बेइजिङ डायरी

चराको गुँडमा ९७ मुलुक भेला हुँदा नेपाल खोइ?

ती ९७ मुलुकले आफ्नो राष्ट्रिय झन्डा फहराउँदै मार्चपास गर्दा उनीहरूका राष्ट्रिय धुनहरू बज्नेछन्। उक्त भव्य अन्तर्राष्ट्रिय समारोहमा नेपालको न राष्ट्रिय झन्डा देखिनेछ न राष्ट्रियगानको धुन नै बज्नेछ।

चराको गुँडमा ९७ मुलुक भेला हुँदा नेपाल खोइ?

चिनियाँ समय अनुसार माघ २१ गते शुक्रबार साँझ ८ बजेर ८ मिनेट जाँदा बेइजिङमा ९७ वटा मुलुकले राष्ट्रिय झन्डासहित मार्चपास गर्दैछन्। ती ९७ मुलुकले आफ्नो राष्ट्रिय झन्डा फहराउँदै मार्चपास गर्दा उनीहरूका राष्ट्रिय धुनहरू बज्नेछन्। उक्त भव्य अन्तर्राष्ट्रिय समारोहमा नेपालको न राष्ट्रिय झन्डा देखिनेछ न राष्ट्रियगानको धुन नै बज्नेछ।

यही फेब्रुअरी ४ तारिख शुक्रबार (माघ २१ गते शुक्रबार) चिनियाँ समय अनुसार साँझ ८ बजेर ८ मिनेट जाँदा बेइजिङ हिउँदे ओलम्पिक २०२२ को तामझामका साथ उद्घाटन हुँदैछ। बेइजिङ सहरको उत्तरपट्टि चौथो चक्रपथको ठिक बाहिर रहेको ‘चराको गुँड’मा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय समारोहमा कोभिडपछि भौतिक रूपमै विश्वमा आयोजना हुने सबैभन्दा ठूलो जमघट हो। गत वर्ष जापानमा भएको गृष्मकालीन ओलम्पिकभन्दा बेइजिङ हिउँदे ओलम्पिक भव्य र विशाल हुने विभिन्न सञ्चारमाध्यमले अनुमान गरेका छन्।

सन् २००८ मा चीनले आयोजना गरेको २९ औँ गृष्मकालीन ओलम्पिकका लागि निर्माण गरिएको विशाल रङ्गशालाको नाम नै ‘चराको गुँड’ हो। प्रसिद्ध इन्जिनियर ली सिङकाङले डिजाइन गरेर बनाएको उक्त रङ्गशालाको संरचना अनुसार अङ्ग्रेजीमा ‘वर्ड नेष्ट’ भनिएकाले नेपालीमा अनुवाद गर्दा ‘चराको गुँड’ हुन गएको हो। चराले सिङ्का उनेर बनाएको ढाँचामा फलामका पाता उनेर बनाइएको उक्त रङ्गशालाको आकाशतिर खुला छ भने वरिपरिबाट कचौराजस्तो गोलाकारमा उठाइएको छ। यो हेर्दा ठ्याक्कै चराले गुँड लगाएजस्तै देखिन्छ।

८० हजार व्यक्ति अट्ने उक्त रङ्गशालामा सन् २००८ को गृष्मकालीन ओलम्पिक उद्घाटन समारोहमा १५ हजार कलाकारले सांस्कृतिक प्रदर्शनी गरेका थिए। कोरोना महामारीका कारण यसपटक कलाकारको सङ्ख्यालाई घटाएर ३ हजारमा झारिएको छ। विश्वका विभिन्न ३८७ सशक्त प्रतिनिधि मण्डलहरू उक्त समारोहमा सहभागी हुँदैछन्।

सन् २००८ मा २९ औँ गृष्मकालीन ओलम्पिक खेलकुद समारोहको उद्घाटन अगस्ट ८ तारिख साँझ ८ बजेर ८ मिनेट ८ सेकण्ड जाँदा गरिएको थियो। सबैतिर ८ अङ्क हुनु संयोग नभएर सुनियोजित थियो। चीनमा ८ अङ्कलाई सबैभन्दा शुभ अङ्क र भाग्यशाली मानिन्छ। आठैआठ भएको गाडीको नम्बरप्लेट अनि आठै आठ भएको टेलिफोन नम्बर अझै पनि लाखौँ युआनमा किनबेच हुने गर्छ। अपार्टमेन्टको आठौँ तलाका फ्लाटको मूल्य बढी पर्छ भने कोठाको भाडा पनि तुलनात्मक रुपमा महँगो हुने गर्छ।

गृष्मकालीन ओलम्पिकमा आठौँ महिनाको ८ तारिख उद्घाटन भएजस्तो यसपटक हिउँदे ओलम्पिकमा महिना र तारिख ८ नभए पनि समय चाहिँ साँझ ८ बजे नै राखिएको छ।

बेइजिङ हिउँदे ओलम्पिक खेलकुद कमिटीले फेब्रुअरी १ तारिख मंगलबार गरेको पत्रकार सम्मेलनमा कमिटीका प्रवक्ता चाउ वेइतुङले दिएको जानकारी अनुसार चीनले सबै तयारी पूरा गरेको र पाहुनालाई स्वागत गर्न थालेको छ। बेइजिङ हिउँदे ओलम्पिक खेलकुदमा महिला खेलाडीको हिस्सा पुरुष बराबर रहेको छ।

यसपटक ९७ देशले प्रतिस्पर्धामा सहभागी जनाएका छन्। १०९ विधामा हुने प्रतिस्पर्धाका लागि बेइजिङ र हपेइ प्रान्तको चाङच्याखौमा १६ दिन खेलकुद आयोजना हुनेछ। सातवटा विधाहरू यसपटक थप गरिएका छन्। फेब्रुअरी २० तारिख हिउँदे ओलम्पिक २०२२ सम्पन्न हुनेछ। हालसम्ममा गृष्मकालीन ओलम्पिक र हिउँदे ओलम्पिक दुवै खेलकुद समारोह आयोजना गर्ने विश्वको एक मात्र सहर बेइजिङ रहेको छ।

औपचारिक रुपमा शुक्रबार उद्घाटन हुने भए पनि बुधबारदेखि नै ओलम्पिकका प्रतियोगिता र विभिन्न कार्यक्रमहरू सुरु भइसकेका छन्। बुधबार बिहान ९ बजे बेइजिङ हिउँदे ओलम्पिक २०२२ को राँको (पुल्ठो) रिले कार्यक्रम ‘बेइजिङ ओलम्पिक फरेस्ट पार्क’मा औपचारिक रूपमा शुरू भयो। राँको रिले कार्यक्रम ओलम्पिक फरेस्ट पार्क, बेइजिङ हिउँदे ओलम्पिक पार्क, शौकाङ पार्क समेत तीन वटा क्षेत्रमा आयोजना भएको हो। ओलम्पिक राँको प्रदर्शनी बुधबार बेलुका सात बजेसम्म चलेको छ।

ओलम्पिक राँको बोक्ने अग्रभागका तीन जना व्यक्तिहरूमा पूर्व विश्व स्केटिङ च्याम्पियन लो चह्वान, चिनियाँ अन्तरिक्ष क्षेत्रका ख्यातिप्राप्त व्यक्ति चिङ हाइफङ र चिनियाँ वैज्ञानिक ये फेच्येन थिए। राँको बोकेर अन्तिम रिले दौड गर्ने व्यक्ति चराको गुँड अर्थात् ओलम्पिक रङ्गशालाका डिजाइनर ली सिङकाङ थिए। यस पटकको ओलम्पिक राँको रिले कार्यक्रममा १३५ जना व्यक्तिहरू संलग्न भएका छन् र रिले दौडको दूरी १०.६ किलोमिटर रहेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ शुक्रबार आयोजना हुने बेइजिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिनेछन्। त्यसपछिका दुई दिनसम्म उनी उद्घाटन समारोहमा भाग लिन आएका विदेशी नेता,सरकारी पदाधिकारी र अन्तर्राष्ट्रिय संगठनका मुख्य व्यक्तिहरूका लागि आयोजना हुने स्वागत भोज तथा यस सम्बन्धी द्विपक्षीय कार्यक्रमहरूमा सहभागी हुनेछन्।

बेइजिङ हिउँदे ओलम्पिक २०२२ मा नेपाली सहभागी नहुँदा चीनसँग सम्बन्धमा थपिने योगदान घटेको छ। नेपाली प्रतिनिधि मण्डलले चीनसँग सद्भाव राखेर द्विपक्षीय कुरा गर्ने अवसर पनि गुमाएको छ भने चीनले आयोजना गरेको यति ठूलो उत्सव र चिनियाँ खुशीमा सहभागी जनाउने मौका पनि छुटाएको छ। त्यतिमात्र होइन यो समारोहमार्फत युवा आदानप्रदानमा पनि नेपालले चीनसँग सहकार्य गर्ने अवस्था थियो।

चीनले पछिल्लो समय हिउँ र वरफसँगको जीवनलाई सहज बनाउँदै ल्याएको छ। चीनको उत्तरी क्षेत्रमा बसोबास गर्ने १० करोडभन्दा बढी चिनियाँहरूले हिउँ र वरफलाई पर्यटनसँग जोडेर जीविकोपार्जन गर्न थालेका छन्। हिमालै हिमालले ढाकेको नेपालमा हिउँसँग सम्बन्धित थुप्रै साहसिक पर्यटकीय खेलहरू हुने गरेका छन्। ती क्षेत्रको विकासमा पनि नेपालले चीनसँग सहकार्य गर्न अनिवार्य छ।

नेपाल र चीनबीचको सम्बन्ध सुमधुर छ। चीनको भूभागले १४ वटा मुलुकलाई छुने गर्छ। चीनले छोएका मुलुकमा सबैभन्दा घनिष्ठ सम्बन्ध पाकिस्तानसँग रहेको छ। चीनले पाकिस्तानसँगको सम्बन्धलाई ‘फलामे मित्रता’ अर्थात् ‘आइरन फ्रेण्डशीप’ र सदाबहार मित्रता भन्ने गरेको छ। पाकिस्तानपछि चीनको सुमधुर सम्बन्ध नेपालसँग नै हो।

पाकिस्तान र नेपालसँग जस्तो सम्बन्ध चीनको उत्तर कोरियासँग पनि छैन। यसको कारण ‘राजनीति’ रहेको छ। किनभने अमेरिकाले उत्तर कोरियामाथि नाकाबन्दी लगाएको छ र त्यसमा अन्तर्राष्ट्रिय दबाब चीनमाथि पनि छ।

संयुक्त राष्ट्रसंघका मुद्दामा नेपालले सधैँ चीनलाई साथ दिँदै आएको छ। चीनले पनि नेपालले उठाएका मुद्दामा समर्थन जनाउँदै आएको छ। दुई देशबीचको सम्बन्धमा भृकुटी र अरनिको बनाएका गोरेँटोहरु यतिबेला फराकिला एक्सप्रेस मार्ग बनिसकेका छन्।

दुई देशबीचको सम्बन्ध कति महत्त्वपूर्ण छ भन्ने कुराको पुष्टि ल्हासामा भएको नेपाली महावाणिज्य दूतावासले पनि गर्छ। चीनको तिब्बतमा विदेशी नियोगका रुपमा नेपाली महावाणिज्य दूतावास मात्र रहेको छ।

नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ मित्रता, सुमधुर सम्बन्ध, सहयोग आदानप्रदान जे जसरी बखान गरे पनि चीनले आयोजना गर्दै गरेको हिउँदे ओलम्पिक २०२२ मा नेपाल अनुपस्थित भएर उल्लिखित विशेषणलाई फिका बनाइदियो।

हिउँदे ओलम्पिकमा नेपालले न कुनै खेलाडी पठाउन सक्यो न कुनै प्रतिनिधि मण्डल पठाएर सहभागी हुनै चाह्यो। बरु नेपालले हिउँदे ओलम्पिक २०२२ लाई कुम्भकर्ण निद्राको शैलीमा मज्जाले बेवास्ता गरिदियो।

ओलम्पिकमा मात्र होइन नेपालले एकपछि अर्को गर्दै चीनलाई बिच्काउने अथवा चिढ्याउने काम गरिरहेको छ। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्दा गरिएका सम्झौताहरूलाई कार्यान्वयनमा जति सक्रिय नेपाल हुनुपर्थ्यो त्यति भएन। कोभिड महामारी नियन्त्रण गर्नका लागि चीनले नेपाललाई विभिन्न तरिकाबाट सहयोग गरिरहेको छ। नेपालमा कोभिड नियन्त्रणमा चिनियाँ खोप कोशेढुङ्गाको रुपमा रहेको कुरा सबैले स्वीकार गरेकै छन्।

चिनियाँ सहयोग र सद्भाव हुँदा हुँदै अनावश्यक रुपमा चीनसँग सीमा विवाद छ भनेर प्रायोजित विषय घुसाएर नेपालले इतिहासकै सबैभन्दा कमजोर कूटनीति प्रदर्शन गर्‍यो। त्यसमाथि नेपालको आन्तरिक राजनीतिक कोपभाजनमा चीनका लागि दुईजना नेपाली राजदूतलाई कार्यकाल पूरा नगरीकन फिर्ता बोलाएर नेपालले अर्को ‘अपरिपक्व’ देखायो। राजदूत फिर्ता गर्ने काम जुन हतारमा गरियो त्यही रफ्तारमा नयाँ राजदूत नियुक्त गरिएन। चार महिना बित्न लाग्दा पनि राजदूत नियुक्तिमा नेपाल सरकारले चासो राखेको छैन।

नेपाल र चीनबीचको सम्बन्धमा यो सर्वाधिक महत्त्वको समय हो। चीनले हिउँदे ओलम्पिक खेलकुद आयोजना गर्दै छ। पाकिस्तानका प्रधानमन्त्री हिउँदे ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुँदैछन्। विभिन्न देशका नेता तथा उच्चपदस्थ व्यक्तिहरू बेइजिङ आइसकेका छन्। चीनलाई एक्लाउनका लागि अमेरिकाले कूटनीतिक रुपमा ओलम्पिक बहिस्कार गर्नका लागि लबिङ गरेको छ।

उसको लबिङमा अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, इस्टोनिया, बेलायत, कोसोभो र लिथुनियाले समर्थन गरेका छन्। बाँकी विश्व चीनको पक्षमा अडिगताका साथ उभिएको छ। अनि नेपाल? नेपाली नेताहरु त आन्तरिक रुपमा आआफ्ना गाँड कोराकोरमै व्यस्त छन्।

कोरोना महामारी नियन्त्रण गर्नका लागि खोप उत्पादन र वितरणमा चीनले विश्वमै अग्रस्थान लिएको छ। नेपालले अझै थुप्रै चिनियाँ खोप लिनुपर्नेछ। नेपालको पूर्वाधार विकासमा चिनियाँ सहयोग र लगानीको तुलना कसैसँग हुन सक्दैन। नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सेवा लगायतका क्षेत्रमा चीनको योगदान उच्च छ। भविष्य पनि यी क्षेत्रमा नेपालले चीनसँग अझै ठूलो मात्रामा सहकार्य गर्नसक्छ/गर्नुपर्छ।

बेइजिङ हिउँदे ओलम्पिक २०२२ को मुख्य नारा ‘भविष्य साझेदारीका लागि सँगसँगै’ भन्ने रहेको छ। अब नेपाल सहभागी नै नभएपछि अथवा नेपालले वास्तै नगरेपछि नेपालले चीनसँग कसरी गर्छ साझेदारी? अनि कहाँ छ सँगसँगैको यात्रा?


Comment

3 thoughts on “चराको गुँडमा ९७ मुलुक भेला हुँदा नेपाल खोइ?

  1. नेपालका नेता भनिने ब्यक्तिहरूमा सुझबुजको कमी छ। भरौटे प्रवित्तिले देश विकास कतिसम्म गर्ने !

  2. 🇳🇵 yo Harrow desko netabhanuta le garda hami nepali jahile ni pachhadi paradai xa sir dhukhako kura hamro chhimeki najik des vayarni pani hami kati

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved