहुन्छ ? निकै हिँड्नुपर्छ। यो ट्रक उतै जाने हो क्यारे। अलिक पर पुगेपछि दाहिनेतिर एउटा टिनको छाना भएको दोकान भेट्नुहुनेछ। त्यहाँ सस्यानु खोल्सोजस्तो परेको छ। त्यसै खोल्साका छेउको गोरेटो अलिकति उक्लने बित्तिकै तपाईं बरको रुख भएको ठाउँमा पुग्न सक्नुहुन्छ।’

म बरको रूखका फेदमा कलधारो नराखुन्जेल त्यहाँ हुँदिका मान्छेले पानी खाने गरेको कुवालाई सम्झँदै ट्रकमा उक्लेँ। तल पुवाखोला थियो। पश्चिमतिर हुस्सु फाट्तै गएर फाकफोक र साँखेजुङ झल्याकझुलुक देखिन लागे। पुवाखोलाको किनारमा खेतहरू थिए र तिनै खेतहरूको समूहमा हाम्रो पनि एउटा खेत थियो। हाम्रो खेतकै तलतिर झोलुङ्गे पुल थियो जसलाई बेस्मारी हल्लाउँदै म ओहोरदोहोर गरिरहन्थेँ। घलेटारका गुरुङ महाजनले त्यो साँघु हालिदिएका थिए।

म सम्झदै गएँ। मभन्दा एक वर्ष जेठा पशुपति काका थिए बलिया, हक्की र सोझा। म लुरे थिएँ र उनी मेरो जहिले पनि रक्षा गर्थे। इलामको ठूलो टुँडिखेलमा कवाज हेरेर फर्केपछि बाँसका लौरा काँधमा बोकेर हामी दुई ठिटा काँसबारीको बीचको गोरेटामा खुट्टा बजारीबजारी सिपाहीझैँ हिँड्थ्यौँ। खड्गबहादुर बराल टुप्लुक्क देखा पर्थे आफ्नो काँसबारीमा- ‘क्या हो तारा, श्रीनाथ पल्टनमा पो जान्छस् कि क्या हो तँ ता हँ ?’

त्यही गोरेटालाई मासेर मेरो मुटु छियाछिया पार्दै ट्रक अगाडि बढ्यो। बुवाका कान्छा मामाका कान्छा छोरा पशुपति लम्साललाई रगतमासीको महामारीले दसै वर्षको कलिलो उमेरमा टिपेर लग्यो र म नितान्त असहाय र एक्लो पारिएको थिएँ। नौ पुग्न लागेको मजस्तो कमजोर हृदयको मान्छेले आफ्नै दौंतरीको मृत शरीर हेर्नु हुँदैन भनेर हजुरआमाले घरमै छाड्नुभएको थियो मलाई, तर मन थाम्न नसकेर आफ्ना प्रिय मित्रको अन्तिम दर्शन गर्न म बरको रूखतिर आएको थिएँ। कार्की बूढाले ‘यहाँ लुकेर हेर’ भनेर बोलाएको अहिले जस्तो लाग्छ। माथि उत्तरतिरबाट शवलाई बाँधेर मलामीहरूले ल्याए र बरको रूखलाई बायैतिर छाडी त्यही कुवाका बाटो पश्चिमतिर झरी ती पुवाखोलातर्फ लागे।

मीतबा पनि चिहानडाँडाबाट छुट्टिने बाटाबाट आफ्ना घरतर्फ नलागी हाम्रो घरमा आउनुहुन्थ्यो, खुर्मा ल्याइदिनुहुन्थ्यो र चिया खाएर बरको रूखतिर लागी त्यही कुवा भएको ओरालो बाटो घर जानुहुन्थ्यो।

म पनि त्यही खोल्सामा स्थित कुवाको बाटो गरेर बरको रूखतिर उक्लिएँ। चिस्यान हुनाले र विगत कालका वेदनात्मक सम्झनाले जीउ सिरिङ्गसिरिङ्ग काम्दै थियो। एक्कासि म डाँडामा पुगेँ। आमै नि। बरको रूख त रहेछ, तर अति सानो र त्यसको फेदमा माटो खनेर रूख ढल्नेढल्ने स्थितिमा पुगेको रहेछ। र खोइ त्यो फैलिएको विशाल बरको वरिपरिको क्षेत्र ? कता गए ती फलैंचाजस्ता वा अजिङर गुडुल्किएजस्ता त्यस बरका जराहरू ? अनि खोइ त्यो बरको फेदमा अडेसा लगाएर बनाएको उत्तरतर्फ फर्केको सुन्दर चौतारो र त्यसका चिल्ला चिप्ला ढुङ्गाहरू ?

ए कलधारो त अझै रहेछ, तर त्यो बरको फेदबाट हटाएर उत्तरपश्चिमतर्फ निकै पर सारिएको रहेछ। त्यहाँ विशाल आँगन थियो र दुवैतिर तीन-चार दोकानघरहरू थिए। अहिले पनि घरहरू त थिए, तर मेरो बालककालको प्यारो आँगन थिएन। अनुहार तातिएर हो वा घाँटी निसासिएर हो म अवाक् भएँ।
यस्सो दाहिने फर्केर हेरेँ मैले खड्गबहादुर बरालको सुपरिचित घरतिर। अफसोस ! त्यहाँ त अर्कै दृश्य थियो।

बरको रूख बिलाएर गएकामा विलाप गरिरहनुभन्दा अब बाटैबाटो केही तल दक्षिण लागेर मायालु जन्मस्थलमा पुग्नु उचित ठानी म खुट्टा लरबराउँदै त्यता लागेँ। तेर्सो हुनुपथ्र्यो बाटो र त्यस बाटामास्तिर टारबारी हुनुपथ्र्याे। कसोकसो दुवै थिएनन्।

बरालको घर पुग्नुअगावै डाँडामा एउटा टिनले छाएको दुईतले घर रहेछ। त्यताबाट आउने एक युवकलाई मैले सोधे- ‘यो घर कसको हँ ?’

‘गुरुङको।’ कताबाट को गुरुङ आइपुगेछ त्यहाँ ! गुरुङहरू त माथि घलेटारमा पो थिए।

बायाँतर्फ भिरालोभिरालो परेको विस्तृत बारी पल्टेको हुनुपथ्र्यो। त्यसै ठाउँमा म नौ वर्षको पुग्नपुग्न लाग्दा राति डरलाग्दो हुरी आएर विशाल बरको आधा भाग ढलेको थियो। अहिले त त्यो बारी साँघुरो र सानो थियो। बाटो भने उस्तै थियो अलेलि ओरालोओरालो परेको। बरालका बारीका डिलको बाँस भने त्यहाँ थिएन। पाँच सय पाइला हिँडेपछि तिरिमिरीझयाइँ देखेँ मैले।

मेरो प्यारो घर थिएन !

आँखाभरि आँसुले टन्न भयो। बाटामास्तिरको बारीका डिलमा गोगनका रुख थिए, खरीका अग्ला बोटहरू थिए, अम्लिसैअम्लिसाको घारी थियो। तर ती कता गए ? चिन्नै नसकिने बुथुर्के बोटहरू पो नमिल्दोसित यताउता छरिएका मैले देख्नुपर्‍यो।

बाटामुन्तिर ठीक घरका कान्लामास्तिर सुनजस्तै फूलहरूले ढकमक्क ढाकिने करवीरको बोट र आँगनमास्तिर लहरै छाँट पारेर काटेको नीलकाँडाको बार र कुनामा अमलाको बोट अब मेरो सम्झनामा मात्र बाँकी रहे। घरपछाडि अम्बाका रूखहरू पनि मास छर्न गइसकेका थिए। डिलहरू नराम्ररी र चिन्नै नसकिने गरी ताछिएका थिए र हाम्रो घरमास्तिरको अर्कैको बारी सम्म्याइएको ठाउँमा अनौठो माटाको गारो र फुसको छानो भएको घर थियो।

‘यो घर कसको हँ ?’

‘कार्कीको।’

कार्कीको रे ? हामीले त हाम्रो घरबारी तेजप्रसाद घिमिरेलाई पो बेचेका थियौँ। म छक्क परेँ।

फूलबारी थियो हाम्रो चिटिक्क परेको। किसिमकिसिमका फूल फुल्थे त्यहाँ। अहिले एक-दुई झ्याङ फूल देखिए पनि ती पुरानो ठाउँमा थिएनन्।

पुरानो ठाउँ रे ? केही पनि पुरानो जस्तो थिएन। चिलाउनेका रूखहरू र निगालाका झ्याङको कतै अस्तित्व थिएन। नचिनिने रूखहरू कान्लाहरूमा ठूल्ठूला भएर बढिसकेकाले मेरो ठाउँ नै होइन कि जस्तो भान हुन्थ्यो। हुस्सु फाटेर घाम झलमल्ल भयो। रिठ्ठु गाईलाई गाडेको बाँसझयाङछेउको बारीको कुनातर्फ अनायास आँखा पुगे। बाटामुन्तिर बारीको कान्लो डरलाग्दो देखियो। त्यत्रो ठूलो कान्लो त्यहाँ छँदैथिएन। त्यहाँबाट त हाम्रा बारीकै बीचबाट तल लिम्बू गाउँ जाने सजिलो गोरटो बाटो पो थियो जुन बाटाबाट कति पल्ट मृत शवहरू लिएर चिहान डाँडातर्फ मलामीहरू गएको दृश्य मैले देखेको थिएँ। अहिले त त्यहाँ बाटो पनि थिएन, बरु बाटो हुनुपर्ने ठाउँमा उक्लिनै नसकिने भयावह कान्लो ठडिएको थियो।

कुनामा टिनले छाएको घर थियो। हाम्रो बारीमुन्तिर खोल्याङ भन्ने खेतहरूको समूह पनि बिलायो कि भनेर मैले आँखा फारेँ, तर आँखाभरि आँसु भरिएर हो कि, नयाँ वृक्षहरूले छलेर हो कि अथवा मनमा भुइँचालो गएर हो कि मैले केही पनि देखिनँ। म बाटाको डिलमा थ्याच्च बसेँ र क्वाँक्वाँ रुन लागेँ।

स्वप्नभङ्ग भनेको यही होला। जीवनभर मैले हृदयमा जोगाएर राखेको मेरो बरबोटे अर्कै भइसकेछ। परबाट एक हुल मानिसहरू हाट भरेर आएकै बरको रूखतिर लागेका मैले देखेँ। नजिक आएपछि मैले नियालेँ। उनीहरूले पेन्ट लगाएका थिए, ज्याकेट भिरेका थिए र केश पालेका थिए। बरबोटे गावैँभरि जताततै टिनका छाना भएका घरैघर फिँजिएका थिए। उहिल्यै त घलेटारका गुरुङ महाजनको मूल घर, तिनका जेठा छोराको घर र मान्द्रेनीका भट्टराईहरूका तीन घरबाहेक सबै घर सिरुले नै छाएका हुन्थे। मानिसहरू सुरुवाल लाउँथे, दौरा र कछाड लाउँथे र खौरेका टाउकामा टोपी टाँस्थे। समयले फड्दुवाल ठोकिसकेछ। पशुपतिले मलाई एक्लै पारेर गएझैँ, कालू लिम्बू र मीतबाले मलाई माया मारेर गएझैँ मेरै माटाले पनि मलाई मेटिसकेछ, मासिसकेछ र माया मारिसकेछ।

मेरो घर अर्थात् म जन्मेको घर माटामा मिलिसकेछ। एक दिन म पनि त्यसरी नै माटामै त मिल्छु नि। किन म रोइरहेको होला बीच बाटामा बसेर ?

मनलाई बाँध्न खोजेँ मैले, हृदयलाई ढाडस दिन खोजेँ मैले र छातीलाई थिच्न खोजेँ मैले। तर आमाका छातीमा मुख टाँसेर, आमाको माटो शिरभरि खन्याएर र आफ्नै मुखमा त्यस पवित्र भूमिको एक मुठी घाँस कोचेर म विगतको प्यारो सम्झनामा रोइरहेँ, रोइरहेँ।

म पशुपति काकालाई सम्झेर रोइरहेँ, रिठ्ठु गाईलाई सम्झेर रोइरहेँ, अमलाको बोटलाई सम्झेर रोइरहेँ। म अन्धी पुतली र त्यसकी सिकुटी आमालाई मात्र होइन, मेरा बालककालका समस्त सम्झनालाई अँगालेर धेरैबेर अलल्लिईअलल्लिई रोइरहेँ। चालीस-पैंतालीस वर्षको छोटो अवधिमै यत्रो परिवर्तन हुँदो रहेछ भने सय-दुई सय वा हजार-डेढ हजार वर्षमा के र कस्तो हुन जाला भनेर म मुटुमा गाँठो पारीपारी रोइरहेँ।

अमलाको बोटलाई दायाँ पारेर बाटामा फुत्त निस्की उँधो दक्षिणतिर बाटैबाटो कुदेको थिएँ म व्रतबन्ध भएपछि। अहिले जस्तो लाग्छ। सम्झनाजस्तो वास्तविक अरू केही पनि पो हुँदैन कि ? प्रेम पनि त सम्झनै त रहेछ नि। समयको यस अत्यासलाग्दो वेगलाई मैले पनि रोक्न सकिनँ। बालक तारानाथ थिएँ म जिज्ञासैजिज्ञासाको पोको, कुतूहलैकुतूहलको कुटुरो। आज मै पनि यौवन काटेर बिस्तारै प्रौढतातिर लम्किरहेको रहेछु।

म यस यात्राको टुङ्गामा अझै पुगिसकेको छैन। मैले त अझै मेरो माटामा लडीबुडी खेल्नै छ, बालककालका साथीहरूलाई भेट्नै छ र सबै कुराको पत्तो लगाउनै छ। मर्नेहरू त गइ नै सके, बाँचेकाहरूसित भलाकुसारी गर्नै छ। बूढापाकाहरूलाई बटुलेर दहीचिउरा खुवाउनै छ। तेजप्रसाद घिमिरेले किन मेरो घर भत्काए र भत्काउनै थियो भने किन कार्कीलाई त्यो बारी बेचे ? मैले सोध्नै छ।
तर मैले जतिसुकै चुरीफुरी गरे पनि भत्किसकेको मेरो घर अब उस्तै रूपमा उभिन सक्नेछैन, ढलिसकेको विशाल बरको रूख फेरि ठडिन सक्नेछैन र बितिसकेको मेरो मनोरम बाल्यकाल अब कहिल्यै फर्केर आउनेछैन।

त्यति भएर पनि मेरो सम्झनाको संसार भने म बाँचुन्जेल मभित्र त्यत्तिकै चोखो, त्यस्तै ताजा र त्यही प्रकारको स्वच्छ रहि नै रहनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved