चुनावकेन्द्रित अभियानमा कमल थापा, पार्टीबाट अलग्गिने चेतावनी (भिडिओ)

राजधानीको चावहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आयोजित भेलामा राप्रपाका चार जना उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की सहभागी थिए। भेलामा राप्रपा महामन्त्री कुन्ती शाही पनि सहभागी थिइन्।

नेपालभ्युज

चुनावकेन्द्रित अभियानमा कमल थापा, पार्टीबाट अलग्गिने चेतावनी (भिडिओ)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबाट आफ्नो पत्रको सम्बोधन नभएको भन्दै नयाँ पार्टी गठन गर्न पहल थालेका छन्। उनले सोमबार राप्रपाका आफू पक्षधर केन्द्रीय पदाधिकारीसहितका नेताहरूसँग यसबारे छलफल गरेका हुन्।

राजधानीको चावहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आयोजित भेलामा राप्रपाका चार जना उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की सहभागी थिए। भेलामा राप्रपा महामन्त्री कुन्ती शाही पनि सहभागी थिइन्।

कमल थापानिकट राप्रपा नेता राजाराम बर्तौलाका अनुसार, भेलामा उक्त पदाधिकारीबाहेक नेताहरू राजीव पराजुली, जयन्त चन्द, काठमाडौं उपत्यकाका तीनै जिल्लाका पार्टी अध्यक्षहरू भेलामा सहभागी थिए।

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले केही दिनअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गरी पठाएको पत्रबारे केही पनि सम्बोधन नभएपछि उक्त भेला आयोजना गरेका हुन्।

नेता बर्तौलाले उक्त पत्रको सम्बोधन नहुने हो भने निर्वाचनमा बेग्लै ढंगले अघि बढ्ने पहल भएको बताए। राप्रपा पूर्वअध्यक्ष थापाले पार्टीभित्र निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र)को हस्तक्षेप भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनलाई यसअघि दुई ओटा पत्र पठाइसकेका छन्।

“नेता कमल थापाले पार्टीभित्रको समस्याबारे गतसाता राप्रपा अध्यक्ष लिङदेनलाई लिखित रुपमै जानकारी गराउनुभएको थियो। तर अहिलेसम्म त्यसको सम्बोधन गर्ने पहल भएन,” राप्रपाका पूर्वसहमहामन्त्री बर्तौलाले नेपालभ्यूजसँग भने, “अब हामी चुनावको संघारमा आइपुगेका छौँ। ती विषयलाई सम्बोधन गरेर एकताबद्ध नबनाउने हो भने त्यहाँभित्र अटाउन सकिँदैन भन्ने पूर्वअध्यक्ष थापाको भनाइ हो। अब कसरी अगाडि जाने भन्नेबारेमा छलफल गर्न आफूनिकट पदाधिकारीसँग उहाँले छलफल गर्नुभएको हो।”

थापाको पत्रबारे सम्बोधन नभएमा राप्रपाभित्र बस्न सक्ने अवस्था नरहेको पनि बर्तौलाले बताए। उनले चुनावमा बेग्लै दल बनाएर अघि जानसक्ने पनि संकेत गरे।

पूर्वअध्यक्ष कमल थापाको भेलामा सहभागी भएर निस्किएका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले भने थापाले पार्टी फुटाउन नचाहेको बताए।

“उहाँले पार्टी फुटाउने सोच्नुभएको जस्तो मलाई लागेको छैन। महाधिवेशनले उपाध्यक्ष निर्वाचित गरेकाले मेरो दायित्व पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो,” उनले सञ्चारकर्मीसँग भने, “त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ। हामी पार्टी एकताको पक्षमा छौँ। एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दछु।”

भेलाबाट निस्किएकी राप्रपा महामन्त्री कुन्ती शाहीले पनि थापाले पार्टी फुटाउन नचाहेको बताइन्। “विगतमा पार्टीभित्र दुःख गरेका नेता–कार्यकर्तालाई समेटेर अघि बढाइने छ। पार्टीलाई सशक्त बताउन देशव्यापी अभियान चलाइने छ,” उनले भनिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved