भक्तपुर नगरपालिका : राजस्व संकलन बढ्यो, १०४ विद्यार्थीलाई दिइयो शैक्षिक ऋण

नेपालभ्युज

भक्तपुर नगरपालिका : राजस्व संकलन बढ्यो, १०४ विद्यार्थीलाई दिइयो शैक्षिक ऋण

भक्तपुर। ‍नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको एघारौं नगरसभाको आज एक समारोहबीच दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन्। कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले जनसहभागिता, जनश्रमदान, जनताको सहयोगमा जनताको सेवा गर्ने अग्रजहरूको मार्गनिर्देशनअनुसार नेमकिपाका जनप्रतिनिधिहरूले कार्य गर्नुपर्ने बताए।

सांस्कृतिक नगरका नगरबासीहरू परम्परागत र अन्धविश्वासी नभई विज्ञान र प्रविधिमैत्रीसमेत हुने भएकोले सोहीअनुसार नगरबासीहरूको सांस्कृतिक स्तर उकास्नुपर्नेमा उनले जोड दिए।

संघीयताको पूर्ण कार्यान्वयनको लागि स्थानीय तहहरूलाई स्वायत्तता प्रदान गरी विकेन्द्रीकरणको सिद्धान्तलाई लागू गर्नुपर्ने उनले बताए। अनावश्यक सवारीसाधनमा अत्यधिक खर्च गरी पुँजी निर्माण नहुने हुँदा यस्ता क्षेत्रहरूमा मितव्ययिता अपनाई देशको आन्तरिक उत्पादन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा उनले जोड दिए।

उक्त कार्यक्रममा नगर प्रमुख सुनील प्रजापतीले भक्तपुरलाई देशको नमुना नगरको रूपमा विकास गर्न लागिरहेको बताए। स्थानीय तहको स्वायत्ततालाई विशेष ध्यानमा राखिएकाले कसैबाट हस्तक्षेप स्वीकार नहुने उनले बताए।

उनले उक्त नगरसभामा चालू आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी समेत दिएका थिए।

 

भक्तपुर नगरपालिकाको बजेट कार्यान्वयनको अवस्था

आयतर्फ :
आन्तरिक स्रोततर्फ चालु आ.व. २०७८/७९ को पुस मसान्तसम्म छ महिनाको अवधिमा ९ करोड १५ लाख राजश्व संकलन भयो। गत वर्ष सोही अवधिमा करिब रु. ६ करोड मात्रै संकलन भएको थियो। यस वर्ष रु. ३ करोड १५ लाखले राजश्व संकलन वृद्धि भएको छ। पर्यटनतर्फ गत वर्षको तुलनामा ७० लाखले वृद्धि भयो भने गैर पर्यटनतर्फ २ करोड ४५ लाख वृद्धि भएको छ। यस आ.व. २०७८।७९ मा गैर पर्यटनतर्फ विभिन्न कर दस्तुरमा १६ करोड अनुमान गरिएकोमा पुस मसान्तसम्मको ६ महिनाको अवधिमा ८ करोड (५० प्रतिशत) संकलन भयो। पर्यटन शुल्कमा आ.व. २०७८।०७९ मा रु. १० करोड अनुमान गरिएकोमा कोभिड १९ महामारीको कारण पुस मसान्तसम्ममा करिब १ करोड मात्रै संकलन भयो। यो लक्ष्यको १० प्रतिशत मात्र हो। कोभिड १९ को असरलाई समेत विचार गरी घरजग्गा कर तथा बहाल करमा दिइँदै आएको ५० प्रतिशत छुटलाई यस वर्ष पनि निरन्तरता दिइएको छ भने पर्यटनसँग सम्बन्धित व्यवसायमा ४ महिनाको कर छुट दिइएको छ। कर प्रशासनलाई व्यवस्थित गर्न कर टोली परिचालन तथा सूचना प्रविधिको प्रयोगमा जोड दिइएको छ।

चालु खर्चतर्फ :
यस नपाको आ.व. २०७८।७९ मा चालु खर्च शीर्षकमा रु. १,१०,२२,१७,२०० (एक अर्ब दश करोड बाइस लाख सत्र हजार दुई सय) र पुँजीगत खर्च शीर्षकमा रु. ८२,९७,८२,८०० (बयासी करोड सन्तान्नब्बे लाख बयासी हजार आठ सय) गरी कूल रु. १,९३,२०,००,००० (एक अर्ब त्रियानब्बे करोड बीस लाख) विनियोजन भएकोमा आ.व. २०७८।७९ को माघ २४ गतेसम्ममा चालु खर्च शीर्षकतर्फ रु. ४१,४६,००,००० (एकचालीस करोड छयालीस लाख) मात्र खर्च भई विनियोजित रकमको ३७।६१ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्च शीर्षकतर्फ रु. १९,३५,००,००० (उन्नाइस करोड पैतिस लाख) खर्च भई विनियोजित रकमको २३।३१ प्रतिशत खर्च भएको छ। यस आ.ब.मा कुल विनियोजित बजेटको २९।३६ प्रतिशत खर्च भएको जानकारी गराउन चाहन्छौं।

शिक्षा :
शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको भक्तपुर नगरपालिकाले ‘एक घर एक स्नातक’ अभियानलाई पूर्णता दिने क्रमलाई निरन्तरता दिँदै थप विकासको निम्ति आवश्यक व्यवस्था गर्दैछ। कुनै पनि नगरबासी विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहोस् भनी नगरपालिकाले गरिब विद्यार्थीलाई रु. ५ लाखसम्म शैक्षिक ऋण, नपाका कलेजहरुमा करोडौं रुपैयाँको छात्रवृत्ति, देशका जुनसुकै कलेजमा अध्ययन गरे पनि इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृति पढ्ने नगरबासीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस वर्ष १०४ जना विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्ने स्वीकृत भएको छ।

कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाइ नगरभित्र सञ्चालित विद्यालयहरुमा पठनपाठन गर्दै भक्तपुरको इतिहास, भूगोल, कला—संस्कृति, सम्पदा, मौलिक सीप तथा प्रविधि र विभिन्न पक्षका विशिष्ट व्यक्तित्वहरुको जीवनीबारे जानकारी दिने प्रयास गर्दै आएका छौं। शैक्षिक गुणस्तर माथि उठाउन कक्षा ५ र ८ को नगरस्तरीय परीक्षाको बन्दोबस्त गरेका छौं। आधारभूत तह शैक्षिक जग भएको हुँदा त्यसमा सुधार ल्याउन समय समयमा दिँदै आएको सहयोगको अतिरिक्त थप भौतिक सुधारको लागि सबै आधारभूत विद्यालयलाई रु. १ लाखका दरले सहयोगको क्रम जारी छ।

नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा लामो समयदेखि कार्यरत शिक्षक कर्मचारीहरुको मनोबल बढाउन यस कार्यकालमा कानुनबमोजिम सबैलाई स्थायी गरेका छौं। ख्वप इन्जिनियरिङ कलेज पूर्वाञ्चल विश्वविद्यालयहद्वारा सम्बन्धन प्राप्त ११७ कलेजहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भयो भने ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत छात्र रमण श्रेष्ठ यो वर्ष त्रिभुवन विश्वविद्यालयअन्तर्गत सिभिल विभागतर्फ सर्वोत्कृष्ट हुन सफल भएको छ। भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुमा ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता हामीले पूरा गर्दै आएका छौं।

विद्यार्थीमा पठन संस्कृतिको विकासको लागि जनज्योति पुस्तकालयलाई स्तरीय बनाउनुका साथै वडा वडामा रहेका पुस्तकालयहरूलाई पनि व्यवस्थित गर्ने प्रयास गर्दैछौं। पुस्तकालय समितिको प्रतिवेदनको आधारमा आवश्यकताअनुसार प्रत्येक वडामा सञ्चालित पुस्तकालयहरुलाई आर्थिक सहयोगको नीति बनाई लागू गर्दैछौं।

स्वास्थ्य :

नगरबासीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैय्याको बनाउने तयारी गर्दैछौं। हाल २५ शैय्याको स्वीकृति प्राप्त उक्त अस्पतालले दैनिक ५०० देखि ६०० जनाभन्दा बढी विरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ। इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी,छाला लगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको उक्त अस्पताल सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने प्रयास गर्दैछौं। ख्वप अस्पतालले आ.व. २०७७/७८ मा ४० जिल्लाका १,१२,०२२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्यो भने २०७८/७९ को ६ महिनामा ८३,२३५ जनालाई उपचार सेवा प्रदान गरेको छ। जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने हाम्रो उद्देश्य अनुसार अस्पतालले दैनिक ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आएकोमा सार्वजनिक बिदाका साथै शनिबारमा समेत सो सेवा प्रदान गर्दै आएको छ। वडा वडामा स्वास्थ केन्द्रहरु निर्माण गरी नगरबासीहरुलाई छिटो छरिटो स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुसार भक्तपुर नपा वडा नं. २ व्यासी, वडा नं. ५ भगवति स्थान र वडा नं. १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र संचालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा नं. १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको छ। ख्वप अस्पताल कोभिड युनिटमा ५४७ जना संक्रमितको उपचार गरिसकेको र श्वासप्रश्वास पुन:स्थापना केन्द्रले २२४ जना बिरामीको उपचार सेवा प्रदान गरिसकेको छ।

कोरोना भाइरसको महामारीको कारण भक्तपुरबासीहरुले पनि निकै पीडा भोग्नुपर्‍यो। जनताको समस्या सम्बोधन गर्न नगरबासीहरुकै सहयोगमा भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरी सम्पूर्ण नगरबासीलाई नि:शुल्क अक्सिजन वितरण गर्दै आएको छ। स्वास्थ्य बिशेषज्ञहरुका अनुसार खोप नै कोरोना रोगबाट बच्ने भरपर्दो उपाय भएको तथ्यलाई ध्यानमा राखी वडा वडामा खोप केन्द्रहरु स्थापना गरी व्यापक रुपमा खोप अभियान चलायौं। भक्तपुर नगरपालिकाले हालसम्म मोर्डना १२,८४६, भेरोसेल १,१५,११३, कोभिशिल्ड १२,२९५ र जोनसन ३,८९६ मात्रा गरी कूल १,४४,१५० जनाले खोप लगाइसकेको छ।

त्यसैगरी नगरस्तरीय नागरिक आरोग्य केन्द्रले साउनदेखि पुस मसान्तसम्मको छ महिनामा १,१९८ बिरामीलाई आयुर्वेदिक उपचार सेवा प्रदान गर्यो भने सामुदायिक आँखा केन्द्रबाट विगत ६ महिनामा १२,८९८ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ।

नगरबासीहरुको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न घरदैलो नर्सिङ सेवा सुरु गरिएकोमा त्यसलाई अझ प्रभावकारी बनाउँदै लाने प्रयास गर्दैछौं। कडा रोगहरु मुटु, मस्तिष्कघात, क्यान्सर, मृगौला रोग लागेकाहरुलाई प्रति व्यक्ति रु. १५,०००।– आर्थिक सहयोग गर्दै आएकोमा विगत ६ महिनामा ११५ जना बिरामीहरुलाई जम्मा रु. १७,२५,००० आर्थिक सहयोग प्रदान गरियो।

ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतनको संचालनका लागि भक्तपुर नपा वडा नं. ६ अँचा पोखरीमा भवन निर्माण भइरहेको छ। वडा वडामा नियमित रुपमा पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर, दन्त शिविर तथा आँखा शिविरहरु सञ्चालन गर्दै आएका छौं।

पशु सेवा प्राविधिक केन्द्र भक्तपुरको तर्फबाट बितेको ६ महिनामा कुकुर, गाई, भैंसी, बाख्रा, कुखुरालगायत ४७६ बिरामी पशुपंक्षीहरुलाई उपचार सेवा प्रदान गरिएको छ।

सम्पदा तथा कला–संस्कृति संरक्षण र विकास निर्माण :

‘पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नारालाई सार्थक बनाउन हामी प्रयासरत छौं। पूर्खाले सिर्जेका सम्पदाहरु हाम्रा अमूल्य निधि हुन्। त्यसको संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो कर्तव्य हो। जनप्रतिनिधिको रुपमा हामी निर्वाचित भएपछि भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु पुन:निर्माण र जीर्णोद्धारमा जोड दियौं। जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति लियौं। सम्पदा पुन:निर्माण र जीर्णोद्धारको काम ठेक्काबाट गर्न नहुनेमा हामी स्पष्ट छौं। यद्यपि संघ र प्रदेशको बजेटबाट हुने अधिकाँश काम ठेक्काबाट सम्पन्न गर्नुपर्ने हाम्रो बाध्यता हो। जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्पmत पारदर्शी ढंगले गुणस्तरीय काम सम्पन्न गर्दै आयौं। यही नै हाम्रो विशेषता हो।

हामी विदेशीसँग भिख मागेर बनाएका सम्पदाहरुबाट खुशी हुनुभन्दा आफ्नै पौरखमा जीर्णोद्धार र पुन:निर्माण भएको सम्पदाहरुप्रति गर्व गर्छौं। आत्मनिर्भर भएर बाँच्ने नेमकिपाले सिकाएको महत्वपूर्ण शिक्षा हो। भूकम्पपछि नेपाल सरकार र जर्मनी सरकारबीच भक्तपुरको सम्पदा पुन:निर्माणको लागि रु.१ अर्ब २० करोड सहयोग सम्झौता भएकोमा सम्झौताका बुँदाहरु हाम्रो हितमा नभएको कारण हामीले त्यो सहयोगलाई अस्वीकार गर्यौं। आज देशमा एमसीसीको चर्चा भइरहेको बेला त्यसको स्मरण गर्नु सान्दर्भिक देखिन्छ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त १२० भन्दा बढी सम्पदाहरुमध्ये अधिकाँश सम्पदाहरुको जीर्णोद्धार र पुन:निर्माण सम्पन्न भएका छन्। २६ वटा मन्दिर, ४० वटा पाटी, ६ वटा द्योछें, ३ वटा प्रवेशद्वार, ७ वटा इनार, ८ वटा सत्तल पाटी, ७ वटा ढुंगेधारा, ११ वटा अन्य गरी हालसम्म ११८ वटा सम्पदाहरूको जीर्णोद्धार सम्पन्न भएका छन्। यसबीच खौमा ढोका, वत्सला मन्दिर पुन:निर्माण, ङातापोल्ह र भैरवनाथ मन्दिर जीर्णोद्धार सम्पन्न भयो भने गय्:भिन्द्यो पुल र छिपा ताँ पुन:निर्माण सम्पन्न भएका छन्। त्यसैगरी बाराही पुल, हनुमानघाट पुल, ब्रम्हायणी पुल, धाँलाखुसी र लिवाली पुल निर्माणाधीन अवस्थामा छन्। भक्तपुरको दूधपाटीदेखि च्याम्हासिंहसम्म नगरको मूल सडकमा करिब ३ कि.मी. ढुंगा छपाई काम सम्पन्न भयो भने भनपा ७ मा सुधारिएको शव दाहगृह, भनपा १ स्थित रानीपोखरी र भाज्या पुखुको पुन:निर्माण कार्य अन्तिम चरणमा छ। लक्ष्मीनरसिंह मन्दिर, इखालाछी मठ निर्माणाधीन अवस्थामा छन् भने खोला सुधार र ऐतिहासिक महŒवका घाट सुधारका कामहरु भइरहेका छन्। साथै कमलविनायक र लिबाली आवास योजनाभित्रका सडकहरु कालोपत्रे गर्ने काम क्रमश: भइरहेको छ।

नगरभित्रका अमूर्त सम्पदाहरुको संरक्षणको लागि हरेक वर्ष एउटा विधाको साँस्कृतिक प्रतियोगिता गर्दै आएकोमा कोरोना महामारीको कारण २०७७ सालमा प्रतियोगिता गर्न सम्भव भएन। २०७८ सालमा पछिमा बाजा प्रतियोगिता गर्ने घोषणा गरि सकेकोमा कोरोनाकै कारण स्थगित गर्नुपरेको छ। स्थानीय सरकार संचालन ऐन २०७४ दफा ९(३) बमोजिम नगरको पुरानो सहरलाई सिमाङ्कन गरी साँस्कृतिक क्षेत्र घोषणा गरी पुरानो शहरलाई जिवन्तता दिन जोड दिंदैछौं। प्राचीन नगरको संरक्षण गर्न साँस्कृतिक क्षेत्रमा घर जग्गा नगरबासीहरुबीच मात्रै खरिद–बिक्री गर्ने कानुनी व्यवस्था गरिएकोमा केही सम्पदा विरोधीहरुले सर्वोच्च अदालतमा नगरपालिकाको निर्णयलाई चुनौती दिँदै मुद्दा दिएपछि अदालतको अन्तरिम आदेशको कारण त्यो कार्यान्वयनमा बाधा पुगेको छ। अदालतले सम्पदा संरक्षणको पक्षमा निर्णय दिने अपेक्षा गर्दछौं।
भनपा वडा नं. ५ स्थित जगन्नाथ क्षेत्र संरक्षणको लागि डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा जगनाथ क्षेत्र अध्ययन तथा उत्खनन् समिति गठन गरी काम भइरहेको छ।

बजार अनुगमन :

उपभोक्ताको हितलाई ध्यानमा राखेर नगरपालिकाले नियमित बजार अनुगमन गर्दै आएको छ। अनुगमनको क्रममा पसल नवीकरण नगरिएको, सरसफइमा कमी, नियमानुसार नापतौल नवीकरण नभएको, मिसावट सामग्री र म्याद नाघेका बस्तुहरु बिक्री गर्ने गरेको पाइएको हुँदा त्यस्ता व्यापारीहरुलाई नियमानुसार कारबाही गर्दै आएका छौं। सडक पेटीमा जथाभावी सामान बेच्ने, तोकिएको भन्दा बढी मूल्य असुल गर्ने र गुणस्तरहीन सामान बेचविखन गर्नेहरुलाई पनि कानून बमोजिम कारबाही गर्दै आएका छौं।

खेलकुद :

हरेक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता सम्पन्न गर्ने निर्वाचन घोषणापत्रमार्पmत प्रतिबद्धता गरे अनुसार खेलकूद प्रतियोगिता सञ्चालन गर्दै आएका छौं। पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष क्रमश: भलिबल, कराँते, एथलेटिक्स र बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्‍यौं। २०७८ साल फागुनमा प्रतियोगिता सञ्चालन गर्ने तयारी पनि गर्दैछौं।

हरेक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता पनि सम्पन्न गर्दै आएका छौं। २०७८ साल मंसिर २० गतेदेखि २४ गतेसम्म सञ्चालित नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा १३ वटा विभिन्न विधामा ७१ वटा विद्यालयका कूल १,८८५ खेलाडीहरुले सहभागिता जनाएका थिए। सबै नागरिकहरुलाई खेलकुदको माध्यमबाट स्वस्थ राख्ने प्रयास गर्नुका साथै प्रत्येक वडामा व्यायामशालाहरु स्थापना गरी शारीरिक व्यायाम नागरिक जीवनको एक महŒवपूर्ण हिस्सा बनाउने प्रयास गर्दैछौं। हालसम्म नगरका २३ ठाउँमा व्यायामशालाहरु स्थापना गरी नगरबासीहरूलाई सेवा प्रदान गर्दै आएका छौं।

विभिन्न ६ वटा खेलकुदको नियमित प्रशिक्षण, विद्यालयहरुमा खेलकुद प्रशिक्षण दिन पूर्णकालीन प्रशिक्षकको व्यवस्था तथा विद्यालयहरुमा छात्राहरुका लागि आत्मरक्षासम्बन्धी तालिमलाई पनि निरन्तरता दिंदै आएका छौं। वडा वडामा खेलकुद समितिहरुको गठन गरी युवाहरुलाई खेलकुदमा सहभागी बनाउने हाम्रो प्रयास जारी छ। कमलविनायक कबर्ड हलमा बक्सिङ रिङको व्यवस्था गरिएको छ।

भनपा वडा नं. ८ स्थित लिवालीमा कवर्ड हल निर्माण अन्तिम चरणमा पुगेको छ भने वडा नं. १० मा निर्माणाधिन अबस्थामा छ। खेलाडीहरुको चाहनालाई ध्यानमा राखी आवश्यकताअनुसार कबर्ड हल निर्माण कार्यलाई जोड दिंदैछौं।

सरसफाइ तथा वातारण सुधार :

फोहरमैला व्यवस्थापन हाम्रो ठूलो चुनौती हो। जस्तोसुकै अप्ठेरो स्थितिमा पनि नगरको सरसफाइमा कमी आउन दिएनौं। हनुमन्ते खोला र कासान खोला सुधारको लागि फोहरलाई प्रशोधन गर्न नगरको दुई ठाउँमा उपचार पोखरी निर्माणको लागि पहल गर्‍यौं र हाल ती उपचार पोखरीहरु निर्माणाधीन छन्। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) को सहयोगमा भइरहेको उक्त कामले तीब्रता पाउँदैछ।

नगरको वातावरण सुधारको लागि सडकका किनारामा रुख रोप्ने, पुराना शहरका महŒवपूर्ण सम्पदा क्षेत्रमा हरियाली प्रबद्र्धन गर्ने तथा हरेक महिनाको १ र १५ गते नियमित सर–सफाइको आयोजना गरी भक्तपुरलाई स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने काममा जोड दिंदै आएका छौं।

खानेपानी :

खानेपानी भक्तपुर नगरको स्थायी समस्या जस्तै बनिरहेको छ। खानेपानीको आप्mनै श्रोत नहुनु, नगरकोट र बोडेको पानीको भर पर्नुपर्ने कारणले नगरबासीहरुले खानेपानीको ठूलो समस्या भोग्दै आएका छन्। सम्भव भएका विभिन्न ठाउँहरुमा डीप बोरिङ गरी वडा वडामा खानेपानी सहज वितरणको व्यवस्था मिलाउँदै छौं। खानेपानीको स्थायी समाधानको लागि मेलम्चीको भर पर्नु बाहेक हामीसित अर्को विकल्प छैन। त्यसको निम्ति निरन्तर प्रयास जारी छ। हाल कटुञ्जेमा ट्याड्ढी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

क्यान्सर अस्पताल सरकारी स्वामित्वमा :

भक्तपुर नगरपालिका वडा नं. १ स्थित सार्वजनिक जग्गामा निर्मित क्यान्सर अस्पताल केही समय अघिसम्म एउटा एनजीओले संचालन गर्दे आएको थियो। सरकार, विदेशी अनुदान र नगरपालिकाको जग्गामा सञ्चालित उक्त अस्पतालका संचालकहरुले सबै निजी सम्पत्तिको रुपमा ब्रम्हलुट गरी अकुत सम्पत्ति कमाइरहेका थिए। अस्पतालमा भइरहेको व्यापक भ्रष्टाचार सार्बजनिक भएपछि नगरपालिकाले सरकारी स्वामित्वमा ल्याउन पहल गर्‍यो। लामो विवादपछि अन्तत: उक्त अस्पताल संघीय सरकारको मातहतमा गएको छ। त्यसबाट जनतालाई सस्तो र गुणस्तरीय उपचार सेवा प्राप्त भइरहेको छ। भक्तपुर क्यान्सर अस्पताल सरकारीकरण हुनु एउटा महत्वपूर्ण उपलब्धी हो। त्यस्तै भक्तपुर अस्पताल व्यवस्थापन समितिमा नगरपालिकाको प्रतिनिधित्व भएपछि क्रमश: सुधार हुँदैछ। गत वर्ष उक्त अस्पताल बागमती प्रदेशकै उत्कृष्ट घोषित भएको छ।

सहकारी सम्बन्धमा:

भक्तपुर नगर भित्र संचालित १५६ वटा सहकारीहरुलाई सहकारी सिद्धान्तअनुसार संचालन गर्न नगरपालिकाले समय समयमा अनुगमन गर्दै आएको छ। अनुगमनको क्रममा देखिएका कमी कमजोरी सुधारको लागि सुझावहरु दिने र त्यसको कार्यान्वयन गराउने प्रयाश गर्दै आएको छ। साथै भक्तपुर नगरपालिकाको सहकारी ऐन विपरीत नगरपालिकाको स्वीकृति विना संचालित वहुउद्देश्य सहकारी संस्थाहरुलाई कानून विपरीत संचालन नगर्न संचेत पार्ने काम पनि गर्दै आएको छ।

देको–मिवा–इतापाके आवास योजना :

भक्तपुर नगरलाई व्यवस्थित शहरको रुपमा विकास गर्न भनपा वडा नं. २ र ६ मा १६५३ रोपनीमा देको मिवा इतापाके आवास योजना संचालन भइरहेको छ। जनताको हितलाई ध्यानमा राखी भएको उक्त योजनामा जनताको गुनासो सम्बोधन गर्ने क्रममा केही ढिलाई हुन गएको हो। यद्यपि चरणबद्ध रुपमा जग्गा फिर्ता दिने काम अगाडि बढाइएको छ।

प्रकाशन तथा सञ्चार :

भक्तपुर नगरपालिकाका हरेक गतिविधिबारे जनतालाई जानकारी दिने उद्देश्यले मासिक ‘भक्तपुर’, नेपाल भाषाको पाक्षिक ‘ख्वप पौ’ निरन्तर प्रकाशित गर्दै आएका छौं। त्यसैगरी अनलाइन पत्रिका ‘भक्तपुर खबर डट कम’, ‘भक्तपुर म्युनिसिपालिटी’ फेसबुक पेज र भक्तपुर एफएम मार्फत ‘ख्वप स:’ कार्यक्रमलाई पनि निरन्तरता दिएका छौं।
नगरपालिकाद्वारा पुन:निर्माण र जीर्णोद्धार गरिएका सम्पदाहरुको संक्षिप्त विवरणसहित ‘फोटो पुस्तक’, भक्तपुरका विभिन्न पक्षबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान’ भाग १ र २ प्रकाशित भइसकेको छ भने भाग ३ प्रकाशोन्मुख अवस्थामा छ। भक्तपुर नपाले गरेका अभ्यासहरुलाई समेटेर प्रकाशित गरेको ‘हाम्रो अभ्यास’, महत्वपूर्ण सम्पदाहरु जीर्णोद्धारपछि त्यसका सम्पूर्ण विवरणसहित ‘भैरवनाथ मन्दिर जीर्णोद्धार‘, ‘ङातापोल्हँ जीर्णोद्धार—२०७७’, ‘वत्सला मन्दिर जीर्णोद्धार—२०७८’ पुस्तक प्रकाशित भइसकेको छ भने ‘रानी पोखरी जीर्णोद्धार’ पुस्तक प्रकाशनको तयारीमा छौं। त्यसैगरी भक्तपुरका विभिन्न पक्ष समेटिएका महत्वपूर्ण पुस्तकहरु प्रकाशित गर्दै जाने नीति लिएका छौं। यसले भविष्यमा भक्तपुरबारे बुझ्न र अध्ययन अनुसन्धान गर्न चाहनेहरुको लागि ठूलो मद्दत मिल्ने हाम्रो विश्वास छ।

कर्मचारी सम्बन्धमा :

लामो समयदेखि भनपामा सेवारत रहेका कर्मचारीहरुको वृत्तिविकासको लागि आवश्यक ऐनको व्यवस्था गरी ८६ जना कर्मचारीहरुलाई एक तह वृद्धि गरियो भने कानुनबमोजिम तह वृद्धि गर्न समस्या परेकाहरु ३० जना कर्मचारीलाई दुई ग्रेड थप गरी सेवा सुविधा दिइएको छ। १०० जना कर्मचारीहरुलाई १ तह स्तर वृद्धि गरिएको छ। अन्य कर्मचारीहरुलाई पनि कानुनबमोजिम सुविधा दिने प्रयास गर्दैछौं।

निजी आवास पुन:निर्माण :

२०७२ सालको महाभूकम्पले झण्डै ८ हजार घरमा आंशिक र पूर्ण क्षति भएको थियो। तीमध्ये ५,६८१ परिवारले लाभग्राही सूचीमा दर्ता गरी सम्झौता गरेकोमा ५,६८० परिवारले पहिलो किस्ताबापत रु. ५०,०००।– पाए भने हालसम्म दोस्रो किस्ता लिनेहरुको संख्या २,३५५ र तेस्रो किस्ता लिनेहरुको संख्या २,१८४ रहेको छ। दोस्रो र तेस्रो किस्ता नलिएकाहरुलाई शीघ्र घर निर्माणको लागि जोड दिँदैछौं।

सीपमूलक तालिमहरु :

युवाहरुलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउनेतर्फ भक्तपुर नपाले निरन्तर जोड दिँदै आएको छ। कृषिसम्बन्धी माटो परीक्षण, किटनाषक औषधिको प्रयोग, उन्नत जातको वीउबाट उत्पादन तथा कृषि प्राविधिक नर्सरी सम्बन्धी, च्याउ खेती, बेमौसमी तरकारी खेतीसम्बन्धी तालिमहरुलाई निरन्तर सञ्चालन गर्दै आयौं भने सिजनअनुसार किसानहरुको लागि आलु, धान र गहुँको वीऊ वितरणलाई निरन्तरता दिँदै आएका छौं।

चिनियाँ भाषा, जापानी भाषाको नियमित तालिम, सिकर्मी, डकर्मी, सञ्चारसम्बन्धी, सिलाइ–बुनाइ, पाक शिक्षा तथा अन्य विभिन्न सीपमूलक तालिमहरु दिँदै आएका छौं।

नगरपालिकाबाट हुने कामलाई व्यवस्थित रुपमा अगाडि बढाउन ऐन, नियम, विनियम र कार्यविधि गरी हालसम्म ४६ वटा कानुन निर्माण गरी कार्यान्वयन गर्दै आएका छौं।

अन्त्यमा

भक्तपुर नगरपालिकामा हामी निर्वाचित भएदेखि आजको दिनसम्म नगरबासीहरुले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दछौं। हामी जनप्रतिनिधिहरुले सँधै नगरबासीहरुको प्रगतिलाई ध्यानमा राखी सेवामा समर्पित भएर काम गर्दैछौं। बाँकी दिनमा पनि जनताको हितमा उदाहरणीय कामहरु गर्दै भक्तपुरलाई देशको नमुना नगरको रुपमा विकास गर्न हाम्रो कार्यकालको अन्तिम दिनसम्म लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं। धन्यवाद ¤

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved