कथा

जनता सावधान

सुन्नुहोस्

एक महाशयले उठाएको प्रश्न बीचैमा थाम्दै भने, “के निष्कर्ष ! सरकारमा जाने, जसरी भए पनि झन्डा फहराउने। हँ, मनको लड्डु। आज सेक्रेटरियटमा हल्ला छ गोरखा परिषद्को सरकार बन्ने रे ! चार स्वतन्त्र व्यक्ति रहने रे र सेक्रेटेरियटको पुनर्गठन पनि हुने रे !”

जनता सावधान

(२००७ सालमा प्रजातन्त्र आएपछि नेपाली कांग्रेस र राणाहरूसम्मिलित संयुक्त सरकार गठन भयो। प्रजातन्त्र आएपछि नेपाली राजनीति निकै तरल रुपमा अघि बढ्यो। २०१५ सालमा पहिलो आमनिर्वाचन नहुँदासम्म राजनीतिक अस्थिरता कायमै रह्यो।

प्रजातन्त्र प्राप्तिपछिका केही वर्षका राजनीतिक घटनाक्रम र पृष्ठभूमिलाई केन्द्रमा राखिएको लेखिएको यो कथाले तात्कालिक राजनीतिक अवस्था बुझ्न सघाउने छ। संस्कृतिविद् तथा साहित्यकार कुलचन्द्र कोइरालाको यो कथा उनको कथाकृति ‘कुलचन्द्र कोइराला समग्र : भाग दुई’बाट लिइएको हो। जसको संयोजन उनका सुपुत्र दिवंगत जीवनचन्द्र कोइरालाले गरेका थिए।)

“आज तिनै फर्माइस रहोस् !”

“अहँ, मलाई यो स्वीकार छैन।”

“केवल मेरा निम्ति नै सही।”

“उमेश। के तिमीले आफ्नो दायित्वलाई बिस्यौँ ?” रमानन्दले गम्भीर भएर भने- “के यसैका लागि नेपाली नरनारीले बन्दुक उठाएका थिए ? के यसैका निम्ति अपार श्रद्धा र स्नेह उम्लेको हो ? यसैलाई भन्छन् प्रगति ?”

“तँ बडो बुज्रुग भइस् !” उमेशले रमानन्दलाई एक व्यङ्गयभरी हाँसोमा धाप मार्दै भने- “अँ, यो पनि एक प्रगति नै सम्झी। यस्तै अमनचैनका निम्ति स्वतन्त्रताको दरकार पर्छ, व्यक्तिगत स्वतन्त्रताको। जिन्दगी सधैँ दुःख गर्नका निम्ति होइन। सधैँ दौडधुप र चिन्ताले व्याकुल रहन पनि होइन। मनुष्यलाई आनन्दको दिन मन पर्दैन ? सधैँ चिन्ता, सधैँको परिश्रम। विश्राम दिने वस्तुको उपयोगमा तिमी विद्वत्ता छाँट्छौ। मानिसलाई के आनन्दको दिन चाहिँदैन ? प्रजातन्त्रको यो फुक्काफाल जिन्दगीमा हामीले पिएर आनन्द नगरे अरू कसले गर्छ ? जसले मोज गरे, उनीहरूको पालो पुग्यो।”

“वाह ! तिम्रा निम्ति अरू आनन्द दिने चीज छैनन् होइन ?” रमानन्दले गम्भीर भएर भने- “संसारमा चरित्रबल एक महान शक्ति हो। त्यो पनि आर्य संस्कृति झन् के कुरा ! त्यसमा पनि राजनीतिक तथा सामाजिक कार्यकर्ताहरूका निम्ति सच्चरित्रता त्यति नै आवश्यक पर्छ, जति आत्मबल र बुद्धिको पर्दैन। के यो छाँटले तिमीप्रति जनताको श्रद्धा र विश्वास रहिरहनेछ ? के तिमी त्यो स्थानमा पुग्न सक्नेछौ, समाजले जुन नेता पदलाई सत्य र पवित्रताको प्रतीक मानेको छ। महात्मा गान्धीले समाजलाई कसरी प्रभाव पारेका थिए ? के यस्तै आचरणले ! त्याग, इमानदारी र चरित्रबल नै त हो राजनीतिको सफल हतियार।”

“बस-बस् ! यो लेक्चरको आवश्यकता छैन।” उमेशले आवेसिलो स्वरमा भन्दै गए- “समाजलाई यो अधिकार छैन कि नेताहरूको वैयक्तिक आलोचना गरून्। यसैलाई भनिन्छ व्यक्तिगत स्वतन्त्रता। हो, नेता कर्तव्यपरायण चाहिन्छ। देशसेवाको भावनाले युक्त होस्, आवश्यक परेमा देशमा देश र जनताका निम्ति प्राणको बाजी लगाएर मैदानमा कुदोस्। तर व्यक्तिगत चरित्रमा ऊ जो कुछ होस्, समाजलाई के मतलब ? खद्दरधारी भएर अहिंसाको डिग्री पिट्ने चरित्रबल या युगको माग होइन। न सच्चरित्रताले मात्रै आजको रोजीरोटीको समस्या सुल्झन्छ, न त्यस्तो कोरा आदर्शवादमा जनताले विश्वास नै गर्छन्। आजका नेताहरू वैज्ञानिक समाजवादका पुजारी छन्। वर्गसङ्घर्षमा भन्दा समन्वयमा आस्था राख्छन्। ठूला कला औद्योगिकीकरण चाहन्छन्, न कि चर्खासङ्घ। वैज्ञानिक जमानामा वैज्ञानिक कुरा हुन्छ। मिल मासेर चर्खाको नारामा अब समाजको विश्वास छैन। मुख र पोसाकका आदर्शवादीलाई म घृणा गर्छ घृणा। बस, मेरो सिद्धान्त हो काम पनि मरेर गर, मोज पनि खुलेर गर। यसैको नाम हो स्वतन्त्र जिन्दगी जिउनु। नत्र प्रजातन्त्र पाएको फल नै के भयो र !”

“उसो भए तिम्रो सिद्धान्तमा जे पनि भयो, मदभरि नयना र मदभरि प्याला, यही होइन ? यसैले राष्ट्रको उत्थान हुन्छ र नेपालको गरिबी हल हुन्छ होइन ?”- रमानन्दले विरक्तिँदै भने।

“बस् ! अघि नबढ। के तिमीलाई पोजिसनको ख्याल छैन ? तिमीले मेरो कुरा मान्नैपर्छ। अनुशासन… !” यो बेला रमानन्द निरुन्तर भए।

००

वारुणीले अब आफ्नो अरूणिमा प्याला बादले चुचुराबाट ओरालेर नीराका पर्दाभित्र सीमित गराइदिइन्। एकछेउमा मोटरको भीड र अर्कोतिर साइकलको ताँतीले नीराको बाहिरी चहलपहल बढाएको छ। नीलो झल्लरे झुलमनि नीलो आभाको धूमिल छायामा आहोरदोहोर गरिरहेका युवक-युवतीलाई नीराको मादकताले कुत्कुल्याउँदै थियो। प…र जनसेवाको लाउडस्पिकरले सुरिलो र मादक स्वरमा गाउँथ्यो- ‘आओगे पिया दिल तोड के।’ अनि यौनदृश्य छचल्केर निषेधइच्छालाई पनि मन्द चपत दिन्थ्यो।

आफ्नो वार्तालापमा कहिले चड्केर, कहिले बिस्तारै दुइटा युवकहरू नीराको साम्यवादी ढोकातिर लम्कदैछन्। मन्द हावाले नीराको मोहक पर्दा फर्फराएर सबैलाई स्वागतको सङ्केत ग¥यो। ‘वाह यार !’, ‘यत्ति मेरो प्रियतम ?’, ‘थेङक्यू’, ‘गुडनाइट सर’ जस्ता विविध शब्दावलीले गुञ्जायमान नीराको कोठा युवक-युवतीको खचाखचले चकाचक थियो। भ¥याङबाट उक्लँदै नीराका म्यानेजरले चिरपरिचित र नयाँ दुवै ग्राहकपट्टि फर्केर विनम्र स्वरमा भन्दथे- “गुडनाइट।”

“उः यो सानो कोठामा।”- हातको सङ्केत गर्दै बेरापट्टि फर्केर म्यानेजरले भने- “उहाँहरूको फर्माइस् हेर।”

“नम्बर वन ब्रान्डी, सोडा दुई बोतल, दुई प्लेट चिकन करी। अँ, डबल आम्लेट टु प्लेट।”

बेराले उमेशको फर्माइसपछि दुबारा सलाम बजायो। अनि एकछिनमै टेबल खचाखच भरियो।

म्यानेजर बिस्तारै ढोकाभित्र पसेर उमेशलाई नमस्ते गर्दै भने- “ह्वाइट हर्स आजै मात्र आइपुग्यो।”

“धन्यवाद मिस्टर ! दुई पेग !” भन्दै उमेशले कोठाको चारैतिर आँखा घुमाएर भने – “देख्यौ यहाँको आवादी ?”

यसबाहिर डाइरेक्टर र सेक्रेटरी, सरदार र कर्नेल, पार्टी नेता र महाजनको क्षेत्र भिन्नै छ, तर यहाँ सबै बराबर, एकको दोस्रो अभिन्न मित्र। एकदम शान्तिको राज। स्वतन्त्रताकी देवीको एक मृदु चुम्बनपछि कसैले कसैप्रति अविश्वास गर्दैन। सबै गुप्त कुरा विरोधीका निम्ति उकेल्छ जसरी आत्मीयलाई। धन्य तिम्रो चमत्कार !

“आऊ जीवनकी सँगिनी !”- सस्नेह दृष्टिले अगाडिको मधुपात्रलाई हेरेर उमेशले गिलास उठाए र एक सासमा समाप्त गरे।

“ह्वाट इज दिस ? वाह यार ! विश्वेश्वर बाबुको वक्तव्य पढ्नुभयो तपाईले ?”

बाहिरी कोठाको टेबलमा टक-टक टक-टक काँटा-चम्चाको आवाजमा झुलेका टाउकालाई एक्कासि यो प्रश्नले जगाइदियो। स्टेट्सम्यानका पाठकअगाडि झुलेका एक महाशयले चाहिँ ‘हुँ’ गर्दै भने- “डाइरेक्टर साहेब !”

अर्कोपट्टिको कुनाबाट कुनै कोकिल कण्ठले खितखित गरेर हाँसेको आवाज आयो। तर यो उनको नजिकै बसेका युवकले भुलेर टेबलमा टाउको ठोक्काएकाले निस्केको हाँसो थियो। ‘हलो मिस्टर।’ ‘वाह नेताजी।’, ‘नमस्ते, जयनेपाल !’- नवागन्तुकहरू मुस्कुराउँदै सम्बोधन गर्थे र अभिवादन गर्दै बस्तथे। यसरी नै दुई युवतीका साथ चार महाशयहरू उमेश बसेको सानो कोठामा पनि खाँदिन आइपुगे।

“लो यार ! यो माल हो माल ! जिन्दगीको मजा यसैमा छ।” एक आवाज कोठाभित्र गुन्ज्यो र हरायो।

“सर ! यो मेरा तर्फबाट।” उमेशले नवागन्तुक युवकपट्टि गिलास बढाउँदै फर्माए। घन्टी दिँदै भने, “नम्वर वन चार अरू पनि।”

उमेशको स्वागतलाई धन्यवाद दिएर युवकले गिलास अर्कोतिर बढाए, फेरि उनले अर्कोतिर। आफ्ना अगाडि आइपुगेको स्वागतपात्रलाई कौतूहल दृष्टिले हेर्दै युवतीले लाल गाला पारेर भनिन्, “नाई है म त। हजुर पहिले अनि मात्रै।”

यो मधुर वाक्यसँगै फ्याँकिएको चञ्चल नेत्रपलक र सही थाप्ने घाँटीको भङ्गिमाले त्यहाँका सबैको हृदय नै छचल्काइदियो।

बाहिरी कोठाबाट फेरि आवाज आयो, “जिन्दगीको आशा, दुःखकी सँगिनी, राजनीतिकी आराध्य देवी। आऊ सँगिनी।” यसपछि घुटक्कको एक शब्द।

कोठामा कसैले लरखरे बोलीमा भन्यो, “वाह रे विश्वेश्वर बाबु ! एकातिर विदेशी हस्तक्षेप, अर्कोतिर भारत अनन्य मित्र। तब न चलाकी !”

बीचैमा कसैले कुरा काट्यो, “आजको वर्किङ कमिटी के निष्कर्षमा पुग्यो कुन्नि ?”

एक महाशयले उठाएको प्रश्न बीचैमा थाम्दै भने, “के निष्कर्ष ! सरकारमा जाने, जसरी भए पनि झन्डा फहराउने। हँ, मनको लड्डु। आज सेक्रेटरियटमा हल्ला छ गोरखा परिषद्को सरकार बन्ने रे ! चार स्वतन्त्र व्यक्ति रहने रे र सेक्रेटेरियटको पुनर्गठन पनि हुने रे !”

एक महाशयले उत्तेजित स्वरमा भने, “सपना हो सपना।”

“देशमा विश्वेश्वर बाबु सत्तारुढ भएदेखि क्रान्तिकारी परिवर्तन अवश्यम्भावी, तर…!”

बीचैमा उमेशले छेडे, “क्रान्तिकारी परिवर्तन भयो भने तपाईंहरूलाई पनि छाती छाम्नुपर्ला ! सेक्रेटरीमा पनि क्रान्ति लाग्यो भने ?”

“अगाडि पनि हामी नै थियौँ। अहिले पनि यो बीचमा कति सरकार आए, गए, तर हामी छदैछौँ। त्यो सपना अब अधुरै रह्यो, सम्झनोस्।” महाशयले अर्धहाँसोमा जवाफ दिए।

बाहिरी कोठाबाट फेरि एक विकृत आवाज आयो, “आराध्या देवी ! कुन धनी, कुन गरिब, यहाँ सबै बराबर। वास्तविक साम्यवाद यही… हो। यहाँ… को सानो… को ठूलो ! मा… न… न… न अषय मान। साला के कम्यु नि निस्ट हत वा वाद भनेर चिल्लाई ई रहुन्।”

उपर्युक्त आवाजले नजिकैको कुर्सीमा बसेका युवक झस्केर भट्भटाए, “सा सा साम्यवाद ? यसका निम्ति स स सबै मास्नुपर्छ। बेइमान… ! झन्डा ! ग ग गरिबको रगत-पसिनामा मो मो मोटर दौडाएर देश सुधार्ने प प प्रतिक्रिया वा वा वादी छुट छ ? छ छुट ? सारा मार्छ। रुपियाँ मानु चा चा चामल पाइन्न, चार प प पैसा गोटाको फुल आठाना। तीन रुपियाँ कु कु कुखुराको द द दस रुपियाँ। ग ग गरिबलाई भने दि दि दिनभरि काम ग ग गरेको एक मो मो मोहर। ए, लेमुनेट ले !”

यसै बेला मदालस दुनियाको झलनमा होटलभित्रको रेडियोले राग छेडयो, ‘आपके पसन्द’मा ‘दिल कहीं और चल।’

‘गम की दुनिया से दिल भर गया…’, रेडियोको मधुर छेडाइले होटलका मदभरि नयन एकपटक जागा भए। दिलीपकुमारको चित्र एकपटक सबैका आँखाअगाडि झुल्कियो। त्यो झङ्कार कोठाको गारोमा टकराएर प्रतिध्वनि गुन्ज्यो र सन्देश लिएर बाहिरको निष्पट्ट अँध्यारोमा बिलायो।

नजिकको सिनेमा भवनले आफ्नो उदरगर्भबाट दर्दिलो संसारमा एक हल युवक-युवतीलाई बाहिर धकेलिदियो र ठूलो लाउडस्पिकरबाट गायो, ‘पिया मिलन की आश…!’

चुरोटको धुवाँले कुइलधुइल होटलको कोठामा बिस्तारै निःशब्दता छायो। रमाकान्त कहिलेकाहीं झुलेर बड्बडाउँथे, “राज… नीति नै बेइमान, दाउपेच…. हँ चालबाजी। यसैमा सफलचाहिँ नेताजी। ऊँ ऊँ का काम गर्ने हा हा हामी मोज गर्ने गधा। हा… हा… ले ले ले मोटर…।”

उमेशअगाडिको छेउमा बसेकी सुन्दरी युवती उमेशलाई हेरेर नअघाएकी जस्ती थिइन्। उनका टुल्ल हेरिरहेका आँखामा न लाज थियो, न घीन। प्रश्वासको वेगमा धड्केका कम्पित उरोजबाट मादक सौन्दर्यको छाल फुटेर पोखिन्थे। आरक्त कपोल, संस्मृति र विस्मृतिको धमिलो छाया कुतकुती लगाउँथ्यो। युवतीले समदिर सङ्कुचित नयनलाई उघार्ने कोसिस गर्दै गुनगुनाइन् र भनिन्, “मुन्नी !… नाई… नाई…!”

होटलका म्यानेजरले नजिकै आएर मधुशालाका पाहुनाको तन्द्रा भङ्ग गराउँदै भने, “एघाह्र बज्यो सर !”

एक महाशय उठेर लरखराउँदै उठेर ढोकातिर लागे। तर बीचको मेचमा अल्झिएर लडे, अनि उनको श्रीमुखबाट निस्क्यो, “सा… ला प प पागल… धने… आ… कम हियर !”

सुनसान सडकमा अंकमालमा गुँथिएका रमाकान्त र उमेश लर्बराउँदै अघि बढ्दथे र बीचबीचमा अडिएर बड्बडाउँथे, “दे…श सुधा…र। प्यारी… एक… चुम्बन…। पुप् पुलिस… ल्या… ल्या रे।”

सिनेमा भवनको स्वागतद्वारबाट निस्केका कैयौं युवक-युवती र परिवारहरू कोलाहल, मोटरको घरघर र साइकलको घन्टीले बाहिरी नीरवतामा क्रान्तिकारी परिवर्तन ल्याएको थियो। पैदल जानेहरूको जुत्ताको प्याटप्याट बिस्तारै मन्द प्रकाशबाट अलप हुन्थ्यो।

“अमानुषिक बलात्कार ! हिजो दश बजे राति।

प्रजातन्त्रमा जिउ-धन, इज्जतको खतरा !

प्रतिक्रियावादी पार्टीको नङ्गा चित्र ! पढ्नुहोस, पढनुहोस्। अभियुक्तउपर पुलिस कार्यवाही !”

टुँडिखेलको छेउमा मानिसहरूको घेराभित्रबाट अखबार बेच्ने केटो चिच्याउँथ्यो। भीडको आवाज थियो- “बेइमान शैतान ! कहाँसम्मको गुन्डागिरी ! सुधारवादी मुकुन्डो।”

अनि दुईजना भन्दथे, “अपराधीलाई …!”

(जनताले इन्साफ गर्छ ?)

एक छेउबाट दुइटा युवक हाँस्तै गइरहेका थिए र उनीहरूको चर्चा पनि यही थियो। एउटाले भन्यो, “बुझ्यौ कमरेड प्रजातन्त्रवादीहरूको प्रगति ? क्रान्तिपछिको चार वर्षले के गरेन ?”

अर्कोले हाँस्तै भन्यो, “बस् कमरेड ! हाम्रा निम्ति यस्तै नै भइरहोस्। यो प्रतिक्रियावादी नाचले नेपाल चाँडै औताउनेछ। अनि मात्रै आउँछ हाम्रो पालो।”

भोलिपल्ट पनि झन् धुमधामले पर्चाबाजी र पोस्टर टाँसिए। बडाबडा अक्षरमा शीर्षक थियो- जनता सावधान !

चौरमा भीड लगाएर आज पनि एउटा केटो कराइरहेको थियो, “सही रास्ता, सही बाटो, राष्ट्रवाणी, नेपाल पुकार। हाम्रो पार्टीसँग अभियुक्तको कुनै पनि सम्बन्ध छैन। पार्टी नेताहरूको उद्गार। हाम्रो पार्टीलाई जनताको आँखामा गिराउन प्रतिगामी शक्तिहरूको दुष्ट प्रयत्न, गोरखा परिषद्का नेताको कथन। बदमासहरूको मुद्दा ठानामा हेरिँदैछ। जनता सावधान ! जनता सावधान !”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved