राक्सिराङमा धुलिखेल अस्पतालको शाखा राख्ने तयारी

नेपालभ्युज

राक्सिराङमा धुलिखेल अस्पतालको शाखा राख्ने तयारी

हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ। मकवानपुरकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको हो।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीहरूसँग मंगलबार अस्पतालमै पुगेर यसबारे छलफल गरेको राज्यमन्त्री प्रजाले बताए।

अस्पतालले प्रदान गरिरहेका सेवा सुविधाहरूको बारेमा जानकारी लिँदै राज्यमन्त्री प्रजाले विपन्न चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको विकट गाउँमा स्वास्थ्य सेवाको आवश्यकताबारे अस्पताल पदाधिकारीहरूसँग छलफल गरेका थिए। निकट भविष्यमै चार शैयाको शाखा अस्पताल सञ्चालन गर्नेबारे धुलिखेल अस्पतालका पदाधिकारी सहमत भएको राज्यमन्त्री प्रजाले बताए।

राज्यमन्त्री प्रजाको पहलमा धुलिखेल अस्पतालले यसअघि दुइपटक गर्लिङको क्षेत्रगत निरीक्षण गरिसकेको छ। राज्यमन्त्रीसँगको छलफल सकारात्मक भएको र निकट भविष्यमै गाउँलेको आवश्यकताको आधारमा स्वास्थ्य सेवा प्रदान गर्ने सोच बनाइएको धुलिखेल अस्पतालका पब्लिक हेल्थ अफिसर सुदिप श्रेष्ठले जानकारी दिए।

गर्लिङमा अस्पताल निर्माण गर्ने सोचका साथ भौतिक पूर्वाधार राज्यमन्त्री प्रजाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको ५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका छन्।

धुलिखेल अस्पतालले नागरिकको स्वास्थ्य आवश्यकताको पहिचान गर्नुका साथै अन्य अवस्थाबारे जानकारी लिन तत्कालको लागि फागुन मसान्तसम्ममा राक्सिराङमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved