एमालेसँग बाक्लियो कांग्रेसको संवाद, सत्तागठबन्धन किचलोमै

एमालेसँग बाक्लियो कांग्रेसको संवाद, सत्तागठबन्धन किचलोमै

काठमाडौं । एमसीसीबारे सहमति खोज्न बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएसँगै सत्ता गठबन्धनको संकट गहिरिएको छ। यस बैठकको असफलतापछि बिहीबारै साँझ देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन्।

जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रधानमन्त्री देउवा छन्। शुक्रबारै संसदमा एमसीसी टेबल गर्नुपर्ने धारणा उनले बिहीबारको सत्तागठबन्धनको बैठकमा राखेका थिए।

तर, एमसीसी यथास्थितीमा पारित गर्न नहुने अडानबाट नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी टसमस भएका छैनन्। एमसीसीलाई संसदमा टेबल हुनबाट रोक्ने र सत्तागठबन्धन पनि जोगाउने रणनीति उनीहरूको छ।

त्यहीकारण, संसद्मा एमसीसी टेबल हुनबाट रोक्न उनीहरूले विभिन्न बहाना बनाइरहेको देखिन्छ। बिहीबारको बैठकमा प्रचण्ड–माधव नेपालले नयाँ शर्त राख्नुको कारण पनि यही थियो। ‘‘पहिले एमालेसँग संवाद गरेर संसदको अवरोध खुलाऔं। त्यसपछि एमसीसीबारे छलफल गरौंला।  संसद चल्न नदिए एमसीसी कसरी टेबल हुन्छ ?’’ बैठकमा उनीहरूको प्रश्न थियो।

तर, देउवा आलटाल गर्ने पक्षमा छैनन्। एमसीसीका विषयमा अनावश्यक रुपमा विभाजित हुन नहुने तर्क उनले गरेका थिए। उनको प्रस्ताव जसरी पनि एमसीसी टेबल गर्नुपर्नेमा थियो। एमालेसँग सदन खुलाउनका लागि संवान गर्ने पनि उनले बताए। ‘‘पास गर्ने वा फेल गर्ने विषयमा छलफल गरौंला। तर पहिले टेबल गरौं,’’ उनले भनेका थिए।

यस विषयमा आजको बैठकमा सहमति नजुटेपनि सत्ता सहयात्रीहरूलाई आश्वस्त बनाउने प्रयास देउवाले छाडेका छैनन्, उनले शुक्रबार बिहान १० बजेका लागि अर्को बैठक डाकेका छन्।

सँगसँगै उनले एमसीसी पारित गराउनका लागि प्रतिपक्षी एमालेलाई पनि मनाउने प्रयास गरिरहेका छन्। सत्ता गठबन्धनमा एमसीसीलाई लिएर साझा धारणा नबनेसम्म यस विषयमा मौन बस्ने रणनीतिमा एमाले छ। तर, सत्ता सहयात्रीहरू टसमस नभएको अवस्थामा एमालेलाई साथ लिएर भएपनि एमसीसी पारित गर्ने मनस्थितीमा देउवा पुगेको उनी निकटका नेताहरू बताउँछन्।

‘‘एमसीसीबारे सत्तागठबन्धनभित्रै सहमतिको प्रयास जारी छ,’ सञ्चारकर्मी ज्ञानेन्द्रबहादुर कार्कीेले बिहीबारको सत्ता गठबन्धनको बैठकपछि भने, ‘यद्यपी यो अब पारित हुने बाटोमा अघि बढीसक्यो भनेर बुुझ्दा हुन्छ।’’

उनले यस्तो प्रतिक्रिया दिएको केही समयमै पत्नी आरजु राणा देउवासहित प्रधानमन्त्री देउवा नेकपा एमालको अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका हुन्।

‘सकभर गठबन्धन जोगाएर अघि बढ्ने प्रधानमन्त्रीको प्रयास हो। तर एमसीसीबाट कांग्रेस ब्याक हुने अवस्था छैन,’’ देउवा निकट अर्का एक नेताले भने,‘‘एमसीसीको विपक्षमा माओवादीसहितका सत्तासहयात्री कायमै रहे भने कांग्रेसले एमालेको साथ लिनुपर्ने अवस्था पनि आउनसक्छ।’’देउवाले यसअघि नै मन्त्री कार्की र नेता मिनेन्द्र रिजाललाई एमालेसँगको संवादका लागि खटाएका थिए। मन्त्री कार्कीले बुधबार

राति ओलीसँग टेलिफोन संवाद गरेका थिए भने नेता रिजालले बिहीबार बिहान ओलीसँग बालकोट पुगेरै छलफल गरेका थिए। ओलीसँगको संवादका विषयमा रिजालले सार्वजनिक रुपमा केही बोलेका छैनन्।

तर, बालुवाटार स्रोतले दुई नेताबीचको भेटमा एमालेले बाहिरै बसेर कांग्रेसलाई समर्थन गर्ने, सरकारमा सहभागी हुने, प्रदेशमा समेत भागवण्डाका आधारमा सरकार गठन गर्नेलगायत विकल्पमा छलफल भएको जनाएको छ।

बिहीबारै, एमाले उपाध्यक्ष सुभास नेम्बाङले वर्तमान सत्ता गठबन्धन भत्किएको अवस्थामा कांग्रेस नेतृत्वको सरकारलाई निर्वाचन गर्ने शर्तमा एमालेले समर्थन गर्ने अभिव्यक्ति दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved