निर्वाचन आयोगले दल दर्ताका लागि गर्‍यो सूचना, हालसम्म १ सय ६ दल दर्ता

नेपालभ्युज

निर्वाचन आयोगले दल दर्ताका लागि गर्‍यो सूचना, हालसम्म १ सय ६ दल दर्ता

काठमाडौं। स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने दलहरूको संख्या १ सय ६ पुगेको छ।

स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई दल दर्ताका लागि आज आयोगले सूचना जारी गरेको थियो।

निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहे १५ फागुनभित्र दल दर्ता गर्न सूचना जारी गरेको हो। बिहीबार आयोगले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसक्नुपर्ने बताए। उनले भने, “निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूले आयोगमा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था भएअनुसार यही १५ फागुनभित्र निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आफ्नो दल दर्ता गर्नका लागि मिति २०७८/११/०५ मा सूचना जारी भएको छ।”

आयोगका प्रवक्ता पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको र आयोगमा हालसम्म दर्ता भएको दलको संख्या १०६ पुगेको जानकारी दिए।

आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ। सो निर्देशिका अनुसार सम्बन्धित पालिकास्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरिने जनाइएको छ।

प्रवक्ता पौडेलले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लगत अनुमान स्वीकृत गरी खरिद प्रक्रिया अगाडि बढाइएको बताए। त्यस्तै मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरूको स्पेसिफिकेशन पनि आयोगबाट स्वीकृत भएको उनले जानकारी दिए।

आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ती गर्न तथा अन्य सेवाका राजपत्रांकित अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्ती गर्न फागुन १५ गतेसम्म आयोगमा नामावली उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको छ।

त्यस्तै निर्वाचन अधिकृतमा नियुक्ती गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितिय श्रेणीका अधिकृतहरूको नामावली पनि १५ फागुनसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ।

पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यविधि सञ्चालन गर्न आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि २०७८ तयार गरी सहमतिका लागि नेपाल सरकार अर्थ मन्त्रालयमा अनुरोध गरिसकेको छ।

मतदाता शिक्षा कार्यक्रमका लागि निर्वाचनकेन्द्रित गीति सन्देश, संवादमूलक शन्देश, लघु कथा आदि लेखन प्रतियोगिता सञ्चालन गर्ने सुचना प्रकाशन भइसकेको र उत्कृष्ट रचनालाई नगद पुरस्कार एवं प्रमाणपत्रको पनि व्यवस्था गरिएको आयोगले जनाएको छ।

स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायतका लागि आयोगले बुधवार नेपालस्थित विभिन्न २० वटा राजनीतिक नियोगहरू तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गरेको छ।

आयोगका प्रवक्ता पौडेलले केही विकास साझेदार संस्थाहरूले आयोगलाई सहायता दिन तयार रहेको बताएको जानकारी दिए। यस वर्षको निर्वाचन दिवस ‘सबै, सधैँ र सँगै’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी फागुन ६, ७ र ८ गते मनाउन लागिएको पनि निर्वाचन आयोगले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved